|

धनकुटा : विपत वा दैवी प्रकोप नियमित अवस्थाभन्दा फरक अवस्था हो जुन प्राकृतिक वा मानव सृजित कारणबाट उत्पन्न हुन्छ र यसको व्यवस्थापन नियमित प्रकृतिको कार्य संयन्त्रबाट हुन सक्दैन।

स्थिर एवं नियमित प्रक्रियाभन्दा पृथक ढंगबाट अनियन्त्रित अवस्थाको सृजना भई समाजको धनजनको क्षति हुने अवस्था नै विपत हो। दैवी प्रकोप उद्धार ऐन, २०३९ अनुसार दैवी प्रकोप भन्नाले भूकम्प, आगलागी, आँधीबेरी, बाढी पहिरो, अतिवृष्टि, अनावृष्टि, अनिकाल, महामारी तथा यस्तै अन्य प्राकृतिक प्रकोपहरु हुन्। यस्तै औद्योगिक दुर्घटना, विष्फोटक वा विषाक्त पदार्थद्धारा हुने दुर्घटना र यस्तै अन्य कुनै पनि प्रकारको प्रकोपलाई समेत विपद भनिन्छ। प्रकोप प्राकृतिक मात्र नभई मानव सृजित क्रियाकलापहरुबाट समेत सृजना हुने भएकोले प्रकोपलाई विस्तृतरुपमा विपत भनिन्छ।

विपत व्यवस्थापन जुनसुकै राष्ट्रको लागि एक जटिल र संवेदनशील विषय बन्दै आइरहेको छ। अझ नेपालजस्तो कम विकसित देशमा विपत जटिल र संवेदनशील नबन्ने कुरै भएन। नेपालमा हरेक वर्ष हुने विपत मुख्य गरेर बाढीपहिरो नै मुख्य रूपमा पर्दछ। बाढी मानवीय संवेदना, सामाजिक, आर्थिक, सांस्कृतिक पक्षसँग मात्र नभएर समग्र विकास व्यवस्थापनको समस्या तथा चुनौतीको रूपमा देखापर्ने गरेको छ।

यसै क्रममा पूर्वी पहाडी जिल्ला धनकुटा भएर बग्ने तमोर नदीमा हरेक वर्ष आउने बाढीले धेरै धनजनको क्षति हुने गरेको छ। धनकुटामा हुने विपतका घटनामध्ये मुलघाटमा घुम्न, वनभोज खान र मलामी आएकाहरु तमोर नदीमा नुहाउने र पौडिने क्रममा डुबेर मृत्यु हुने घटना धेरै मात्रामा हुने गरेको छ।

अब भने डुबानमा पर्ने गरेका उद्धार सामग्री राख्दा जोखिममा रहेका नागरिकलाई तत्काल उद्धार गर्न सकिने अवस्था सिर्जना भएको छ। सशस्त्रको छिन्ताङ गुल्म धनकुटाले पहिलोपटक मुलघाटमा नागरिक सहायता कक्ष विपत प्रकोप उद्धार टोली पनि परिचालन गरेको छ। टोली उद्धारका लागि निरन्तर ड्युटीमा रहने सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाका प्रमुख प्रहरी नायब निरीक्षक रमेश विक्रम शाहीले बताए।

भू–क्षय, बाढीपहिरो र नदी कटानले जोखिममा परेका मानिसलाई बचाउन सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाले विपतमा हुन सक्ने धनजनको क्षतिलाई कम गर्न पूर्व तयारीको कार्य सुरु गरेको छ। सशस्त्र प्रहरी बल नेपाल, छिन्ताङ्ग गुल्म धनकुटाले जल उत्पन्न प्रकोप उद्धार विशेष पूर्वतयारीको काम सुरु गरेको हो। विपद्का बेला आउन सक्ने सम्भावित घटनालाई न्युनिकरण गर्ने उदेश्यले सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाले मुलघाट क्षेत्रमा नदीमा उद्धार गर्न आवश्यक पर्ने सामग्रीहरु राखेको हो।

