|

काठमाडौं : नेपालले अर्को वर्षभित्र आफ्नै भू-उपग्रह प्रक्षेपण गर्न तयारी थालेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जापानको एक कम्पनीसँग सम्झौता गरी आफ्नै भू–उपग्रह स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो।

भू-उपग्रहसम्बन्धी अध्ययन÷अनुसन्धान गर्न नास्टले माघ ३ गते जापानको क्युटेक क्युस इन्स्टिच्युट अफ टेक्नोलोजीसँग सम्झौता गरेको नास्टका उपकुलपति डा.जीवराज पोखरेलले जानकारी दिए।

नास्टले यो इन्स्टिच्युटमा भू–उपग्रहसम्बन्धी अध्ययन गर्न दुई वर्षका लागि दुई जना इन्जिनियरलाई जापान पठाउने भएको छ। नास्टले इलेक्ट्रोनिक इन्जिनियर हरेराम श्रेष्ठलाई जापान पठाउन छनोट गरिसकेको छ भने अर्का एक प्राविधिकको छनोट कार्य जारी राखेको छ।

नेपालमा भू–उपग्रहबारे जानकार जनशक्ति नभएका कारण अध्ययनका लागि प्राविधिकलाई जापान पठाउन लागिएको हो। दुई जनामध्ये एक जनालाई इन्स्टिच्युटले पूर्ण छात्रवृत्ति दिने भएको छ भने अर्का एक जनाको खर्च सरकारले नै व्यहोर्नु पर्नेछ।

नास्टले यसका लागि अर्थ मन्त्रालयसँग करिब १ करोड ८० लाख बजेट माग गरेको छ । तर, अर्थले भने बजेट उपलब्ध गराउने स्वीकृति जनाए पनि अझै उपलब्ध भने भइनसकेको उपकुलपति पोखरेलले जनाए।

उनले भने, ‘हामीले तीन महिनाअघि नै बजेट माग गरेका हौं, अर्थले दिन्छु पनि भनेको हो तर अझै हामीले बजेट पाएका छैनौं।’ विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव सुरेन्द्र सुवेदीले बजेटका लागि अर्थसँग छलफल भइरहेको बताए।

उनले भने, ‘भू–उपग्रहका लागि हार्डवेयरतर्फ सहयोग गर्छौं, अध्ययनका लागि करोडभन्दा बढी बजेट विनियोजन गर्न सहज हुँदैन कि भन्ने अर्थको मनसाय देखियो।’ नास्टकै पहलमा जाइकाजस्ता संस्थासँग छात्रवृत्तिका लागि पहल गर्न अर्थ मन्त्रालयले जोड दिएको छ। यसका लागि अर्थले स्वीकृति दिने जनाएको छ । नास्टले भने अर्थले बजेट विनियोजनमा ढिलाइ गर्दा प्राविधिकलाई अध्ययनका लागि जापान पठाउन ढिलाइ भइरहेको गुनासो गरेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.