|

काठमाडौं : माओवादी केन्द्रले प्रतिनिधिसभाको सभामुखका लागि वरिष्ठ नेता कृष्णबहादुर महरालाई अगाडि सार्ने तयारी गरेको छ। एमालेलाई राष्ट्रपति र माओवादीलाई सभामुख लिने–दिने गरी भागबण्डाअनुसार माओवादीले महरालाई अगाडि सार्न लागेको हो।

यद्यपि यसको औपचारिक निर्णय भने उसले गरिसकेको छैन। शुक्रबार बिहान शीर्ष नेताको बैठक बसी महराको नाम अनुमोदन गर्ने तयारीमा अध्यक्ष पुष्पकमल दाहाल देखिएका छन्। नेताहरूसँग अनौपचारिक छलफलक्रममा दाहालले महरालाई सभामुखको जिम्मेवारी दिने योजना सुनाइसकेको खुमलटार स्रोतले बतायो।

सभामुखमा तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाई जिम्मेवारी दिन एमालेले माओवादीसँग अन्तिमसम्म पनि छलफल गरेको थियो। बिहीबार साँझ पनि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष दाहालबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा नेम्वाङको व्यवस्थापनको विषयलाई लिएर छलफल भएको थियो। छलफलमा सभामुख माओवादीलाई नै दिन ओली तयार भएको बताइएको छ।

माओवादीभित्र सभामुखका लागि महराका अतिरिक्त नेताहरू देव गुरुङ, गिरिराजमणि पोखरेल, अग्निप्रसाद सापकोटा, हरिबोल गजुरेल, लेखराज भट्टदेखि पूर्वसभामुख ओनसरी घर्तीसम्म आकांक्षी छन्। तर, अध्यक्ष दाहालले वरिष्ठ नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालगायत नेतासँगको अनौैपचारिक छलफलपछि महरालाई अगाडि सार्न लागेका हुन्।

महरा माओवादीभित्र यस्ता नेता हुन्, जसले शान्ति प्रक्रियामा माओवादी आएयता सबैभन्दा बढी अवसर प्राप्त गरेका छन्। महरा २०६३ मा सञ्चारमन्त्री, २०६४ मा संविधानसभा सदस्य हुँदै २०६५ मा पुनः सञ्चारमन्त्री, २०६७ मा गृहमन्त्री भएका थिए। त्यस्तै, उनी २०७० मा दोस्रो संविधानसभा सदस्य हुँदै २०७३ मा उपप्रधानमन्त्री तथा अर्थमन्त्री र पछिल्लोपटक २०७४ मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थिए। उनले २०४८ सालमा पनि तत्कालीन संयुक्त जनमोर्चाबाट संसदमा प्रतिनिधित्व गरेका थिए।

शनिबार दिउँसो १ बजे संसदमा सभामुखका लागि निर्वाचन गर्ने संसद्को कार्यसूची छ। शुक्रबार १० बजेदेखि १ बजेसम्म सभामुखको उम्मेदवारी मनोनयनको कार्यसूची संसद् सचिवालयले बनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.