भारतबाट यसरी पक्राउ परे नरेश

|

दमक (झापा) : राजेश मल्लिक दमकस्थित हिमालय माविमा कक्षा १२ मा अध्ययनरत थिए। मजदुर परिवारका उनको सगोलको परिवार थियो। काका नरेश, काकी, बुबाआमा एकै घरमा बस्थे। उनीचाहिँ दमक– ६ मा रहेको त्रिवेणी गेस्ट हाउसको व्यवस्थापकको रूपमा होटलमै बस्थे। घर नजिकै थियो।

आउजाउ भइरहेकै थियो। परिवारका कोहीप्रति कसैको अविश्वास थिएन। तर, गत कार्तिक २५ गते १९ वर्षीय राजेशको शव आफू व्यवस्थापक रहेकै होटलको १०४ नम्बरको कोठामा रक्ताम्य अवस्थामा फेला पर्‍यो।

हत्याको कारण

करिब पाँच महिनापछि प्रहरीले उनको हत्यामा संलग्नलाई पक्राउ गर्‍यो। हत्यालगत्तै काका भोला भनिने नरेश फरार थिए। त्यसैले उनकै संलग्नताको अनुमान प्रहरीलाई पनि थियो। 

‘घरमा भतिजाको हत्यालगत्तै काका फरार हुनु शंकास्पद थियो’, इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक गिरीले भने, ‘त्यसैले हामीले उसको खोजी गर्‍यौँ तर ऊ भारत भागिसकेको पत्तो लाग्यो।’ हत्यापछि उनी इटहरी, विराटनगर हुँदै जोगवनीबाट भारत प्रवेश गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

शुक्रबार बिहान हत्यामा संलग्न भनिएका नरेशलाई पक्राउ गरेपछि गिरीले भने, ‘हामीले लामो समयको मिहिनेतपछि संलग्नलाई पक्राउ गरेका छौँ तर कारण अझै प्रस्ट खुल्न बाँकी छ।’ प्रहरीसँगको बयानमा नरेशले आफ्नी श्रीमती र राजेशबीचको शंकास्पद सम्बन्धका कारणले आफूलाई आक्रोशित बनाएको बताएका छन्। ‘सम्बन्धमा शंका लागेको नरेशले बताएको छ’, गिरीले भने, ‘तर शंका केप्रति हो, अझै अनुसन्धानमै छ।’

यसरी पक्राउ परे नरेश

जोगवनी हुँदै भारत पसेका नरेश भारतको पश्चिम बंगालमा पर्ने मतिगडामा बस्दै आएको प्रहरीले सुराक पाएको थियो। तर भारतमै गए पनि उनी सीमावर्ती क्षेत्रसम्म आएर केही व्यक्तिलाई भेट्ने गरेको प्रहरीले पत्तो पाएको थियो।

त्यसैले सीमावर्ती शहर मेचीनगरको काँकडभिट्टामा प्रहरीले निगरानी गरेको थियो। दमक प्रमुख प्रहरी नायव नरीक्षक गिरीले भने, ‘यो केशलाई एआइजी साब (पशुपति उपाध्याय) देखि नै चासोपूर्वक लिइएको थियो। एसएसपी साब (पिताम्बर शर्मा, एसपी साब (विष्णुबहादुर केसी)ले पनि चासो लिएको घटना हो। त्यसैले हामी निरन्तर फलो अपमा रह्यौँ। उनी आएको थाहा पाएपछि क्षेत्रको अनुसन्धान टोलीसहित म आफैँ गएर काँकडभिट्टाबाट पक्राउ गरेर ल्याएका हौँ।’ 

यस घटनामा प्रदेश १ प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूहबाट प्रहरी निरीक्षक हेमराज ओली र प्रहरी नायव निरीक्षक लेखनाथ दाहाल पनि खटिएका थिए। दाहाल र गिरीसमेत मेचीनगर– ६ पुगेर शुक्रबार बिहान नरेशलाई पक्राउ गरेका हुन्। अनुसन्धानमा खटिएका दाहालले भने, ‘घटनामा नितान्त नरेश मात्र संलग्न देखिन्छ। उसले घरायसी चक्कु प्रहार गरेको पाइयो। कारण पारिवारिक देखिएको छ र खास खुल्न अझै अनुसन्धान हुनेछ।’ 

शुक्रबार हत्यामा संलग्न सार्वजनिक गर्ने थाहा पाएपछि उनी अध्ययनरत विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकलगायत नगरवासीको ठूलो भीड रहेको थियो।

ढिलाइको कारण

घटना भएको करिब पाँच महिना लाग्यो संलग्न पक्राउ पर्न। घटना भएकै दिन क्षेत्रीय प्रहरी कार्यालयको कुकुरसहितको टोलीले पनि अनुसन्धान गरेको थियो। मल्लिकको हत्यापछि दुई दिनसम्म दमकमा विद्यार्थीहरूले हत्याको विरोधमा प्रदर्शन गर्दै हत्यारालाई पक्राउ गर्न दबाब दिएका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेसमेत मृतकको घरमै पुगेर दोषीलाई कानुनी दायरामा ल्याउने आश्वासन दिएका थिए।

कार्तिकमा भएको घटनामा संलग्न चैतमा मात्र पक्राउ पर्नुको कारणबारे प्रहरी नायव उपरीक्षक गिरीले भने, ‘घटना त्यस दिन दिउँसै भएको रहेछ तर प्रहरीले पाँच घण्टापछि मात्र जानकारी पायो। खबर आउन नै भएको ढिलाइले संलग्न भाग्न सफल भएको देखियो।’

तर घटनापछि प्रहरीले प्रमुख महत्त्व दिएका कारण निरन्तर अनुगमन गर्दा दोषी उम्कन नपाएको उनको भनाइ छ। जिल्ला अदालत झापामा उपस्थित गराई कर्तव्य ज्यान मुद्दामा १० दिनका लागि म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.