सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायअन्तर्गत केन्द्रिय क्याम्पसका डिन र क्याम्पस प्रमुख निलम्बनमा परेका छन्। विश्वविद्यालयको ‘सांगठनिक तथा शैक्षिक प्रशासनीक नियमावली’अनुसार डिन वीरेन्द्र खड्का र क्याम्पस प्रमुख विवेककुमार पण्डित निलम्बनमा परेका हुन्।
इन्जिनियरिङ संकायको भर्ना तथा परीक्षा सञ्चालनमा लापरवाही गरेको भन्दै उनीहरूलाई निलम्बन गरिएको विश्वविद्यालय स्रोतले जनाएको छ। निलम्बनमा परेका डिन खड्का र क्याम्पस प्रमुख पण्डितमाथि आवश्यक छानबिन थालिएको स्रोतको भनाइ छ।
डिन र क्याम्पस प्रमुख निलम्बनमा परेपछि अर्को व्यवस्था नहुन्जेलसम्मका लागि इन्जिनियर सोनालाल यादवलाई क्याम्पस प्रमुखको जिम्मेवारी तोकिएको सूचना अधिकारी शेरबहादुर केसीले जानकारी दिए।
वितग तीन वर्षदेखि इन्जिनियरिङ संकायका विद्यार्थीले विभिन्न मागहरू राखेर आन्दोलन गर्दै आएका छन्। विश्वविद्यालय प्रशासनले दक्ष तथा अनुभवी शिक्षकको व्यवस्थापन गर्न नसकेको र पैसा मात्रै कमाउने काम गरेको विद्यार्थीले आरोप लगाउँदै आएका छन्।
इन्जिनियरिङ संकायलाई स्वायत्त बनाइनुपर्ने, हाइड्रो इन्जिनियरिङको पूर्ण पाठ्यक्रम उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गरिनुपर्ने, सम्पूर्ण प्रयोगात्मक कक्षा पूर्णरूपमा सञ्चालन गर्नुपर्ने, १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, लाइव्रेरीमा पर्याप्त पुस्तक उपलब्ध गराउनुका साथै छुट्टै लाइब्रेरियनको व्यवस्था गर्नुपर्ने र सम्पूर्ण विषयको विषयगत शिक्षकको उचित व्यवस्थापन गर्नुपर्ने माग सहित इन्जिनियरिङ संकायका विद्यार्थीहरूले पटकपटक आन्दोलन गर्दै आएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।