|

काठमाडौं : राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच तालमेल हुने भएको छ। उम्मेदवारी मनोनयनअघि नै तालमेलको टुंगो लगाउने गरी तीनै दल शनिबारदेखि गृहकार्यमा जुटेका छन्।

माघ २४ गते हुने निर्वाचनका लागि बुधबार उम्मेदवार मनोनयको कार्यक्रम रहेकाले सोमबार उम्मेदवारी टुंगो लगाउने तयारी रहेको कांग्रेस नेताहरुले बताएका छन्। बालुवाटारमा शनिबार बसेको तीन दल बैठकमा कांग्रेस नेता डा. मिनेन्द्र रिजालले ५६ सिटा लागि हुने निर्वाचनमा वाम गठबन्धन ४२, कांग्रेस १० र फोरम-राजपाले ४ सिट जित्ने तथ्यांक प्रस्तुत गरेको थिए।

उनले चुनावी रणनीतिलाई बुद्धिमतापूर्ण रुपमा प्रयोग गरिए प्रदेश ३ मा कांग्रेसले विवेकशील र राप्रपासँग तालमेलबाट दुई सिट थप्न सक्ने र प्रदेश २ मा फोरम राजपालाई एक सिट बढी आउने तथ्यांक देखाएका थिए। फोरम राजपाका प्रतिनिधिले भने आफूहरुले स्वतः जित्ने चार सिटका लागि तालमेल आवश्यक नभएकाले पाँच सिटमा मात्र तालमेल गर्न सक्ने अडान राखेका थिए।

चुनावी सहकार्यका विषयमा भएको छलफलले सोमबारसम्म अन्तिम रुप पाउने कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले बताए। राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनलगायत विषयमा तीन दलबीच प्रारम्भिक कुराकानी भएको उनले जानकारी दिए। 

मिलेर चुनाव लड्दा प्रदेश नम्बर २ मा धेरै सिट हासिल गर्न सकिने निष्कर्षसहित आइतबार निर्णायक वार्ता गर्न लागिएको फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.