|

काठमाडौं : उपेन्द्र यादवनेतृत्वको संघीय समाजवादी फोरमले सरकारमा जाने औपचारिक निर्णय लिएसँगै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार दुईतिहाइको बन्ने भएको छ। 

फोरम कार्यसम्पादन समितिको मंगलबारको बैठकले वाम गठबन्धन र फोरमबीच हुने राजनीतिक सहमतिको मस्यौदालाई अनुमोदन गर्दै फोरमले औपचारिक रूपमा सरकारमा जाने निर्णय गरेपछि ओली सरकार दुईतिहाइ बहुमतयुक्त बनेको हो।

संसद््मा कुल २७५ सांसदमध्ये एमाले–माओवादी केन्द्रको १७४ अर्थात् ६३ दशमलव २३ प्रतिशत सांसद छन्। संघीय समाजवादी फोरमले पनि सरकारमा जाने निर्णय गरेपछि अब ओली नेतृत्वको सरकारसँग १९० सांसद पुग्नेछन्। जुन कुल सांसदको ६९ दशमलव ०९ प्रतिशत हुन आउँछ। संसदमा दुईतिहाइ बहुमत पुर्‍याउन १८३ सांसद आवश्यक पर्छ। प्रधानमन्त्री ओलीले संसद्को प्रमुख प्रतिपक्षी दल कांग्रेसबाहेक अन्य चार दललाई सरकारमा सहभागी गराई आफू नेतृत्वको सरकारलाई राष्ट्रिय सरकारको स्वरूप दिन खोजेका छन्।

संसदमाएमाले, माओवादी, कांग्रेस, फोरम र राजपा गरी ५ वटा दलले प्रतिनिधित्व गर्नेछन्। ओली नेतृत्वको सरकारमा माओवादी सहभागी भइसकेको भने फोरम पनि सहभागी हुने निर्णय गरिसकेको छ। अर्को दल राजपा पनि सरकारमा जान सकारात्मक देखिएको छ। राजपा पनि सरकारमा सहभागी भए संसदमा कांग्रेस मात्रै प्रतिपक्षमा हुनेछ। फोरमको सरकारमा सहभागी हुने निर्णयपछि ओली नेतृत्वको सरकार बीपी कोइराला नेतृत्वको सरकारपछिकै दुईतिहाइको सरकार बन्नेछ।

समझदारीअघि एमाले–माओवादी छलफल

फोरमले सरकारसँग गर्ने राजनीतिक सहमतिको मस्यौदाको अनुमोदन र सरकारमा सहभागी हुने पार्टीगत निर्णय गरे पनि वाम गठबन्धनसँग लिखित सहमति भने गरिसकेको छैन।

दुवै पक्षका नेताहरू बसेर लिखित सहमतिको मस्यौदा तयार पारे पनि त्यसलाई औपचारिकता दिन भने बाँकी छ। फोरमले मंगलबारै सरकारसँग लिखित सहमति गर्न खोजे पनि एमाले स्थायी समिति र माओवादी अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण सहमतिको मस्यौदामा हस्ताक्षर भने भएन।

बुधबार वाम गठबन्धनले पहिले आन्तरिक छलफल गरेपछि सहमतिका लागि आफूहरूलाई बोलाइने सन्देश आएको बताउँदै फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘त्यसपछि मात्र समझदारीपत्रमा हस्ताक्षर हुनेछ।’

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.