कौडीको भाउमा गुठीको जग्गा लिएर पोखरीको डिल अतिक्रमण

|

जनकपुरधाम : प्रदेश २ को राजधानीको केन्द्रमा रहेको जनकपुरधामस्थित एक सार्वजनिक गुठीको जग्गा कौडीको भाउँमा ठेक्कामा लिएर जग्गा अतिक्रमण गरेका छन्। जनकपुर उपमहानगरपालिका- ८ स्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को ठीक सामुन्ने जानकी मन्दिरको नाममा गुठी तैनाथी जग्गाअन्तर्गत रहेको सात कठ्ठा जग्गामध्ये पाँच कठ्ठा पाँच धुर जग्गा सस्तो दरमा भाडामा लिएर योग शिविर सञ्चालन गरिरहेका छन्।

जनकपुरको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको कपाल मोचनीसर पोखरीको डिल अतिक्रमण गरी बनाइएको योगशिविरबाट प्रतिकठ्ठा एक हजार ५०० रुपैयाँका दरले १ वर्षको जम्मा ७ हजार ८७५ तिर्दै आएका छन्। पोखरीको जग्गा अतिक्रमण गरी घर बनाएको भन्दै बृहत्तर जनकपर क्षेत्र विकास परिषद्ले झण्डै तीन वर्षअघि पोखरी किनारमा बनाइएका घर भत्काएर सो ठाउँलाई खाली गराए पनि हाल आएर सोही जग्गामा राजर्षिजनक पतञ्जली योगपिठ शिविरको नाममा जग्गा अतिक्रमण गरी योग बनाइएको छ।

जानकी मन्दिरअन्‍तर्गत रहेको कपालमोचनी सर पोखरीको डिल छेउको जग्गा मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले स्थानीय १५ जनालाई मनखप भन्दै ४/५ वर्ष पूर्वमहन्थबाट दुईदेखि अढाई लाख धुरको जग्गा किनेर घर बनाई बस्दै आएका घरपरिवारलाई तीन वर्ष पूर्वअतिक्रमणकारी भन्दै सो क्षेत्रबाट धपाइएको थियो तर अहिले आएर सोही जग्गा योग शिविरको नाममा कब्जा गरिएको छ।  

जानकी मन्दिर गुठी जनपा ८ सिट नं. १३५५/७ कि.नं. ५८ को क्षेत्रफल ०–७–० जग्गाबाट पोखरीको डिल १५ फिट छोडी बाँकी रहेको जग्गा पाँच वर्षको लागि बहालमा लगाउन सूचना प्रकाशन गरिए पनि हाल पोखरीको डिल नै अतिक्रमण हुने गरी योग शिविर निर्माण गरिएको हो। तत्कालीन बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्माले जनकपुरका अतिक्रमित पोखरीहरूलाई खाली गराउने अभियानअन्तर्गत बृहत्तरको अगाडि नै रहेको सो जग्गामा बनेका घरलाई रातारात भत्काएका थिए। तर हाल आए सोही जग्गामा पतञ्जली योगपिठको नाममा कब्जा गरिए पनि बृहत्तर मुखदर्शक बनेको जानकी यूवा क्लवका सल्लाहकार सुशिल सिंहको आरोप छ। 

बृहत्तरको अभियानअन्तर्गत सो जग्गामा बसोबास गर्दै आएका झण्डै ३० घरपरिवारको घर भत्काइ खाली गराएपछि राजर्षिजनक योग साधना केन्द्रले जग्गामा डोजर लगाइ सामसुम पार्ने र शिविर खोल्ने तयारी गरेपछि आफ्नो जग्गा पुनः पाउनुपर्ने मागसहित केही व्यक्तिहरू धर्नामा बसे पनि उनीहरूको मागको कुनै

सुनुवाइ नभएको स्थानीय मोतिलाल साहले बताए। उनले भने, ‘गरिबको लागि कानुन बनाउने, अतिक्रमणकारी भन्दै रातारात घर तोड्ने र पहुँच भएकाहरूलाई शिविर बनाउन, मन्दिर बनाउन गुठीकै जग्गा दिने काम यहाँ हुन्छ, सानोको लागि ऐन ठूलोको लागि चैन भएजस्तै भयो यहाँ।’

जग्गाको सम्झौता प्रथम पक्षबाट गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन कार्यालय प्रमुख नवराज पौडेल तथा दोश्रो पक्ष भनिएका राजर्षि पतञ्जलि योग साधना केन्द्रका अध्यक्ष वीरेन्द्र कुमार यादवले गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.