|
फोटो: कुशल घतानी राई

काठमाडौं : कुरा २०४५/०४६ सालतिरको हो। नुवाकोटको घरमा एउटा सानो टिभी थियो। बुबाले भिसिआर किनेर ल्याउँथे अनि गाउँलेसँग एक रुपैयाँ लिएर फिल्म देखाउँथे। नरेशकुमार केसी सानै थिए। उनलाई फिल्म हेर्न अनुमति थिएन। कारण, गाउँमा बच्चाले टिभी हेरे भने बिग्रिन्छन् भन्ने मान्यता थियो।

पछि नेपाल टेलिभिजनमा हरेक शनिबार फिल्म आउन थाल्यो। नरेश फिल्म हेर्नलाई शनिबार कुर्थे। कति शनिबार फिल्म हेरेर बितेका छन् उनका। शनिबारबाहेक फिल्म हेर्न मन लागे पनि हेर्न नपाएको इख उनीमा थियो। उनी भन्छन्, ‘मन लागेको बेला फिल्म हेर्न नपाएकाले होला फिल्मप्रति छुट्टै क्रेज थियो। फिल्म भनेपछि मरिहत्ते गर्थें।‘ उनी शनिबार टिभी छोडेर अन्त जाँदैनथे।

एसएलसीपछि काठमाडौं

नुवाकोटबाट एसएलसी दिएका उनी एसएलसीपश्चात काठमाडौं आए। उनमा फिल्म पढ्ने सोच थियो तर त्यस बेला फिल्म पढाउने स्कुल कतै थिएन। फिल्मपछि उनको रुचि संगीत थियो। संगीतमा पनि घरबाट अनुमति भएन। घरकाले ‘साइन्स’ पढेर डाक्टर बन्नुपर्ने भनेकाले उनी साइन्स पढ्न तयार भए।

उनले साइन्सबाट आइएस्सी पूरा गरे अनि एमबिबिएस पढ्न प्रवेश परीक्षा दिए तर उनको नाम निस्किएन। अर्को वर्ष उनको आयुर्वेदिक डाक्टर पढ्नलाई नाम निस्कियो। उनले पढ्न सुरु गरे।

डाक्टर पढ्न थालेको वर्षमा खुल्यो फिल्म कलेज

डाक्टर पढ्न थालेको पहिलो वर्ष नीर शाहले फिल्म कजेल खोले, कलेज अफ फिल्म स्टडिज। त्यस बेला भर्ना हुन २०/२५ हजार रुपैयाँ लाग्थ्यो। नरेशसँग त्यो पैसा थिएन। उनी भन्छन्, ‘म त भर्खर १८/१९ वर्षको त थिएँ त्यो बेला, मैले कहाँबाट ल्याउनु त्यत्रो पैसा? त्यो सम्भव नै भएन।‘

त्यसपश्चात् उनले एक वर्ष सानोतिनो काम गरेर पैसा जम्मा गरे- अर्को वर्ष एड्मिसन हुनका लागि। पैसा जम्मा पनि भयो। प्रवेश परीक्षा पनि दिए तर विद्यार्थी नपुगेकाले कलेज खुलेन। अर्को वर्ष पनि त्यही भयो- प्रवेश परीक्षा दिए तर कलेज खुलेन। उनी सम्झिन्छन्, ‘त्यसको दुई वर्षपछि बल्ल कलेज खुल्यो।‘

कलेज खुल्ने बेलासम्म उनले डाक्टरको पढाइ सकिसकेका थिए। उनी हस्पिटलहरूमा इन्टरर्नसीप गर्न थालिसकेका थिए। उनी पूर्ण रूपमा डाक्टर बन्न केही महिना मात्र बाँकी थियो।

नरेशलाई डाक्टर बन्ने अलिकति पनि सोच थिएन। उनले एमबिबिएस परीक्षा दिँदा नाम ननिस्किएपछि आरआर क्याम्पसमा पत्रकारितमा भर्ना गरेर आइएदेखि नै अध्ययन सुरु गरेका थिए। उनी सम्झिन्छन्, ‘रुचि अनि चासो फिल्मतिर नै थियो। त्यसैले फिल्मसँग नजिक हुने भनेको मिडिया भएकाले मैले जर्नालिजम पढेँ।‘ उनले पत्रकारितामा स्नातकोत्तर गरेका छन्।

दुईतिरको पढाइपछि फिल्म

उता पत्रकारितामा स्नातक सकियो, यता डाक्टर पनि सकियो। नरेश भन्छन्, ‘दुईतिरैको पढाइ सकिएपछि बल्ल फिल्म कलेज खुल्यो। के गरौँ गरौँ भयो तर सोच फिल्म नै भएकाले एड्मिसन गरेँ।‘

सन् २००४ मा डाक्टर पढ्दै गर्दा उनले इन्डियन टिमबाट फिल्म निर्देशन तथा निर्माणको चार महिनाको ट्रेनिङ लिएका उनले ‘सानो संसार’नामक फिल्ममा असिस्टेन्ट बनेर काम गर्न पाएका थिए। उनले त्यस फिल्मबाट आएको पारिश्रमिकले फिल्म कलेज भर्ना गरे।

उनले फिल्म कलेज पढेको घरमा भनेका थिएनन्। उनी फिल्म कलेजमा पहिलो वर्ष प्रथम भए। दोस्रो वर्षदेखि उनलाई चलचित्र विकास बोर्डले छात्रवृत्ति प्रदान गर्‍यो। उनले नि:शुल्क पढ्न पाए।

