|

चितवन : चितवनको रत्ननगर स्थित सौराहा आसपासको संरक्षित क्षेत्रमा स्वदेशी विदेशी पर्यटकको सहभागितामा स्थानीय संरक्षणकर्मीहरुले मंगलबार फोहर संकलन गरेका छन्। 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने संरक्षित ईलाका ढुंग्रेखोला आसपासमा  विभिन्न देशबाट आएका पर्यटकको सहभागितामा फोहर संकलन गरिएको हो। नेपालका विभिन्न जिल्ला तथा जर्मनी, इग्ल्याण्ड, फ्रान्स र अमेरिकाका नागरिकहरुको फोहोर संकलनमा सहभागि थिए। 

जर्मनीबाट आएकी आनाले प्रकृतिलाई सफा राख्न र पर्यावरण जोगाउन फोहर व्यवस्थापन जरुरी रहेको भन्दै यहाँ शुरु भएको फोहोर संकलन अभियानमा आफु पनि सहभागी भएको बताइन।

यहाँका स्थानियहरुले विगत एक सातादेखि फोहोर संकलन अभियान चलाई रहेका छन्। हालसम्म ४ ट्याक्टरभन्दा बढी फोहर संकलन गरेर व्यवस्थापन गरिसकेको अभियानमा सक्रिय रहेका होटल पार्कसाईडका सञ्चालक तथा संरक्षणकर्मी शीरलाल परियारले जानकारी दिए। 

राप्ती नदी तथा यसका सहायक नदीका मुहान क्षेत्रबाट बगेर आएका धेरै फोहरहरु निकुञ्जको संरक्षित्र क्षेत्रमा थुप्रिएकाले वन्यजन्तु र बासस्थानलाई समेत असर गर्ने हुँदा फोहर संकलनलाई तिब्रता दिएको परियारको भनाइ छ। अभियानमा काठमाडौ बुढानिलकण्डको भिक्टर मञ्जुश्री विद्यालयका शिक्षक, स्वयंसेवी र विद्यार्थीहरु गरी २० जनाको समेत सहभागिता थियो। 

सहभागी मध्येकी एक विद्यार्थी पुष्पा परियारले आफ्नो क्षेत्रमा पनि विद्यार्थी मिलेर फोहर संकलन अभियान चलाउने गरेको बताउँदै सौराहामा शैक्षिक भ्रमणमा आउँदा समेत फोहर टिप्ने अभियानमा सरिक हुन पाएकोमा खुसी व्यक्त गरिन। 

चोरीशिकार नियन्त्रण युवा जागरण अभियान रत्ननगरकी अध्यक्ष डोमा पौडेलले भनिन्, ‘प्लाष्टिक, सिसाका बोतल, बोरा, कपडाका टुक्रा अत्याधिक रुपमा पाइएको छ, यस्ता फोहरले पर्यावरण र वन्यजन्तुमा समेत असर गर्ने भएकाले फोहर संकलन अभियानलाई बृहत बनाउनुपर्ने हुन्छ।’

विश्वकै दुर्लभ एकसिंगे गैंडा तथा पाटेबाघको महत्वपूर्ण बासस्थान रहेको चितवन निकुञ्ज भएर बग्ने खोला नालाका किनारका अधिकाँश स्थानमा मानव निर्मित फोहर अत्याधिक भएपनि संकलन अभियानलाई तिब्रता दिन भने अझै सकिएको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.