कञ्चनपुर : भीमदत्त नगरपालिका–१९ बागफाँटामा बाघ भगाउन हात्तीसहित सुरक्षाकर्मी परिचालन गरिएको छ। शुक्लाफाँटा निकुञ्जबाट निरन्तर बाघ बस्ती छिर्न थालेपछि भगाउनका लागि हात्ती परिचालन गरिएको हो।
निकुञ्जले १५ जना नेपाली सेनाको टोलीसहित पाँचवटा हात्ती परिचालन गरेको छ। बाघ भगाउनका लागि नेपाली सेना, नेपाल प्रहरी र निकुञ्जका कर्मचारी हात्तीसहित खटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए।
तीन दिन अघि बस्तीमा आएको बाघले दुई जनालाई घाइते बनाएको थियो। बाघले गत सुक्रबार सैनिक जवान र स्थानीयलाई आक्रमण गरी घाइते बनाएका थिए।
बुधबार पनि बाघ बस्तीमा देखिएको जानकारी स्थानीयले निकुञ्ज प्रशासनलाई गराएपछि बाघ भगाउन टोली खटाइएको हो। स्थानीय लक्ष्मीदत्त भट्टले बस्तीमा बाघ छिरेपछि स्थानीय त्रसित भएको बताए। ‘आक्रमण गरेर गएको बाघ एकाध दिनमै फेरि बस्तीमा आयो,’ उनले भने, ‘यसले त्रास छाएको छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।