स्थानीय प्रशासनले परमादेशको कार्यान्वयन नगराउँदा लाखौँ जनता प्रभावित

|

जनकपुरधाम : सर्वाेच्च आदलतले १३ वर्षअघि जारी गरेको परमादेशलाई धनुषाको एक उद्योगले अहिलेसम्म कार्यान्वयन गरेको छैन। बिषाक्त र फोहोर पानी नदीमा निकासी नगर्न अदालतले जारी गरेको परमादेश कार्यान्वयनमा नहुँदा नेपाल र भारतका सर्वसाधारण मारमा परेका छन्।  

धनुषाको महेन्द्रनगरस्थित एभरेष्ट पेपर मिल्सको चरम लापरवाहीका कारण औरही र बिग्ही नदी पूर्णरूपमा प्रदूषित भएको छ। पेपर मिलले सोडियमयुक्त बिषाक्त र फोहोर पानी नदीमा निकासी गर्दै आएका कारण धनुषा, महोेत्तरी र भारतीय सीमावर्ती क्षेत्रका सर्वसाधारणले तीन दशकदेखि कष्ट भोग्दै आएका छन्।

नदीको पानीमा पेपर मिलको विषादी युक्त रसायन मिसिएको विषादीयुक्त पानीले गाई तथा वस्तुभाउसँगै मानिसलाईसमेत असर गर्ने गरेको बगरा महोत्तरी जिल्लाका स्थानीयवासी रामस्नेही यादवको भनाई छ। पहिले–पहिले विग्ही नदीको पानीले यस क्षेत्रका स्थानीयले लुगाा धनुेदेखि नुहाउनेसम्मको काम गर्दै आएकोमा अहिले पानीमा विषादीयुक्त पदार्थ मिसिदा पानी नै विष भएकोले प्रयोग गर्न छाडेको धनुषाका तुल्सियाही बस्ने विन्देश्वर राउतको गुनासो छ। 

नदीमा बिषाक्त पानी नमिसाउन र मिसाउनै पर्दा उपयुक्त प्रबिधि जडान गरी स्वच्छ पारेर मात्रै मिसाउन सर्वोच्चले २०६१ साउन १२ गते परमादेश जारी गरे पनि जिल्ला प्रशासन कार्यालयले कार्यान्वयन गराउन सकेको छैन। 

धनुषाका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले प्राकृतिक पानीको वहावमा कुनै पनि जैविक पदार्थ वा वस्तुभाउलाई असर हुने गरी उद्योगहरूले सञ्चालन गर्न नपाउने बताए। साथै उनले उद्योगबाट उत्पादित फोहोरले प्रदूषित गर्ने कुनै पनि केमिकल मिसाउन नपाइने स्पष्ट पारे। उनले भने, ‘हाल एभरेष्ट पेपर मिलको विरुद्धमा भएको सर्वोच्चको परमादेलाई लागू गराउन आफूहरू पहल गरिरहेको र सर्वोच्चले गरेको परमादेशलाई कार्यान्वयनमा लान हामी कदम चाल्छौँ।’ 

यता यस विषयका बारेमा बुझ्दा महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ अनभिज्ञता प्रकट गर्दै भने, ‘भर्खर तपाईंबाट थाहा पाएँ। म यसको बारेमा बुझ्छु, सर्वोच्च जस्तो गरिमामय निकायको आदेशलाई किन अटेर गरिदैछ।’ प्रजिअ श्रेष्ठले यहाँको नागरिकबाट गुनासो आउने वित्तिकै प्रशासनिक क्षेत्रबाट हुने कार्यलाई आफूले तुरुन्तै कार्यान्वयन गर्ने बताए ।  

युएनडिपीको एक अध्ययनले पनि यस उद्योगलाई उच्चदरको प्रदूषण गर्ने सूचीमा राखेको छ। पेपर मिलबाट निस्किने ग्याँस र खरानी यस क्षेत्रको वातावरण दूषित गर्नुका साथै सर्वसाधारणको स्वास्थ्यमा नराम्रो असर गरिरहेको छ। धनुषा, महेन्द्रनगरका स्थानीयवासी विष्णु फुँयालले एभरेष्ट पेपर मिलबाट निस्केको खरानीले आँखालाई असरले गर्ने गरेको बताउँदै यस क्षेत्रमा उम्रेको घाँससमेत गाईवस्तुलले खान छोडेको बताए। उनले भने, ‘चैत वैशाखको बेला झनै अप्ठयारो हुन्छ, हावा हुरी चलेको बेलामा खरानी उडेर घरमा राखेको पानीलाईसमेत घुलाम्य बनाउँछ।’ 

उद्योगबाट निस्किएको प्रदूषित पानी

स्थानीयले औरही तथा विग्ही नदीको पानी सिँचाइका साथै लुगा धुने, नुहाउने र गाईवस्तुलाई खुवाउन प्रयोग गर्दछन्। प्रशोधनबिना नै नदीमा मिसाउदै आएको बिषाक्त पानीले कृषि उत्पादनमा ह्रास आउनुका साथै विभिन्न रोग, गाईवस्तु मर्ने र माछालगायतका जलचरहरूसमेत लोप हुँदै गएका छन्। 

यसरी एभरेष्ट मिल्सको लापरवाहीले धार्मिक आस्थाको विग्ही नदीको पानी फोहर हुनुको साथै दूगन्धीतसमेत बनेको छ। सर्वोच्च अदालतले १३ वर्षअघि दिएको परमादेश कार्यान्वयन गराउन स्थानीय प्रशासनले पहल नगरेपछि धनुषा, महोत्तरीसहित भारतीय सीमावर्ती क्षेत्रका लाखौँ जनता प्रत्यक्षरूपमा प्रभावित हुँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.