|

कञ्चनपुर : भीमदत्त नगरपालिकामा तीन वर्षभित्र नगर बस सञ्चालनमा ल्याउने लक्ष्यसहित बाह्य चक्रपथ निर्माण सुरु गरिएको छ। रौटेला ब्रह्मदेव जैविक धार्मिक पर्यटकीय मार्गको बाराकुण्डाबाट भीनपा–१९ बागफाँटालाई जोड्न सडक निर्माण सुरु गरिएको हो।

बाराकुण्डास्थित सामुदायिक वनबाट सुरु गरिएको सडकको महाकाली सिँचाइ आयोजनाको नहरसम्म ट्रयाक खोलिएको छ। भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नगर क्षेत्रमा तीन वर्षभित्र नगर वस सञ्चालन गर्ने लक्ष्य लिएर नगर क्षेत्रमा बाह्य चक्रपथ निर्माण सुरु गरिएको बताए। 

‘जैविक मार्गको बाराकुण्डासित बागफाँटा जोड्न सडक निर्माण सुरु गरिएको छ, ब्रह्मदेबाट झोलुंगे पुल जोडिनेछ, त्यसपछि झोलुंगेबाट बागफाँटासम्म सडक बनाएर बाहिरी चक्रपथ पूरा हुनेछ’, नगर प्रमुख विष्टले भने, ‘बाहिरी चक्रपथको काम नहरसम्म पुगेको छ, त्यसलाई बागफाँटासम्म पुगाउँछौँ।’

नगरपालिकाले बाहिरी र भित्री चक्रपथ निर्माण गरी तीन वर्षभित्र सार्वजनिक निजी साझेदारीमा नगर यातायात सेवा सञ्चालन गर्ने योजना अघि सारेको छ। बाह्य चक्रपथले वन क्षेत्र अतिक्रमणसमेत रोकिने नगर प्रमुख विष्टले बताए।

चक्रपथ निर्माणका लागि उत्तरी क्षेत्रमा जैविक धार्मिक पर्यटकीय र दक्षिणी क्षेत्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारमा पर्यटन मार्ग निर्माण अघि बढाएका छन्। दुबै मार्गलाई एक आपसमा जोडेर बाह्य र भित्री चक्रपथ बनाउन लागिएको हो।

रौटेलादेखि ब्रह्मदेबसम्मको साढे १२ किलोमिटर जैविक मार्गको ब्रह्मदेबसम्म ट्रयाक खोलर मटेनासम्म ग्राभेलिङ गरिएको छ। रौटेलादेखि ब्रह्मदेबसम्म धार्मिक पर्यटकीय स्थल प्रवद्र्धन र चुरे संरक्षणका लागि जैविक मार्ग निर्माण गरिएको हो। 

रौटेलाको बैजनाथ मन्दिर, विष्णु मन्दिर साकेतधाम, भम्केनी, झिलमिला र ब्रह्मदेबको सिद्धनाथ बाबाको मन्दिरलाई जैविक मार्गले जोडिएका छन्। अहिले बाराकुण्डलाई पर्यटकीय धार्मिक स्थल बनाउन कुण्ड पुनःभरन कार्यक्रम सञ्चालन गरिएको छ।

जैविक मार्गलाई कैलालीको गोदावरीसम्म पुगाउन अन्य नगरपालिका सहमत भएका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारमा पर्यटन मार्ग निर्माण सुरु गरिएको छ। झोलुंगे पुल हुँदै बागफाँटासम्म पर्यटन मार्ग पुगाउने योजना छ। नगरपालिकाले नगर सबै सडकको वर्र्गीकरण र नामाकरण गर्ने योजनासमेत बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.