|

काठमाडौं : 'दाजु-भाइ हुन् त सत्य-स्वरूप जस्तो' यसो भन्दै उनीहरूलाई धेरैले उदाहरणीय दाजु-भाइको रूपमा लिने गर्छन्।

प्रसिद्ध गायक भक्तराज आचर्यका छोरा सत्यराज आचार्य र स्वरूपराज आचार्य पनि संगीतिक क्षेत्रमै छन्। उनीहरूका गीत नसुन्ने कमै होलान्। ०४९ सालमा पप गायनबाट आफ्नो संगीतिक यात्रा सुरु गरेका यी दुई दाजुभाइलाई आधुनिक गायनका हस्ती मानिन्छ।

मज्जाको बाल्यकाल

सत्यराज र स्वरूपराजबीच उमेरमा दुई वर्षको मात्र अन्तर छ। सत्यभन्दा दुई वर्षले मात्र कान्छा छन् स्वरूप। छोटो उमेरान्तर भएकाले पनि उनीहरू दाजु-भाइभन्दा पनि साथी बढी भए। सत्य भन्छन्, 'हाम्रो उमेर अन्तर जम्मा दुई वर्षको भएकाले पनि हामी दाजु-भाइभन्दा पनि साथी बढी थियौँ।'

उनीहरूलाई एकअर्काको सम्पूर्ण कुरा थाहा हुन्थ्यो। स्वरूप भन्छन्, 'हामीबीच केही लुक्दैनथ्यो। हामी हरेक कुरा सेयर गर्थ्यौं।' स्वरूपको कुरा नसकिँदै सत्य थप्छन्, 'यतिसम्म कि ओई, मलाई त्यो केटी मनपर्‍यो, फकाइदे न। हाहाहा…।'

माहोल एकछिन हाँसोमय बन्यो।

लडाइँ-झगडा गर्न पनि उनीहरू अगाडि सरिहाल्थे। धेरैसँग झगडा गरेका छन् उनीहरूले तर आपसमा भने कहिल्यै जुधेनन्। सत्य भन्छन्, 'हामीले एकअर्काको लागि अरूलाई कुटेका छौँ तर आपसमा कहिल्यै फाइट गरिएन।' 

दुवै जना पढाइमा धेरै ट्यालेन्ट थिए। तर फटाइँ पनि उत्तिकै गर्थे। फलफूल चोरेर खाने, कुखुराको अण्डा चोर्ने, झगडा गर्ने उनीहरूको दैनिकी जस्तै थियो। त्यसको नेतृत्व गर्थे सत्य। सत्य भन्छन्, 'जे जति फटाइँ काम गरियो, त्यसको लिडर म हुन्थेँ।' 

बुबासँग डर

दुवै जना बुबासँग एकदमै डराउँथे। बुबा अलिक हक्की स्वभावका भएकाले पनि उनीहरू बुबासँग ठाडो शिर गरेर बोल्न सक्दैनथे। स्वरूप भन्छन्, 'बुबाको हक्की स्वभावका कारण पनि हामी बुबासँग डराउँथ्यौँ। हामी मात्र होइन, घरमा आउने इष्टमित्र पनि उहाँसँग डराउँथे।'

बुबा उनीहरूका शिक्षक पनि थिए। बुबाले उनीहरूलाई म्युजिक र अंग्रेजी पढाउँथे। उनले विद्यार्थीलाई मज्जाले पिट्थे पनि। सत्य सम्झिन्छन्, 'त्यो सब थाहा पाएर पनि होला, हामी बुबासँग त्यति नजिक हुन सकेनौँ।'

बुबाको क्यान्सरले होस खुलायो

सबैले रुचाइरहेका अनि एकदमै व्यस्त गायक भक्तराजलाई जिब्रोमा क्यान्सर भइदियो। एकदमै लक्ष्यविहीन तवरबाट बगिरहेको उनीहरूको जीवनशैलीमा केही फरक भइदियो।

अब उनीहरू थप जिम्मेवार बने। सम्झिन्छन्, 'हाम्रो बुबाको जिब्रोमा क्यान्सर भएपछि हामी जिम्मेवार बन्नुपर्‍यो। बुबाको सपना पूरा गर्ने लक्ष्य राखेर संगीतिक क्षेत्रमा लाग्यौँ।'

२५ वर्षको संगीतिक सहकार्य

सत्य-स्वरूपले २५ वर्षदेखि संगीतिक क्षेत्रमा सहकार्य गरिरहेका छन्। उनीहरूले पहिलो सांगीतिक एल्बम २०५९ सालमा बजारमा ल्याएका थिए। त्यसयता उनीहरू निरन्तर रूपमा संगीतिक यात्रामा छन्। उनीहरू एकअर्कालाई धेरै सहयोग गर्छन्, संगीतिक क्षेत्रमा होस् वा अन्य केहीमा। सत्य भन्छन्, 'त्यही भएर पनि होला २५ वर्षसम्म हाम्रो संगीतिक यात्रा कायम छ।'

