|

तनहुँ : वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका व्यक्तिको हकदारले सरकारले उपलब्ध गराएको रकम लिन आएका छैनन्। मृतकका हकदार आफन्तलाई पटकपटक सम्पर्क गर्दा समेत उनीहरु रकम लिन नआएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ।

चालु आर्थिक वर्षमा आएको वैदेशिक रोजगारी दुर्घटना क्षतिपूर्ति बापतको रकम चार जना र गत आवको चार जनाको हकदारले लिन नआएको जिल्ला प्रशासन कार्यालय तनहुँकी लेखापाल राधिका गौतमले जानकारी दिइन्। उनका अनुसार गतवर्ष आएको क्षतिपूर्ति बापतको रकम एक जनाले मात्र यही महिनमा बुझेको उनले बताइन्। 

‘चालु आर्थिक वर्षमा १७ जनाको क्षतिपूर्ति बापतको रकम जिल्ला प्रशासन कार्यालयमा आएको छ,’ उनले भनिन्, ‘त्यसमध्ये १३ जनाले रकम लगेका छन्। बाँकीलाई फोन सम्पर्क गरेर बोलाएका छौँ तर पनि लिएका छैनन्।’

चालु आव २०७४÷७५मा एक करोड १९ लाख तीन हजार ३६७ रुपैयाँ वैदेशिक रोजगारीमा दुर्घटनामा ज्यान गुमाएकाको हकवालाका लागि रकम उपलब्ध गराएको जिल्ला प्रशासनकी लेखापाल गौतमले जानकारी दिइन्। उक्त रकममध्ये हालसम्म ६० लाख ५८ हजार ७१८ रुपैयाँ उपलब्ध गराइसकिएको कार्यालयले जनाएको छ।

गत आवमा एक करोड १९ लाख ४६ हजार १४६ रुपैयाँ उपलब्ध गराएको थियो। सो रकममध्ये एक करोड १२ लाख उपलब्ध गराएको थियो।

एउटैको ५६ लाख क्षतिपूर्ति 

क्षतिपूर्र्तिबापत आउने रकममा नौ हजारदेखि ५६ लाख रुपैयाँभन्दा बढी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

साविक भगवतीपुर–४ का केशरबहादुर थापाको नाममा ५६ लाख ७८ हजार ५६ रुपैयाँ क्षतिपूर्ति रकम आएको प्रशासन कार्यालय जनाएको छ। केही व्यक्तिहरुको भने नौ हजार ९८० रुपैयाँ मात्र पनि आएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.