|
फाइल फाेटाे

काठमाडौं : संयुक्त राष्ट्रसंघले बजेट कटौती गरेको भन्दै तीन महिना नबित्दै अफ्रिकी मुलुक कंगोबाट फर्काइएका एक सय ५० जना शान्ति सैनिकलाई नेपाली सेनाले शान्ति स्थापनार्थ दक्षिणी सुडान पठाउने भएको छ।

एक वर्षका लागि गत असार अन्तिम साता अफ्रिकी मुलुक कंगो गएकामध्ये एक सय ५० जनालाई तीन महिना नबित्दै राष्ट्रसंघले असोज २३ गते नेपाल फर्काएको थियो। सेनाले राष्ट्रसंघले बजेट कटौती गरेपछि फौज फिर्ता भएको दाबी गरे पनि फर्किएर आएकाले भने राष्ट्रसंघसँग उचित समन्वय अभावमा फिर्ता हुनुपरेको गुनासो गरेका थिए। त्यसबेला सेनाले फर्किएकाहरूलाई छिट्टै अर्को मिसनमा पठाउने आश्वासन दिएको थियो।

सोहीबमोजिम सैनिक नेतृत्वले कंगोबाट फर्किएकालाई पहिलो प्राथामिकता दिएर दक्षिणी सुडानमा पठाउन लागेको हो। सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले कंगोबाट फर्किएको फौजलाई दक्षिणी सुडान पठाउन लागिएको बताए। कंगोबाट फर्काइएका एक सय ५० जनालाई मुख्यालयले सकेसम्म छिटो सुडान, कार, लेबनान वा मालीलगायत मिसनमा पठाउने आश्वासन दिएको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.