|

विराटनगर : कुनै सार्वजनिक कार्यक्रम जस्तै गरी जब धीरेन्द्र प्रेमर्षीले स्टेजबाट स्वयंवरको आह्वान गरे, वर-बधुले एकआपसमा औँठी साटासाट गरे। माला एकअर्कालाई लगाइदिए। स्वयंवर सकियो। पालो आयो बेहुलीका बुबाको। उनले वर र बधु अर्थात् छोरी-ज्वाइँलाई आफैँले लेखेको ‘विवाह सम्बन्धको आधुनिक रूप’ पुस्तक हस्तान्तरण गरे।

समारोहमा उपस्थित पाहुनाले वर–बधुलाई शुभकामना दिए। अतिथिले शुभकामना मन्तव्यका साथ आफ्ना विषय राखे। विवाह सम्पन्न भयो। 

परम्परागत विवाहमा जस्तो उक्त विवाहमा जन्ती पर्सिने, गोडा धुने, कन्यादान दिने, ब्राह्मण पढाउने खालका कुनै पनि काम गरिएन। त्यति मात्रै होइन, वरबधुलाई शुभकामना दिइरहँदा नगद वा जिन्सी उपहार नल्याउन आग्रह पनि गरिएको थियो। समारोहमा नगद दिन खोज्नेलाई यादवद्वारा लेखिएको सोही पुस्तक खरिद गर्न आग्रह गरियो र नगदलाई अस्वीकार गरियो। 

नयाँ शक्ति पार्टी नेपालका नेता रामरिझन यादवकी छोरी शिखाकिरण यादव र सुनसरी इनरुवाका धीरज भट्टराईबीचको विवाह समारोह दाइजोविरोधी मात्रै रहेन, नयाँ सामाजिक मूल्य स्थापित गर्ने प्रयास पनि भयो।

विराटनगरको वीरेन्द्रसभा गृहमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन पारेर आयोजित विवाह समारोह अलिक फरक र सन्देशमूलक रहेको संस्कृतिकर्मीले बताए। ‘यो न त परम्परागत भयो, न पूरै आधुनिक, यो विवाह समारोह एउटा सन्देशमूलक रह्यो’, कार्यक्रममा उपस्थित मिथिला संस्कृतिका जानकार धीरेन्द्र प्रेमर्षिले भने, ‘अहिलेको आधुनिकताको नाममा विकृतियुक्त दाइजोको कुरा र डाङडाङ डुङडुङलाई यो विवाहले निरुत्साहित गरेको छ।’ संस्कृतिको आडमा विकृति ल्याउन खोज्नेलाई नियन्त्रणमा लिने खालको विवाह भएको उनको भनाइ छ।

विवाह समारोहमा उपस्थित चिन्तक तथा विश्लेषक सिके लालले आधुनिकताको क्रममा समाजलाई सक्ने खालका विवाह भइरहेको सन्दर्भमा भएको शिखाकिरण र धीरजको जस्तो विवाहले त्यसलाई रोक्न सक्ने बताए। ‘सन्तानोत्पादनका लागि भाडाका कोख खोज्ने, टेष्टट्युब बेबी र विभिन्न विकृत चलन आएको छ’, उनले भने, ‘समाजले निरन्तरता पाउने र सभ्यता जोगाउने हो भने यस खालका विवाह आवश्यक छ।’

यसैगरी मधेस र पहाड वा त्यो जाति ऊ जाति भन्ने विषयमा भइरहेको विभेदपूर्ण विषयलाई यस्ता खालका अन्तरजातीय विवाह समारोहले निरुत्साहित गर्न सक्ने विश्लेषक लालको भनाइ छ। 

वामपन्थी परिवारमा हुर्केको कारण आफूलाई प्रगतिशील विवाह गर्ने सोच रहेको बताउँदै बेहुली शिखाकिरण यादवले यस खालको विवाहले दाइजोविरुद्ध सचेतना जगाउने बताइन्। ‘प्रेम विवाहले दाइजोलाई निरुत्साहित गर्छ भने यस खालको प्रगतिशील विवाहले झनै त्यसलाई इन्कार गर्छ’, उनले भनिन्। विवाहमा राजनीतिक पार्टीका केन्द्रीयस्तरका नेता, सांसद, बुद्धजीविलगायतको उपस्थिति थियो। 

‘विवाह सम्बन्धको आधुनिक रूप’ पुस्तक लोकार्पण

विवाह समारोहकै अवसरमा रामरिझन यादवले सम्पादन गरेको ‘विवाह सम्बन्धको आधुनिक रूप’ नामक पुस्तक लोकार्पण गरिएको छ। यादवकी ९० वर्षकी आमा जरियादेवी यादवले पुस्तकको लोकार्पण गरेकी हुन्। 

पुस्तकमा आधुनिक र प्रगतिशील विवाहका बारेमा उल्लेख गरिएको छ। ५०० पृष्ठको पुस्तकमा मिथिला संस्कृति तथा अन्य उत्कृष्ट विवाह संस्कृतिको विषय समेटिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.