काठमाडौं : संघीय संसद सदस्यको शपथ लिनका लागि सांसदहरु संघीय संसद भवनमा भेला हुने क्रम सुरु भएको छ।
शपथ ग्रहण गर्नका लागि ज्येष्ठ सदस्यका रुपमा प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाका तारादेवी भट्टले शपथ लिइसकेका छन्।
सरकारी कागजात किर्ते गरेको अभियोगमा नेपाल प्रहरीले अनुसन्धान गरिरहेका एमाले सांसद नवराज सिलवाल पनि संसद भवन पुगेका छन्। उनी एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै संसद भवन प्रवेश गरेका हुन्।
उनलाई नेपाल प्रहरीले फरार सूचीमा राखेको छ र इन्टरपोललाई डिफ्यूजन नोटिस पनि जारी गरेको थियो।
सिलवालले भने आफू फरार नरहेको बताउँदै आएका छन्। उनले आफू विरुद्ध राजनीतिक षडयन्त्र भएको बताएका छन्।
राष्ट्रिय जनता पार्टी नेपालका सांसद एवं टीकापुर घटनाका अभियुक्त रेशम चौधरी भने प्रहरी हिरासतमा छन्। यी दुई सांसदलाई शपथ ग्रहण नगराउन कुनै सूचना नआएकाले शपथ लिन कुनै रोक नभएको संसद सचिवालयले जानकारी गराएको छ। तर, चौधरी भने हिरासतमा भएकाले काठमाडौं आउन नसकेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।