फिल्म पढ्न अमेरिका

फिल्म कलेजमा उत्कृष्ट विद्यार्थी उनी फिल्मसम्बन्धी थप पढाइका लागि अमेरिका जाने भए। उनी अमेरिका गए। त्यहाँ गएर उनले न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्म स्टडिजमा मस्टर गर्न थाले। त्यहाँ पढिरहँदा उनले त्योभन्दा राम्रो फिल्म स्टजिड स्कुलचाहिँ युएससी भन्ने रहेछ भन्ने थाहा पाए, जुन विश्वकै नम्बर एक फिल्म स्कुल थियो। उनले त्यहाँ पढ्नका लागि नाम पेस गरे तर नाम निस्किएन। अर्को वर्ष पेस गरे, नाम निस्कियो अनि त्यहीँ पढ्न थाले।  

बिदामा आएर फिल्म

सन् २०१३ को समर ब्रेकको टाइममा आएर उनले ‘डाइङ क्यान्डल’ नामक फिल्म बनाए। आर्ट फिल्म ‘डाइङ क्यान्डल’ निकै चर्चित बन्यो। यस फिल्मले धेरै अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भयो। नरेशकुमारको चर्चा पनि उत्तिकै भयो।

उनले सानो लगानीमा राम्रो फिल्म बन्न सक्छ भन्ने प्रमाणित पनि गरिदिए। उनी भन्छन्, ‘हाम्रो देशमा यति धेरै लुकेका कथाहरू छन्। त्यसैलाई पर्दामा ढालियो भने बजेट पनि कम लाग्छ र नेपालीपनको फिल्म पनि बन्छ। त्यही लागेर डाइङ क्यान्डल बनाएँ।’ हरेक फिल्म फेस्टिभलमा ‘डाइङ क्यान्डल’को उदाहरण लिइन्छ। देश तथा विदेशका निर्माता तथा निर्देशकले पनि उनको यस फिल्मको चर्चा गर्छन्।

डाइङ क्यान्डलभन्दा भिन्न रोमियो एण्ड मुना

नरेशकुमार निर्देशित फिल्म रोमियो एण्ड मुना प्रदशर्नको तयारीमा छ। यो फिल्म उनको पहिलो निर्देशन रहेको फिल्म डाइङ क्यान्डलभन्दा निकै भिन्न छ- कथा, पात्र अनि लगानीको हिसाबमा पनि।

नरेशलाई आर्ट फिल्म बनाउने निर्देशकको रूपमा लिइन्छ। धेरैले उनलाई त्यही धारको फिल्म बनाउने निर्देशकको रूपमा लिन्छन्। उनलाई भन्नेहरू पनि छन्, ‘तिमीले कि डाइङ क्यान्डल बनाउनहुँदैनथ्यो कि रोमियो एण्ड मुना।'  तर उनले रोमियो एण्ड मुना जस्तो कमर्सियल फिल्म पनि निर्देशन गरे। उनी भन्छन्, ‘म सानै उमेरदेखि आर्ट फिल्म बनाउँछु भनेर हिँडेको मान्छे होइन। पछि सिनेमा बुझेँ र डाइङ क्यान्डल बनाएँ। तर मैले हेर्दै हुर्केको फिल्म त रोमियो एण्ड मुना जस्तै त हो।‘

नरेश आफूले चाहेर पनि पहिलो पटक रोमियो एण्ड मुना जस्तो फिल्म बनाउन नसक्ने बताउँछन्। ‘पहिलो पटक मैले चाहेर पनि रोमियो एण्ड मुना जस्तो फिल्म बनाउन सक्दिनथेँ। मलाई त्यत्रो लगानी गरिदिने पनि कोही हुन्थेन’, भन्छन्, ‘सानो बजेटमा राम्रो फिल्म बनाएँ। अहिले विश्वास गरेर लगानी गर्नुहुन्छ।‘

रोमियो एण्ड मुनामा उनले केही नयाँ प्रयास गरेका छन्। ‘नेपाली फिल्म क्षेत्रमा मैले केही नयाँ गर्ने प्रयास गरेको छु’, उनी भन्छन्, ‘नेपाली फिल्ममा मैले पहिलो पटक सिजिआइ गरेको छु।’ केही नयाँ गर्छु भनेर सिजिआइ गरेको उनी बताउँछन्। त्यो फिल्मकै कथा अनुसार बनाइएको उनको भनाइ छ। फिल्ममा समावेश 'पलपल' बोलको गीतमा पनि उनले केही नयाँ गर्ने प्रयास गरेका छन्। उक्त भिडियोको पनि उत्तिकै चर्चा छ।

रोमियो एण्ड मुना कुनै उपन्याससँग मेल नखाने नरेश बताउँछन्। ‘फिल्ममा अमेरिकाको नेपाली र नेपालको गाउँले केटीबीचको प्रेम सम्बन्ध र उनीहरूबीचको खटपटलाई देखाइएको छ’, उनी भन्छन्, ‘त्यसैले यसको कनेक्सन कहीँ कतै छैन।‘ यस फिल्मबाट निकै आशावादी छन् नरेश। भन्छन्, ‘फिल्ममा धेरै मिहिनेत गरिएको छ। मिहिनेतअनुसार फिल्म राम्रो पनि बनेको छ। त्यसैले सफलताको आशा छ।‘

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.