दुर्व्यसनीको अखडा बन्दै रित्ताघर

|

दमक (झापा) : २७ असार ०७४ मा आएको हावाहुरीले रूख ढल्दा झापाको दमकस्थिति बेल्डाँगी शरणार्थी शिविरका ७३ वर्षीय जयबहादुर राईको मृत्यु भयो। सोही रूखले किच्दा नरबहादुर क्षेत्रीको घर पनि कामै नदिने भयो। धन्न उनको ज्यान जोगियो। त्यसअघिसमेत ७ वर्षीया बालिकाको रूखले नै किचेर मृत्यु भएको थियो।

यस्तै, गत साउनमा आएको हावाहुरीले पनि शरणार्थीका ३० घर भत्कायो। केही दिन उनीहरू छिमेकीको शरणमा बस्न बाध्य भए। ‘त्यसै पनि शरणार्थी, झन घरनै भत्किपछि झनै शरणार्थी बन्नु पर्छ’, शिविरको सेक्टर सीका सेक्टर प्रमुख वृर्खबहादुर सुनुवारले भने, ‘यहाँका वर्षौँ पुराना रूखहरू कतिखेर ढलेर कसलाई किच्ने हो। सधैँ त्रास हुन्छ।’

यस वर्ष फेरि हावाहुरीको समय सुरु भएकाले सुकेका रूखको बेलैमा व्यवस्थापन गर्नुपर्ने उनको धारणा छ। ढलेर किच्ने मात्रै होइन, सुकेका रूखको अर्को त्रास आगलागीको बेला झनै बढी हुन्छ। चार वर्षअघि सेक्टर डीमा आगाली भयो। त्यसबेला पाँच छाप्रा जलेर नष्ट भए। छाप्रामा सल्किएको आगो नियन्त्रणमा आए पनि अग्ला रूखको टुप्पोमा सल्किएको आगोले अर्को त्रास फैल्यायो।

‘सुकेका बुढा रूख आगोले टिपिहाल्छ। त्यहिबेला हावा चल्यो भने बस्तीनै सक्ला भन्ने पीर’ शिविर बाहिरका स्थानीयबासी गणेश खम्बूले भने, ‘ती अग्ला रूखमा न दमकलको पानीले भेट्छ, न चढ्नै मिल्यो। बहुत डरमर्दो हुन्छ।’ यस्ता रूखहरू बेलैमा सुरक्षित ढंगबाट हटाउनुपर्ने उनको धारणा छ। 

दुर्व्यसनीको अखडा बन्दै रित्ताघर

भुटानी शरणार्थीहरू तेस्रो देश पुनर्वास भएपछि धेरै छाप्राहरू रित्ता भएका छन्। रित्तिएका छाप्रामध्ये केही भत्काइएको छ भने केही त्यसै छन्। नभत्काइएका छाप्राबाट भने अहिले अर्को त्रास विकसित भइरहेको छ। रित्ता झुप्राहरू लागुऔषध प्रयोगकर्ताहरूको सुरक्षित ‘सेल्टर’को रूपमा दुरुपयोग हुँदै गएको पाइएको छ।

रित्तो छाप्रोभित्र दर्जनौँ सिरिन्ज, सयौँ लागुऔषधका खोलहरू भेटिन्छन्। छाप्रोको सिलिङ्, बेरा उनीहरूले लागुऔषधको भण्डारणमा प्रयोग गर्ने गरेको क्याम्प सचिव टीकाराम रसाईलीले जानकारी दिए। लागुऔषधप्रयोगकर्ताले दुरुपयोग गरेको पाएपछि कितपय छाप्राहरू सचिव रसाइलीले तुरुन्दै भत्काउन स्थानीयलाई निर्देशनसमेत दिएका छन्। 
शरणार्थी युवाहरू भन्दाबढी स्थानीय बस्तीका युवाहरूले लागुऔषधको प्रयोगका लागि छाप्रालाई उपयोग गर्ने गरेको सचिव रसाईलीले बताए। ‘यहाँका केटाहरू त हामी चिनिहाल्छौँ नि, फेरि यहाँ नियम कडा छ कसैले यस्तो गर्ने हिम्मतै गर्दैन’ , उनले भने, ‘यस्तो खतरनाक कार्य रोक्न स्थानीय प्रशासन र नगरपालिकाले पनि सहयोग गर्नु पर्‍यो।’

बाहिरका युवाहरू बलजफ्ती शिविरमा प्रवेश गरेर लागुऔषधप्रयोग गर्ने क्रम बढ्दा अपराधको जोखिमसमेत बढाएको उनको धारणा छ। यसबारेमा स्थानीय सुरक्षा निकायलाईसमेत जानकारी गराएको उनले बताए। शरणार्थीहरू तेस्रो देश गइसकेपछि उपयोग नहुने धेरै जसो छाप्राहरू भत्काइने गरेको उनले जानकारी दिए। तर, कतिपय पुराना छाप्रामा रहेकाहरू रित्ता रहेका तर भौतिक रूपमा दर्बिला छाप्रामा सर्न चाहने गरेकाले भत्काई हाल्न पनि नसकिएको उनले बताए।

शिविरको सुरक्षाका लागि रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पका निरीक्षक जयन्त डडाल लागुऔषधको प्रयोग शिविरको चुनौती रहेको बताउँछन्। सशस्त्र प्रहरीको तोकिएके जिम्मेवारी भन्दा बाहेक भए पनि अवैध मदिरा र लागुऔषधको नियन्त्रणका लागि आफूहरू क्रियाशील रहेको र स्थानीयको पनि सहयोगको खाँचो रहेको उनले बताए।

‘शिविरका रित्ता छाप्रोमा हुने लागुऔषधको प्रयोग र बजारमा बिक्री हुने अवैध मदिरा यहाँका चुनौती हुन्’,उनले भने, ‘सुरक्षाका लागि के गर्नु पर्‍यो हामी गर्छौै तर नियन्त्रणका लागि आवश्यक काम गर्ने निकाय र सबै स्थानीय पनि यसका लाग्न खाँचो छ।’
स्थानीय सरकारको ध्यानकर्षण

भुटानी शरणार्थी शिविरमा बढेको लागुऔषध र मदिराको कारोबार नियन्त्रणका लागि स्थानीय सरकारले पनि ध्यानाकर्षण भएको जनाएको छ। दमक नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले दमकमा लागुऔषधको जोखिम न्युनिकरणका लागि विभिन्न क्षेत्रसँग समन्वयको प्रयास थालिएको जनाएकी छन्। तर, शरणार्थी शिविरमा पनि चुनौती बढ्दै गएको पाइएकाले सम्बद्ध निकायहरू विचमा समन्वय गरि यसको नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गरिने उनले बताएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.