कालिकोट : कालिकोटमा असार १५ सकिँदा पूँजीगत खर्च २०.२४ प्रतिशत मात्र भएको छ। कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) कालिकोटका अनुसार जिल्लामा असार १५ गतेसम्म पूँजीगततर्फको ८० करोड ४६ लाख ६२ हजारमध्ये १९ करोड ३७ लाख १४ हजार २ सय मात्र खर्च भएको छ।
जिल्लाका सरकारी कार्यालयहरुको पूँजीगततर्फ खर्च कम देखिएको छ। तर, स्थानीय तहहरूले गरेका पूँजीगत खर्चबारे कोलेनिकालाई जानकारी नभएको कार्यालयका लेखापाल नैनबहादुर बुढाले बताए। ‘जिल्लाका सरकारी कार्यालयहरुले असार १५ गतेसम्म २४.४ प्रतिशत मात्र खर्च गरेका छन्,’ उनले भने, ‘स्थानीय तहरूलाई खर्चको विवरण मागे पनि दिन सकेका छैनन्।’
पूँजीगत खर्च कम हुनुले सरकारले विकास निर्माणमा काम गर्न ढिलाई गरेको वा कामै नगरेको पनि हुनसक्ने कर्णाली विकास आयोगका सदस्य कृष्णप्रसाद आचार्यले बताए। ‘पूँजीगत खर्च न्यून हुनु भनेको विकास निर्माणका काम हुन नसक्नु नै हो,’ उनले भने, ‘यसले सरकारी ढिलासुस्तीको संकेत देखाएको छ।’
असार २५ गतेसम्म पूँजीगततर्फको खाता बन्द हुने भएकाले अहिले गाउँगाउँमा विकास निर्माणका कार्य भइरहेकाले छ। कोलेनिकाले असार मसान्तसम्म सबै विवरण आउने बताएको छ।
असार १५ सम्म जिल्लामा चालुतर्फको तीन अर्ब ५३ करोड ८३ लाख चार हजार १४३ रुपैयाँमध्ये तीन अर्ब २० करोड ६६ लाख ४७ हजार ८५ रुपैयाँ निकासा भएको र यो ९०.६४ प्रतिशत खर्च भएको कोलेनिकाले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।