|

कञ्चनपुर : युवा अवस्थामै कमाउनका लागि भारत पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-९ सिसैयाका ५५ वर्षीय गणेश ऐरले आधा जीवन जेलमा बस्नु पर्ला भनेर सपनामा समेत चिताएका थिएनन्। तर, उनले भारतीय जेलमा २४ वर्ष बिताए।

कमाउनका लागि भारत जाँदा उनको साथमा चार हजार रुपैयाँ मूल्य बराबरको एउटा क्यामेरा, क्यामेरामा लाग्ने दुई वटा रिल, एउटा टेपरेकर्डर र आवश्यक कपडा थियो। आखिर त्यही वस्तु उनले जेलसम्म पुर्‍यायो। भारतको पञ्जाब प्रान्तको जालन्धर नाकामा प्रहरीले चेकजाँच गर्दा झोलामा रहेका ती समान फेला पारेपछि उनलाई तस्करीको आरोपमा जेल सजाय दिइयो। 

जालन्धरको कपुरथला सेन्टर जेलमा उनले पूरै युवा उमेर बिताए। जेलबाट कानुनी प्रक्रिया गर्ने वकिलको व्यवस्था गर्न नसक्दा र आफन्तले उनीबारे कुनै खबर नपाउँदा लामो समय जेलमा बस्नु परेको ऐरले बताए।

जेलमा रहँदा दुई छाक खानाबाहेक अन्य कुन सुविधा नपाएको उनले बताए। ‘जेलमा कैदीका लागि खाना पकाउने र कपडा सफा गर्ने काममा लगाउँथे,’ उनले भने, ‘अन्य कैदीलाई भत्ता दिइए पनि मलाई दिएनन्।’ 

लामो समय जेलमा कैदीको रुपमा राखिएका उनलाई छ महिनाअघि रिहाई गरिएको हो। रिहाई भएपछि उनले काठ बोक्ने ट्रयाक्टरमा काम गर्न थाले। सोही क्रममा उनको नेपालीसँग भेट भयो। ‘मैले तपाईहरु नेपाली हो भने सोधें,’ उनले भने, ‘उनीहरुले नेपाली भएको बताएपछि आफ्नो सबै कथा व्यथा सुनाएँ।’

ती नेपालीले गणेशको फोटो र उनको अवस्थाबारे फेसबुकमा राखेछन्। यो खबर उनका छोराहरूले जानकारी पाएपछि बुवालाई खोज्दै भारत गएर बुवालाई घरमा ल्याए। उनी गत सोमबार मात्रै घरमा आइपुगेका हुन्।

जेठो छोरा आठ वर्ष र कान्छो छोरा डेढ वर्षको हुँदा गणेश भारत गएका रहेछन्। गणेशका श्रीमतीका अनुसार उनी चार दिनका लागि भारतमा गएका थिए। ‘यहाँबाट भारत जाने क्रममै भारतीय प्रहरीले तस्करीको आरोप लगाएर जेल हालेछ,’ उनले भनिन्, ‘पुरै जीवन जेलमा काटे पनि मर्ने बेला भेट्न पाउँदा निकै खुसी छौं।’

गणेश हराएपछि भारतका धेरै ठाउँमा खोजतलास पनि गरियो। तर, नभेटेपछि काँसकुसको मूर्ति बनाएर किरिया गर्ने भनेर आफन्तमा कुरा चल्दै गर्दा भेटिएको उनका भतिजा रमेशबहादुर ऐरले बताए। उनले भने, ‘भेटिएपछि खुसीको सीमा नै रहेन।’

वर्षौंसम्म हराएका गणेश भेटिएपछि गाउँमा खुसियाली छाएको छ। उनलाई भेट्न गाउँका सबै जना घरमै जम्मा हुन थालेका छन्। उनी भेटघाटका लागि आउने आफन्तलाई बिना हिचकिचाहट सुनाउने गर्दछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.