|

भरतपुर : चितवनमा कुनै कार्यक्रम आयोजना भए त्यसको प्रमुख अतिथिमा पहिलो नाम आउँछ– माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको। अहिले उनी जिल्लामा साझा र सजिलो नेताका रूपमा परिचित छन्। निम्त्याएपछि सजिलै स्वीकार गर्ने र राष्ट्रिय प्रभाव पनि दह्रो भएका नेताका रूपमा प्रचण्डलाई लिने गरिएको छ।

जिल्लामा हुने सानादेखि ठूला कार्यक्रममा दाहाल आउने गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रलाई लक्ष्य गरेर पनि उनले आगमन बढाएका हुन्। चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि जिल्लामा उनको दौडधुप निकै बढेको छ। विद्यालयको वार्षिकोत्सवदेखि संघसंस्थाका साधारणसभामा सम्बोधन र उद्घाटनमा दाहाल बढी व्यस्त हुने गरेका छन्। यसअघि जिल्लास्तरकै नेता सहभागी हुने कार्यक्रममा पनि दाहालको सहभागिता बढेको छ।

प्रचण्ड चितवन आउँदा विभिन्न पक्षसँग अन्तरक्रियासमेत गर्दै आएका छन्। कतिपय अवस्थामा उनी सातामा दुई पटकसम्म जिल्ला आउने गरेका छन्। ‘ राष्ट्रिय कार्यक्रममा आउँदा पनि अलि बढी चितवन आएको हो कि भनेर केन्द्रमा चर्चा हुन्छ’, दाहालले भने, ‘जिल्लामा आउनुको मेरो उद्देश्य विकास योजना बनाउनेसँग सम्बन्धित छ।’

वैशाखमा मात्रै एक सातामा दुई पटक आए। ६ महिनामा उनी २५ पटकभन्दा बढी आउजाउ गरे। ‘म रिल्याक्स गर्न चितवन आएको होइन। हरेक पटक कुनै न कुनै ठाउँ पुगेर विकासको सम्भाव्यताको अध्ययन गरेको छु’, दाहालले भने, ‘ मध्यभागमा रहेको चितवनलाई समातेर देशकै लागि विकासको मोडेल तयार गर्न मेरो ध्यान केन्द्रित छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.