कर्मचारीलाई स्वैच्छिक अवकाश दिँदैनौँ

|

विराटनगर : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सचिवहरुको सरुवामा कसैले चित्त दुखाउन नहुने बताएका छन्। विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै सामान्य प्रशासनमन्त्री पण्डितले सचिव सरुवामा पनि यो मेरो त्यो मेरो भन्न नहुने बताएका हुन्।

माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले आफूहरुको सहमतिविपरीत प्रधानमन्त्रीले एकलौटी ढंगले सचिव सरुवा गरेको भन्दै असन्तुष्टि जनाएको सार्वजनिक भएको थियो।

मन्त्रालयका सचिवको सरुवा प्रधानमन्त्रीसँग आवश्यक छलफल गरेर गरिएको हो,’ पण्डितले भने, ‘प्रधानमन्त्रीय सिस्टममा यो मेरो त्यो मेरो भनेर चित्त दुखाउनु हुँदैन।’ पण्डितले सरकारले गरेको निर्णय कसैले भन्दैमा पुनर्विचार नहुने बताए। ‘मन्त्रिपरिषद्ले निर्णय गरेर मन्त्रालयका सचिवहरु सम्बन्धित काममा गइसक्नुभएको छ,’ पण्डितले भने, ‘अब निर्णय पुनर्विचार हुँदैन।’

कर्मचारीलाई स्वैच्छिक अवकाश दिँदैनौँ

अर्को प्रसंगमा मन्त्री पण्डितले कर्मचारीले स्वैच्छिक अवकाश अधिकारको रुपमा मात्रै बुझेर नहुने बताए। खटाइएको ठाउँमा जानुपर्ने बताउँदै पण्डितले स्वैच्छिक अवकाश दिने नदिने विषयमा सरकारको निर्णय महत्वपूर्ण भएको बताए।

‘स्वैच्छिक अवकाशलाई अधिकारको रुपमा मात्रै बुझेर हुँदैन,’ पण्डितले भने, ‘सरकारले निर्णय गरेको खण्डमा स्वैच्छिक अवकाश दिइनेछ भन्ने कानुनमै उल्लेख छ, सरकारले अहिलेलाई स्वैच्छिक अवकाशका लागि परेको निवेदनलाई स्थगित गर्ने निर्णय गरेको छ।’

सरकारले अर्को निर्णय नगरेसम्मका लागि अवकाश नदिइने उनको भनाइ छ। यसैगरी, काममा नजाने कर्मचारीको विवरण मागिएको र अन्यत्र हाजिरी गर्न नदिइने गरी सम्बन्धित मन्त्रालय तथा कार्यालयमा परिपत्र गरिसकिएको पण्डितले जानकारी दिए।

‘हामीले यसअघि पनि सम्बन्धित मन्त्रालय र कार्यालयहरुमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई हाजिर गर्न नदिनु भन्ने परिपत्र गरिसकेका छौं,’ उनले भने, ‘हाजिर गराएको सूचना आएकोले फेरि हिजो मात्रै परिपत्र गरेका छौँ, अब पनि हाजिर गराएको थाहा पाए, सम्बन्धित कार्यालयका प्रमुखलाई नै कारबाही गर्छौं।’खटिएको ठाउँमा कर्मचारी पठाउने र जाने क्रम सकिएपछि कर्मचारी समायोजन प्रक्रिया सुरु हुने पण्डितको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.