|

कञ्चनपुर :  कञ्चनपुरको जोनापुरकी ६० वर्षीया आशा रानी चौधरीलाई परम्परागत् आभूषण र पहिरन लगाएको सम्झना मात्रै छ। परम्परात भेषभूषा जोगाउन नसकेकोमा उनी चिन्तित् छिन्।

आधुनिकताको प्रवेशले थारू समुदायका आभूषण र पहिरन लोप हुने अवस्थामा पगेका छन्। आधुनिक युवाहरूले परम्परागत ढंगबाट तयार पारिएका अभूषण र पहिरन लगाउन छोडेर बजारमा सहजै किन्न पाइने पहिरन लगाउन थालेपछि थारू समुदायको पहिचान नै लोप हुने संघारमा पुगेको छ।

यस्ता पहिरनहरू लगाउने चलनमा कमी आउनुमा आधुनिकता जिम्मेवार देख्छन् थारू वुद्धिजिवि दानसिंह दहित। उनी भन्छन्, ‘कलात्मक ढंगले घरमै हातैले बुनेर तयार गरिने पहिरन बनाउन धेरै समय खर्चिनु पर्ने, बुट्टा तयार गर्न झन्झटिलो हुने र बढी खर्च लाग्ने भएकाले घरघरमा कपडा सिउने आधुनिक मेशिनको प्रवेशले परम्परागत थारू पहिचान गराउने पहिरन लोप हुने अवस्था आएको हो।’

थारू  पुरुषले प्रयोग गर्ने भेगवा, लगौंठी, सद्रि तथा महिलाहरूले प्रयोग गर्ने चोल्या, लेहंगा लगाउने महिला र पुरुषलाई सामाजिक रूपमा गरिने भेदभावका कारण पनि यस्ता पहिरनहरू लोप हुँदै गएको स्थानीय फूलराम डगौराले बताए। परम्परागत पहिरन लगाउदा सामाजिक रूपमा अपहेलित बनु परेको गुनासो गर्दै अगुवा धन बहादुर कुश्मीले भने, ‘समाजमा भएको परिवर्तनसँगै चल्नु पर्ने आजको आवश्यकता भएकाले संस्कृति बचाउने नाममा पुरानै कपडा लगाउनु उचित छैन। तर, परम्परागत पहिरनलाई आधुनिकताका रुपमा छाडनु भनेको संस्कृतिलाई तिलाञ्जली दिनु जस्तै भएकाले पुराना पहिरनलाई समेत बचाउन हामी जस्तै युवाहरूले लाग्नु पर्छ।’

युवा अवस्थामा माईती गाउँ रहँदा सखिया नाचमा लेहंगा, चोल्या, अंगियालगायतका पहिरन र सुतीया, तडिया, वाजु, टर्कि, चुरुवा, भिच्छा, कारा, गटैया, मघौरी, खिर्कि र नथिया लगाएर छमछमी नाचेको स्मरण गर्दै ७० वर्षीया रमोला देवी चौधरीले भनिन् ‘थारूहरूले परम्परा बचाउनुभन्दा आधुनिकतालाई प्रश्रय दिन थालेकाले पुराना सांस्कृतिक महत्त्व दर्शाउने पहिरन र आभूषण भुल्दै जान थालेका हुन्।’ पुराना पहिरन र आभुषणले संस्कृति झल्काउने र जातीय पहिचान गराउने भएकाले संस्कृतिको जर्गेना गर्न अगाडि बढनु पर्ने उनको ठम्याइ छ। तर, यसका लागि पछिल्लो पुस्ता तयार नभएको देख्दा र थारू समुदायका युवा पिढी संगठित नभएको देख्दा भने उनी चिन्तित् छिन्।

दुई दशकअघिको स्मरण गर्दै उनले भनिन्, ‘थारूका महत्त्वपूर्ण चाडपर्वमा पुरुषले भेगुवा, चौवन्दि, सद्रि लगाई कम्मरमा मादल भिरेर आफ्नै पाराले रमाइलो गर्दै चोल्या, लेहंगा र परम्परागत आभूषणले सजिएर युवतिहरूले खुट्टाको पंैतला मिलाउदै नाचेको हेर्न अर्कै आन्न्द आउथ्यो।’ उनले आजभोलि परम्परागत रूपमा मनाइने चाडपर्वमा यस्तो रौनकतामा कमी आएको बताइन्। 

परम्परागत रूपमा लगाइँदै आएका पहिरन र आभूषण  लगाउने चलनमा कमी आउने क्रम ०४६ सालको राजनीतिक परिवर्तनपछि भएकोमा थारू समाजसेवी पहरू दहित बताउँछन्। उनी भन्छन्, ‘बजारमा कम लागतमा तयार गरिएका तयारी पोशाक लगाउने चलनमा बढोत्तरी हुनु र बजारमा सहजै कम लागतका नक्कली गहना पाइनुले बढी परिश्रम गरी घरमै तयार गरिने कलात्मक कपडा र गहना लगाउने चलनमा कमी आएको हो।’

थारू संस्कृतिसँग महत्त्व राख्ने  पहिरन र आभूषणलाई बचाउन सके विदेशी पर्यटकलाई थारू गाँउ–गाँउसम्म डोर्‍याएर  होमस्टेको व्यवसाय  सञ्चालन गर्न सकिने स्थानीय थारू परदेशी डगौराको तर्क छ। उनले भने, ‘थारू समुदायको मौलिक संस्कृति आफैँमा उत्कृष्ट भएकाले सरकारी तवरबाट समेत यसलाई बचाउन सहयोग गर्न पर्छ। 

थारूहरूले पहिरन र आभूषण लगाउने क्रममा कमी अाएपछि कलात्मक कपडा बुन्ने, आभूषण तयार गर्ने व्यक्तिहरूको पेशा संकटमा परेकाले उनीहरू यस पेशाबाट पलायन भैसकेको थारू वयोवृद्धहरू बताउँछन्। 

हाल आएर थारू समुदायको पहिरन जोगाउनका लागि स्थानीय तहले पोशाक बनाउन थारू महिलाहरूलाई तालिम दिने कार्य गर्न थालेका छन्। योभन्दा अगाडि आफ्नो संस्कृति जोगाउन थारू युवाहरू पहल गरेपनि त्यो सफल हुन सकेको थिएन्। स्थानीय तहले तालिम दिने भने पनि परम्परागत कलात्मक कपडा बनाउने थारू महिलाहरूको संख्या भने थोरै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.