दाजुभाइ कम, साथी ज्यादा छ उनीहरूको सम्बन्ध तर साथी जस्ता छौँ भनेर उनीहरूले एकअर्कालाई गर्ने सम्मान बिर्सेका छैनन्। स्वरूप भन्छन्, 'साथी जस्ता छौँ भन्दैमा मैले दाइलाई गर्ने सम्मानमा केही कमजोरी भएको छैन अनि दाइले गर्ने मायामा पनि।' तर उनीहरूबीच सानै उमेरदेखि 'तँ' सम्बोधन चल्दै आएको छ। अहिले पनि तँ सम्बोधन नै गर्छन्।

प्रतिस्पर्धी आफ्नै बुबा

करिअरको सुरुवातदेखि नै उनीहरूको तुलना बुबा भक्तराजसँग हुने गर्थ्यो। राम्रो गीत गाए वा तयार पारे 'भक्तराजको छोरा यत्तिको त हुनै पर्‍यो नि!' अनि नराम्रो भए पनि 'भक्तराजका छोराहरू भक्तराजजतिको चाहिँ नहुने भए।' यी र यस्तै।

सत्य-स्वरूप आफ्नो बुबाका गीतलाई आफ्नो प्रतिस्पर्धी गीत मान्छन्। आफूहरूको हरेक गीत भक्तराजको गीतसँग तुलना हुने भएपछि प्रतिस्पर्धी आफ्नै बुबाको गीतलाई मानेका थिए उनीहरूले। 

उनीहरूले कहिल्यै पनि समकालीन संगीतकर्मीको गीत सुन्न पाएनन्। स्वरूप भन्छन्, 'हामीले हाम्रा समकालीनको गीत कहिल्यै सुन्न पाएनौँ। कारण, हाम्रो तुलना नै हाम्रा बुबासँग हुने भएकाले प्राय: उहाँकै गीत सुन्ने गर्थ्यौं।'

'यदि बुबा सामान्य गायक भइदिएको भए हामीलाई त्यो प्रेसर हुन्न थियो होला', सत्य भन्छन्, 'बुबा आफैँमा सबैले मानेको गायक भएकाले पनि हामी हाम्रो बुबाको लेभल मेन्टेन गर्न सधैँ लागिरहेका छौँ।'

फिल्म निर्माण पनि

केही वर्ष पहिले सत्य-स्वरूप इन्टरटेनमेन्टको व्यानरमा फिल्म 'आचार्य' बनेको थियो। त्यस फिल्ममा सत्यराज आचार्य आफैँ मुख्य भूमिकामा प्रस्तुत थिए। तर फिल्म सफल हुन सकेन।

अघिल्लो वर्षको फागुनमा फेरि सत्य-स्वरूपले फिल्म 'साढे ७' निर्माण गरे। यस फिल्ममा पनि सत्यराज आफैँ मुख्य भूमिकामा प्रस्तुत थिए। तर यस फिल्मले पनि सफलता हसिल गर्न सकेन।

फिल्मको सफलतालाई व्यापारसँग मात्र तुलना गर्न नमिल्ने दाजु-भाइकै तर्क छ। सत्य भन्छन्, 'हाम्रो सफलता हामीले पाएको प्रशंसामा पनि छ। व्यवसाय त दोस्रो पाटो भयो।'

उनीहरू राम्रो कथा र स्कृप्ट पाए फिल्म निर्माणमा सधैँ तयार भएको बताउँछन्।

एउटै छानामुनिको बास

सत्य र स्वरूप दुवै विवाहित छन्। उनीहरू सँगै बस्छन्। सत्य भन्छन्, 'हामी एउटै आमाबुबाबाट जन्मिएका छोराहरू एकआपसमा किन छुट्टिएर बस्ने? म त भन्छु हरेक दाजु-भाइ सँगै बसून्।'

स्वरूप पनि आफूहरू एकआपसमा छुट्टिएर बस्नुपर्ने कारण केही नभएको बताउँछन्। भन्छन्, 'हामी एउटै छानामुनि बसेर एउटै भान्छा प्रयोग गरिरहेका छौँ। हामी छुट्टिनुपर्ने केही कारणै छैन।'  

छोराहरूमा पनि प्रेम उत्तिकै

स्वरूपराजका छोरा सत्यराजका छोराभन्दा जेठा छन्। उनीहरू पनि एकअर्कामा एकदमै नजिक छन्। स्वरूपका छोरा सरगम‍ले सत्यका छोरा संगीतलाई एकदमै माया गर्छन्। स्वरूप भन्छन्, 'उनीहरूबीचको निकटता हाम्रोभन्दा पनि गाढा छ।'

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.