‘छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला
बनाई कुलो लगाई पानी आएर गोडौला’
असारको वर्षातसँगै गाउँ बस्ती र सहरका कुना–कुनाका खेतबारीमा रमिरहेका किसानका गह्राहरुमा यतिबेला माथी उल्लिखित लय फुर्न थालेका छन्। असार अर्थात मुठी खाएर मुरी फलाउने याम । किसानहरुका लागि असार एउटा पर्व नै हो भन्दा फरक नपर्ला । असारलाई वर्षा ऋतुको कामले मुरी फलाएर बाह्र महिना छाक टार्ने पूर्वाधारको यामका रुपमा पनि लिने गरिन्छ ।
असारको छुपु–छुपु हिलोमा पसिनाका दाना बगाई माना फलाउने महिना असारको आरम्भसँगै केही दिनदेखिको वर्षातका कारण कृषकहरु यतिबेला खेतका गह्राहरुमा व्यस्त छन् । वर्षातसँगै बाँझो खेतसँग ‘हलिदाई’ पसिना काट्दै छन् भने हलिदाईलाई लाठे, रोपारे, ब्याडेले साथ दिँदैछन् ।
चारैतिरका हरियालीबाट गुञ्जिएका असारे भाका, किसानलाई जिस्काउने प्रकृतिसँगै छङछङ गर्दै बगिरहने खहरेखोलाको सुसेलीको बीचबाट साँच्चै कल्पना गरौं त ? काँधमा हलो, जुवा र हातमा कोदालीसँगै लहलहाउँदो बीउको मुठा बोकेर ओरालो झर्दै गरेका लाठे दाइ, डोकामा बीऊ बोकेर पाज्दै गरेका ब्याडे, असारे भाकामा गुगुनाउँदै हिलोसँग खेल्दै गरेको बाउसेदाइ, गुल्युचोलीमा सजिएर हिलोका टीका लगाई चूल्ठोमा असारे फुल सिउरिएर रंगिचंगी प्लाष्टिक र घुम ओढेर बीऊ रोप्दै गरेकी रोपारे दिदी, दबदबे हिलोमा नाच्दै बेठी बाजाको ताल दिंदै गरेका दमाई दाइ अनि यो दृष्य नियाल्दै गरेको प्रकृति, उड्दै गरेको कुहिरोबाट वर्षेको सिमसिमे पानीसँगै सुसाएको मकैबारी, खहरेको छहरा, किसानहरुको घडी अर्थात चाँडै घर जान संकेत दिने झ्याउँकिरी कराई अनि वर्षे बिदामा घर बसेर रोपाईमा नाच्दै गरेको विद्यार्थीहरुको अवोध उत्सुकता काम सकेर खाने दोपरे खाजा लगायत नै असार साउनका विशेषता हुन भने यिनै विशेषताहरुले नै किसानका पसिना र थकाईलाई बिर्साएको हुनेछ ।
त्यो उकाली ओराली, चिप्लेटी, दबदबेहिलो, सिमसिमे पानीको रुझाई , हातका ठेला यी सबैलाई बिर्साएर हरियो बिऊको मुठाले मंसिरेबाला झुलाईको संकेत दिएको भएर नै त होला सबै किसानहरु हिलोसँग लुकामारी गर्दै मंसिरे भण्डार र कल्पनामा दुःखसुख, भोक, प्यास, घाम, पानी केही पनि नभनी खेतीमा व्यस्त रहेका छन् । झन मल अभावले समस्या थपेको छ ।
भनिन्छ लाशलाई समेत घुमले छोपर किसानहरु काममा रहने याम हो – असार । जेहोस् वसन्तलाई पारगर्दै आएको गृष्म र वर्षा ऋतुले किसानहरुलाई एकैचोटी शरदलाई भुलाएर हेमन्तमा पुर्याउन सहयोग गरोस् । असार, साउनले किसानहरुलाई अनुकूलता दियोस् । आँखाभरी पहेलपुरता, ओठभरी मुस्कान र मनभरी उमंग हर्ष र सन्तुष्टिको प्रवाह गराओस् जबकी यसकै कारण दुःख पीडा सब बिर्सन किसानहरु सफल होउन् ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।