स्टेचरदेखि लाइफ ज्याकेटसम्म

मुलघाटमा रहेको चेक प्वईन्टमा बिरामी बोक्ने स्टेचरदेखि विरामी उपचार बक्स, नदीमा बगिरहेको मान्छेलाई बचाउन प्रयोग गरिने क्याराभेना डोरी, थो व्याग, पानीमा सजिलै तर्न सकिने लाइफ ज्याकेट राखिएको हो। त्यसबैगरी हेलमेड, ट्युब र र्‍याफ्‍टिङ डोरीलगायत विपतका बेला उद्धारका प्रयोग गरिने सामाग्रीहरु तयारी अवस्थामा राखिने छिन्ताङ गुल्म धनकुटाका प्रमुख शाहीले जानकारी दिए।

जुनसुकै समयमा हुने विपत्त तथा उद्धारको लागी सशस्त्र प्रहरी बलका ५० जना जवानलाई ४ दिनसम्म जलउत्पन्न प्रकोप उद्धार पुनर्ताजगी तालिम दिएर तयारी अवस्थामा राखिएको शाहीले बताए। उनले अबदेखि २४ घण्टा सशस्त्र प्रहरीका तालिम प्राप्त उद्धार टोली मुलघाटमा तैनाथ हुने पनि जानकारी दिए।

तमोर नदीमा बगेको देखे तत्काल उद्धार

तमोर नदीमा अचानक कोही बगे भने तत्काल कसरी सकुशल उद्धार गर्न सकिन्छ र रोप रेस्क्यु, अन्डर वाटर रेस्क्यु, स्थानीय स्रोत साधनको प्रयोगबाट गरिने उद्धार र अत्याधुनिक ढंगले गरिने उद्धारका सामाग्री तैनाथ राखिएको छ। सशस्त्र प्रहरीका जवानहरुले नदीमा बगेर आपत परेका मान्छेलाई तत्काल उद्धार गरेर कसरी बचाउन सकिन्छ भनेर निरन्तर अभ्यास गरिरहेका छन्। उनीहरुले नदीबट निकालिसकेपछि गरिने प्राथमिक उपचारदेखि अस्पतालसम्म लाने उपचार तथा उद्धार कार्यको पनि अभ्यास गरिरहेका छन्।

दैविक प्रकोप जुनसुकै बेला आउन सक्छ

उद्धारका लागि आवश्यक उद्धार सामग्री दैविक प्रकोप जुनसुकै बेला आउन सक्ने भएकाले सबैले सहजै उद्धार पाउने गरी काम सुरु गरिएको सशस्त्र प्रहरी धनकुटाले जनाएको छ। देश र जनताको सेवक भएर काम गरिरहेको हुनाले धनकुटामा मात्रै नभएर अन्य क्षेत्रमा पनि आवश्यकताअनुसार काम गर्ने तयारी भइरहेको सशस्त्र प्रहरी बल बराह बाहिनी पति मन्दीप श्रेष्ठले बताए।

सशस्त्र प्रहरी बल जनसेवकले भूकम्प, बाढी पहिरो, जल उत्पन्नबाट हुने प्रकोपको अवस्थामा होस वा आगलागीको अवस्थामा होस क्लस्टर छुट्याएर सेवा दिइरहेको र भइपरि आउने विपद्ध र प्रकोपलाई न्यूनिकरण गर्न जनचेतना जगाउने खालका कार्यक्रमहरु पनि सञ्‍चालन गर्दै आएको श्रेष्ठले बताए।

यता सशस्त्र प्रहरीले मुलघाटमा उद्धार टोलि र सामग्री तैनाथ गरेकाले स्थानीय पनि खुसी भएका छन्। धनकुटा ३ का सुरेश पराजुलीले सशस्त्रले गरेको कार्यले कसैले पनि अकालमा मृत्यु हुनबाट जोगाउने बताए। उनले मुलघाटमा मात्रै नभएर देशका धेरैजसो स्थानमा यस्तो कार्य हुनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.