|

नयाँदिल्ली : तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री केपी ओलीले उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग डेढ घण्टा लामो कुराकानी गरेका छन् । शुक्रबार साँझ दिल्लीमा ओली र मोदीबीच साढे ६ बजेदेखि ८ बजेसम्म ‘वान टु वान’ वार्ता भएको हो।

पूर्वनिर्धारित कार्यक्रमभन्दा अगाडि नै ओली र मोदीबीच दिल्लीको लोक कल्याणकारी मार्गस्थित सरकारी निवासमा भेटवार्ता भएको हो। भेटवार्तामा नेपाल र भारतको सम्बन्धलाई थप समृद्ध बनाउने विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिए।

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटपछि पत्रकारसँग ओलीले भने, ‘नेपाल र भारतको सम्बन्धलाई थप समृद्ध बनाउने विषयमा विस्तृतमा छलफल भएको छ।’ भारतसँगको असमझदारी हटेको हो भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले असमझदारी यसअघि नै हटिसकेको बताए।

‘नेपाल–भारतबीच त्यस्तो असमझदारी केही पनि थिएन’, प्रधानमन्त्री ओलीले भने, ‘भएका असमझदारी यसअघि नै घटिसकेका छन्।’ ओली र मोदीको भेटवार्तामा जलविद्युतमा लगानी, रेलमार्ग निर्माणको विषयमा समेत कुराकानी भएको छ। दुई प्रधानमन्त्रीबीच भएको कुराकानीको विस्तृत विवरण भने आउन बाँकी छ।

ओली परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सल्लाहकार विष्णु रिमालसमेत नलिई मोदीलाई भेट गर्न रेसकोर्स गएका थिए।

भेट पूर्वनिर्धारित थिएन। प्रधानमन्त्री ओली दिल्लीमा पुगेपछि मात्र मोदीसँग ‘वान टु वान’ भेट तय भएको थियो। नेपाल र भारतका दुई प्रधानमन्त्रीबीच शनिबार औपचारिक भेटवार्ता गर्ने तय भएको छ। यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पनि मोदीले यसरी नै 'सरप्राइज' भेट गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.