२५ किमि यात्रा गर्न ४०० भाडा

|

जाजरकोट : बारेकोट गाउँपालिका-५ का रामबहादुर शाही जाजरकोट-डोल्पा सडक भएर डोल्पा जानुपर्ने भयो। त्यसअघि, सधैँ पैदलै डोल्पा पुगेका शाही यसपालि सडकमा गाडी गुडेपछि पहिलोपटक गाडी चढेर  डोल्पा जाँदै थिए। नलगाड  नगरपालिका-७ दल्लीबाट, बगरा हुँदै  पश्चिम रुकुमको पश्चिम आठबीसकोट नगरपालिकाको त्रिवेणी पुग्दासम्म-८ सय  भाडा तिर्नुपर्‍यो।

नलगाड-८ खगेनका घर भई त्रिवेणीमै व्यवसाय गरेर बसेका  कमलसिंह घर जाँदा-आउँदा सात/आठ सय  नतिरी सुख पाउँदैनन् । जाजरकोट र रुकुम पश्चिममा पर्ने उक्त सडकको दुई खण्डको लम्बाइ करिब ४५ किलोमिटर मात्रै छ। सोही खण्डमा यात्रा गर्ने शाही र सिंह महँगो भाडा तिर्ने प्रतिनिधि पात्र मात्रै हुन्। उक्त सडकमा यात्रा गर्ने कुनै पनि यात्रुले भाडा महँगो भयो भन्न पनि पाउँदैनन्। यातायात व्यवसायीको चर्को सिन्डिकेटको मारमा उक्त सडकमा यात्रा गर्नेहरू परेका छन्।

२५ किमि यात्रा गर्न ४०० भाडा

जाजरकोटको नलगाड नगरपालिका-८ दल्लीदेखि सोही नगरपालिकाको १२ नम्बर वडा तल्लुबगरसम्मको लम्बाइ २५ किलोमिटर छ उक्त खण्डमा यात्रा गर्ने यात्रुले प्रतिव्यक्ति चार सय भाडा तिर्नुपर्छ । दल्लीदेखि तल्लुबगरसम्म एउटा गाडी चढेर पुगेका यात्रुले रुकुम पश्चिम खण्डमा अर्को गाडी चढ्नुपर्ने बाध्यता छ।  आठजना अट्ने गाडीमा १६ भन्दा बढी राख्दा दैनिक जोखिम बढेको यात्रुले गुनासो छ। भेरी नदीमा पुल नबन्दा जाजरकोटका तल्लुबगरबाट रुकुम पश्चिमको गोतामकोट पुग्न झोलुंगे पुलको सहायता यात्रुले लिने गरेका छन्।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-६ को गोतामकोटदेखि सोही वडाको त्रिवेणी पुग्न प्रतियात्रु चार सय रुपैयाँ लिइन्छ। करिब २३ किलोमिटर लामो रहेको उक्त सडकमा गाडी चलाउनेहरूले चार सयभन्दा एक रुपैयाँ कममा यात्रु बोक्दैनन्।

व्यवसाय गरिरहेको ठाउँदेखि घर आऊजाऊ गरिरहनुपर्ने आफूजस्ता धेरै व्यवसायी तथा सर्वसाधारण महँगो भाडा तिर्न बाध्य भएको सिंहको भनाइ छ। अनुगमन र नियमन नहुँदा मनपरी भइरहेको सिंहले बताए।

के भन्छन् स्थानीय जनप्रतिनिधि?

नलगाड  नगरपालिका जाजरकोटका  प्रमुख टेकबहादुर रावलले नगरपालिकाले यातायातसम्बन्धी नियम बनाइसकिएको र सोहीअनुसार गर्न गराउन सबैलाई भनिएको बताए। ‘हामीले भनेअनुसार कार्यान्वयन भए नभएबारे अनुगमन गर्छौँ र नभए कारबाहीको दायरामा ल्याउँछौँ,’ उनले भने।

समितिले थोरै गाडी सञ्चालन हुने गरेकाले पनि यात्रुहरू महँगो भाडामा पर्ने गरेको उनको भनाइ छ। उक्त सडकमा कुनै पनि समितिले गाडी सञ्चालन गरेको छैन। जाजरकोटको भेरीगंगा यातायात व्यवसायी समितिमा गाडी दर्ता गर्ने भनेर उक्त सडकमा गाडी हालिए पनि बिनादर्ता चलिरहेको भेरीगंगा यातायात व्यवसायी समिति जाजरकोटका वरिष्ठ उपाध्यक्ष भीमबहादुर शाहले बताए।

समितिभन्दा व्यक्तिगत मनोमानी ढंगबाट व्यवसायीले यातायात चलाइरहेको शाहले बताए। ‘कुनै पनि समितिसँग छलफल नगरी, समितिमा दर्ता नगरी सहमति पनि नगरी चलाइएका गाडी दुर्घटना भए त्यसको जिम्मा कोही हुनेछैन भनेर मैले त्यो सडक खण्डमा चल्ने सबै गाडीका मालिकलाई भनिसकेको छु,’ उपाध्यक्ष शाहले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.