|

काठमाडौं : निखिल उप्रेती नेपाली फिल्म क्षेत्रमा स्थापित नाम हो। उनले १७ वर्षअघि फिल्म 'पिँजडा'बाट धमाकेदार स्टन्टसहित नेपाली फिल्ममा इन्ट्री गरेका थिए। 'पिँजडा'मा उनले सात तलामाथिबाट हाम फालेर चर्चा कमाएका थिए। यसपछि धेरै सफल फिल्म दिइसकेका उनी 'एक्सन स्टार'का रूपमा दर्शकका मनमा बसेका छन्।

निखिलमा सानैदेखि अभिनयको भुत थियो। एक्सनमा बढी चासो दिने उनी सानै उमेरदेखि ज्याकी चान र ब्रुस लीका फ्यान थिए। स्टन्ट अनि फाइट एकदमै रुचाउथेँ। त्यसैको प्रभावले निखिलले ज्याकी चान र ब्रुस लीजस्तै बन्न मार्शल आर्ट सिक्न थाले। उनीहरुले गरेको अभिनय तथा स्टन्टहरु कपी गर्न खोज्थे। राम्रो जिम्न्यास्टिक गर्ने उनलाई धेरैले हिरो बन्न सुझाए।

डेब्युभन्दा पहिलाको पढाइ

घर परिवारमा सल्लाह गरी निखिल फिल्म पढ्नका लागि २०४९ मा मुम्बई हानिए।मुम्बईमा फिल्म निर्देशन पढ्न थाले। उनीसँगै रोहित शेट्ठी र रानी मुखर्जी पनि पढ्थे। दुवै उनका साथी भए। सँगै पढ्ने साथीहरू उनलाई मार्शल अनि उसु सिकाउन आग्रह गर्थे। उनी सिकाउँथे पनि।

मुम्बइ बसाइमा नै निखिलले फिल्ममा सहायक निर्देशकको अवसर पाए। धेरै फिल्ममा फाइट कम्पोजरको पनि काम गरे। उनी भन्छन्, 'मैले धेरै फिल्ममा सहायक निर्देशक बनेर काम गरेको छु।' यही क्रममा उनले हिन्दी फिल्ममा नायकको डुप्लिकेट बनेर पनि काम गर्न भ्याए। उनले भने, 'नायकको डुप्लिकेट बनेर पनि धेरै फिल्ममा फाइटका स्टन्ट गरियो।'

यसरी गरे नेपाली फिल्ममा डेब्यु 

मुम्बईमा काम गर्दा निखिलको कामलाई पवन मैनालीले देखेका थिए। त्यसैबेला पवन निखिलको काम र उनको शारीरिक बनावटबाट प्रभावित भए। पवन त्यसबेला नयाँ फिल्म निर्माणको तयारीमा थिए। हिरोको खोजी भइरहेको थियो। निखिलको चाहना पनि बुझे पवनले। अनि अफर गरे, निखिलले त्यो बेला पवनले भनेका 'निखिल, मैले एक्सन फिल्म निर्माण गर्दै छु। काम गर्छौ त?' सम्झिए। निखिलले पनि उक्त प्रस्ताव स्वीकारे। भन्छन्, 'बल्ल मलाई ज्याकी चानजस्तो बन्ने अवसर मिल्यो भनेर फिल्मको अफर स्वीकारेँ।'

निखिलमा त्यो बेला नयाँ जोश थियो। फिल्म पाएको खुसी। ज्याकी चान र ब्रुस लीजस्तो बन्ने अवसर पनि। निखिल भन्छन्, 'फिल्म पाएको खुसीमा म जे नि गर्न तयार थिएँ।' नभन्दै निखिलले फिल्ममा सात तलाबाट हाम फाल्नुपर्ने भयो। सम्झिन्छन्, 'सात तलाबाट हाम फाल्ने कुरामा मलाई अलिकति पनि डर थिएन। बरु उत्साहित थिएँ।' 

आखिर निखिलले सात तलाबाट हाम फाले नै। यो कुराको चर्चा फिल्म नगरीमा राम्रै भयो। दिन दुई गुना, रात चौगुना भनेजस्तो निखिलको हाइप बढ्दै गयो। 'मैले सात तलाबाट हाम के फालेको थिएँ, मेरो चर्चा त यति धेरै भयो कि त्यसपछि त फिल्म क्षेत्रमा फर्केर हेर्नुपर्ने अवस्था नै आएन', निखिल भन्छन्, 'त्यही चर्चाले अहिलेसम्म फिल्म गरिरहेको छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.