|

विराटनगर : ४५ लाख नेपाली रुपैयाँ नगद र एउटा कारसहित सोमबार विराटनगरबाट एक भारतीय नागरिक मोरङ प्रहरीले पक्राउ गरेको छ। भारत अररिया फारविसगन्ज- १ का ४५ वर्षका नारायण साहले जोगबनी नाका हुँदै अवैध रुपैयाँ लुकाई छिपाई  विराटनगर रकम ल्याउने क्रममा पक्राउ परेका हुन्।

साहले चलाएको बीआर११एए ६२६५ नम्बरको सेतो रङको कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ। भारतबाट अवैध ढंगले रकम लुकाएर नेपाल छिरेको सूचनाका आधारमा प्रहरीले सोमबार बिहान विराटनगर- १५ बाट उनलाई पक्राउ गरेको हो। 

कारको सिटमुनि लुकाएको अवस्थामा रकम फेला परेको मोरङका प्रहरी प्रमुख पंहरी उपरीक्षक अरुणकुमार बीसीले पत्रकार सम्मेलन गरी जानकारी दिए। बरामद गरिएका नोटहरूमा एक हजार दरका तीन हजार ४०० थान, ५०० दरका दुई हजार १०० थान र १०० दरका ५०० थान नोट रहेको प्रहरीले जनाएको छ। 

विराटनगरमा हुण्डी कारोवार फस्टाइरहेका बेला यति ठूलो रकमसहित भारतीय नागरिक पक्राउ परेका हुन्। प्रहरीले हुण्डी कारोवार गर्नेहरूले नै यति ठूलो रकम नेपाल पठाएको हुन सक्ने आशंका गरेको छ। 

एसपी बीसीले आवश्यक अनुसन्धानपछि सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान या मुद्रा अपचलन विनियमअन्तर्गत मुद्दा चलाइने टुंगो लाग्ने बताए। यसअघि फागुन ११ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान महाशाखा (सिआइबी) ले दुई करोड ८६ लाख ५२५ रुपैयाँ नगदसहित विराटनगरका सीताराम लुइँटेललाई पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.