|

काठमाडौं: नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैमा सांस्कृतिक एवं सांगठनिक कार्यक्रमअन्तर्गत वर्षको दुईपटक परम्परागत रूपमा मौलो पूजा कार्यक्रम हुने गर्छ, एकपटक बडादसैंको अष्टमीमा र अर्कोपटक चैते दसैंका दिन।

यस दिन निशान भगवती सलामी अर्पणका साथै कोत अर्थात् हतियारको पूजा मात्रै गरिँदैन, संकल्प गर्दै कुभिन्डो, राँगा र बोकाको बलि पूजासमेत गरिन्छ। साथै संगठन प्रमुखका तर्फबाट निशानमा पन्जाछापसमेत लगाइन्छ। यस दिन बलिपूजाअन्तर्गत संगठन प्रमुखका तर्फबाट पञ्चबलिका नाममा बोका र राँगा बलि दिने प्रचलन छ। साथै इच्छुक अधिकृतहरुका नाममा पनि बोकाको बलि दिने प्रचलन छ।

यो मौलो पूजा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले मुख्यालयनजिकै रहेको बगलामुखी विशेष कार्यदल गणमा गर्दै आएको छ। नेपाल प्रहरीले भने नक्सालस्थित प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ मा गर्दै आएको छ।सशस्त्र प्रहरी बलले चैते दसैंअन्तर्गत महानवमीको अवसरमा आइतबार गरेको मौलोपूजा भने विगतको जस्तो सुखद रहेन। अर्थात् संगठनको १७ वर्षे इतिहासमा कहिल्यै पनि नभएको दुःखद् घटना हुन पुग्यो।

हुन त सशस्त्र प्रहरीले साइत निकालेरै बिहान ६ बजेर ११ मिनेटमा पूजाको संकल्प गरेको थियो। साइत निकालेरै सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले विशेष कार्यक्रमबीच पूजाअर्चना गरेको निशान तथा मौलोपूजा कार्यक्रम विशेषगरी महानिरीक्षक श्रेष्ठका तर्फबाट सिंगो संगठन र अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीका लागि अत्यन्तै खल्लो बन्न पुगेको हो।

संगठनका तर्फबाट महानिरीक्षक श्रेष्ठले बोका र राँगा बलि दिएका थिए। तर, बोका र राँगा दुवै एकै पटकको मारमा छिनेनन्। सामान्यतः बलि दिएका जीवजन्तु एकै मारमा छिन्नुपर्ने भनिँदै आएको छ। एकपटकमा नछिने अनिष्ट हुनेसमेत भनिन्छ। तर, महानिरीक्षक श्रेष्ठले संगठनका तर्फबाट पञ्चबलिका नाममा चढाएको राँगा एक मारमा नछिनेपछि भागेको थियो। राँगा भागेपछि मार हान्न खटिएका हतियारधारी सुरक्षाकर्मीले लखेट्दै यत्रतत्र प्रहार गरेका थिए।

धन्य राँगालाई कार्यदल गणको मूल गेटबाट बाहिर भाग्न नपाउँदै नियन्त्रणमा लिइएको थियो। त्यसपछि महानिरीक्षक श्रेष्ठले अन्तिममा गरिने क्षमापूजाअन्तर्गत चढाएको बोकामा पनि यही नियति दोहोरिएको थियो। क्षमापूजाको नाममा अन्तिममा चढाइएको बोकालाई मार हान्न पनि दुई तीनपटक लागेको थियो।

मौलोपूजाअन्तर्गत सुरुमा गणका तर्फबाट बलि दिइएको थियो। त्यसपछि महानिरीक्षक श्रेष्ठको नामबाट बोका बलि दिइएको थियो। महानिरीक्षक श्रेष्ठका नाममा पहिलोपटक चढाइएको बोकामा भने यो स्थिति आएको थिएन।महानिरीक्षक श्रेष्ठको नाममा बोकाको बलि दिइएपछि एआईजीहरुको नाममा बोकाको बलि दिइएको थियो।

अन्य एआईजी, डीआईजी र एसएसपीका नाममा बलि दिइएका बोका एकै मारमा छिने पनि एआईजी केसीको नामको बोका भने एकै पटकमा छिनेन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.