|

जनकपुरधाम : जनकपुरधाम एक नेताको घर अगाडि बम विस्फोट गराएको आरोपमा पक्राउ परेका एक जना अदालतले धरौटीमा रिहा गरेलगत्तै पुन: पक्राउ परेका छन्। २०७४ मंसिर ९ गते राति राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष राजेन्द्र महतोको डेरा नजिकै बम विस्फोट गराएको आरोपमा पक्राउ परेका एक जनालाई अदालतले धरौटीमा रिहा गरेलगत्तै प्रहरीले पुनः पक्राउ गरेको हो।

जनकपुरस्थित ऐतिहासिक बाह्रविघा रंगभूमि मैदानमा वम विस्फोट गराएको आरोपमा धनुषा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको आरोपित पवन महतोलाई जिल्ला अदालत धनुषाले १० हजार धरौटीमा रिहा गरेको थियो। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बिथोल्ने अभिप्रायले गराएको बम विस्फोटमा प्रत्यक्ष संग्लन रहेको आरोपमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो।

जनकपुर उप–महानगरपालिका–८ संकटमोचन मन्दिरको छेउमा राजपा अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोको डेराभन्दा झण्डै सय मिटरमा बम विस्फोट भएको थियो। सोही घटनामा संलग्न रहेको आरोपमा जनकपुर उप–महानगरपालिका–२४ बस्ने रहमद राईनलाई यस अघि नै धरौटीमा अदालतले रिहा गरेको थियो।    

बम विस्फोट घटनाका प्रमुख योजनाकार रहेका महतो तत्कालीन धनुषा जिल्लाको नेत्रविक्रम चन्द्र नेतृत्वको विप्लव समूहका सेक्रेटरी रहेका थिए भने हाल उनी महोत्तरी जिल्ला इन्चार्ज रहेका छन्। महतोलाई जिल्ला अदालत धनुषाले धरौटीमा रिहा गरे पनि थप संगठित अपराधको मुद्दाको अनुसन्धानका लागि पक्राउ गरी सर्लाही पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.