|

काठमाडौं : नेपाली रंगमंचमा भोलाराज सापकोटालाई नचिन्ने दर्शक सायदै होलान्। रंगमंचमा रहेर लगभग २५ वर्ष बिताएका उनले नाटक लेखन, निर्देशन तथा अभिनय पनि गरेका छन्। उनी नेपाली रंगमंचका एक हस्ती बनेका छन्।

पछिल्लो समय उनी फिल्ममा पनि लगतार काम गर्दै आइरहेका छन्। उनी अभिनित केही फिल्महरू प्रदर्शन पनि भइसकेका छन् भने केही फिल्महरू प्रदर्शनको तयारीमा छन्। गत शुक्ररबारबाट भोलाराज अभिनित दुई फिल्म एकसाथ रिलिज भए- 'पण्डित बाजेको लौरी' र 'चक्कर।' दुवै फिल्ममा उनी मुख्य भूमिकामै छन्।

फिल्म र रंगमंच दुवैमा व्यस्त बनिरहेका भोलाराजसँग थाहाखबरका दिप्सन लुइँटेलले गरेको कुराकानी प्रस्तुत छ।एकदमै व्यस्त हुनुहुन्छ है?

यस्तै छ, काम गरिएको छ। खाइएको छ। व्यस्तता भनेको त्यही हो।

 भोलाराज सापकोटा को हो?

भोलाराज सापकोटा एउटा रंगकर्मी तथा कलाकार हो। अझ भनौँ पहिला रंगकर्मी, अहिले कलाकार पनि।

नाटकमा इच्छा कसरी जाग्यो?

हेटौँडामा बेलाबेला चाडपर्वको बेला नाटक भइरहन्थ्यो। विशेषगरी गाउँका दाइहरूको नाटक हेर्थ्यौं। उहाँहरूको प्रस्तुतिबाट नै नाटकमा इच्छा जागेको थियो। पछि हेटौँडामा सडक नाटक पनि गरेँ। त्यसपछि झनै रुचि बढ्दै गयो।

हेटौँडाबाट नाटक खेल्नकै लागि काठमाडौं आउनुभएको थियो?

हो, म नाटक खेल्नकै लागि काठमाडौं आएको थिएँ। काठमाडौं आएर नाचघरमा अभिनय पनि सिकेँ। त्यसबेला मैले फ्रिमा नाटक सिकेको छु।

घर परिवारबाट समर्थन तथा सहयोग कत्तिको थियो?

यो क्षेत्रमा आउन केही परिवारले समर्थन गर्नुहुन्न होला। मेरो पनि खासै समर्थन थिएन।

काठमाडौं छिरेपछि नाटककै लागि भनेर कत्तिको संघर्ष गर्नुपर्‍यो?

काठमाडौं छिरेपछि केही संघर्ष त गर्नैपर्‍यो। घरमा हुँदा पो आमाको होटल, बाउको लज भनेजस्तो थियो। यहाँ त्यो भएन। सुरुमा त कोठाभाडा तिर्नुपर्‍यो। कमाएर खानुपर्‍यो। सुरुसुरुमा चाहिँ अलिक गाह्रै थियो।तपाईंले रंगकर्ममा बिताउनुभएको समय कति भयो?

मैले २०५० सालमा 'मूर्ख बिरामी' भन्ने नाटकबाट रंगकर्म सुरु भएको हो तर व्यावसायिक रूपमा चाहिँ २० वर्ष भयो होला।

२० वर्षको रंगकर्ममा केके कामहरू गर्नुभयो?

मैले २० वर्षमा नाटक निर्देशन, लेखन, अभिनय सबै गरेँ। मैले लगभग १५० नाटकमा अभिनय पनि गरेको छु। जति नाटकमा काम गरेँ, फरक फरक भूमिकमा छु। मैले सकारात्मक भूमिका, खलपात्र, कमेडी सबै भूमिकामा काम गरको छु।

आफैँलाई फिट हुने क्यारेक्टरचाहिँ कस्तो भेट्नुभयो?

म अझैसम्म कन्फ्युजनमा छु कि मलाई कस्तो रोल उपयुतक्त हुन्छ। तर जस्तो भूमिका आउँछ, त्यसलाई न्याय गर्नतर्फ लाग्छु।

अहिले रंगमंचमा भन्दा फिल्ममा बढी देखिनुभएको हो?

त्यस्तोचाहिँ होइन तर फिल्ममा पनि काम गरिरहेकै छु। मलाई सुहाउँदो क्यारेक्टर छ र मलाई मनपर्‍यो भने फिल्ममा पनि काम गर्छु।

तपाईंले बलिउड फिल्ममा पनि काम गर्नुभएको छ नि होइन

हो, मैले बलिउडमा 'बर्फी' भन्ने फिल्ममा काम गरेको छु। पछि अर्को फिल्ममा पनि काम गर्ने मैखिक सम्झौता भएको थियो। रणवीर कपुर पनि त्यो फिल्ममा हुनुहुन्थ्यो तर पछि त्यो फिल्म बनेन।

बलिउड फिल्ममा काम गरिसक्नुभएको तपाईंलाई बलिउडमा नै अरू काम गरूँ जस्तो लागेन?

लाग्छ नि, किन नलाग्नु! मैले प्रयास पनि गरिरहेको छु। भर्खरै मात्र पनि मैले राजकुरमार गुप्ताको एक फिल्मका लागि अडिसन दिएर आएको छु। तर मलाई मेरो परिवारको जिम्मेवारीका कारण त्यहीँ बसेर काम गर्न सकिनँ। धेरैले त भन्नुभएको थियो त्यहीँ बसेर काम गर्न तर पनि म परिवारको कारण नेपाल आए। फिल्ममा काम गर्नका लागिचाहिँ प्रयास गरिरहेको छु।

नेपाल र बलिउडका फिल्ममा के भिन्नता पाउनुभयो?

फरक त भइहाल्छ। मुख्य करा भनेको बजेटको कुरा हो अनि सोच हो। नेपालमा चाहिँ हामी काम चलाउ सोचबाट ग्रस्त छौँ। त्यो सोचबाट हामी मुक्त हुन जरुरी छ। अर्को कुरा हाम्रोमा देखाउने प्रवृत्ति बढी छ। मैले पनि फिल्ममा काम गरेँ नि! भन्ने बनाउनका लागि फिल्म क्षेत्रमा आउने धेरै छन्।

अब नाटकभन्दा फिल्ममा बढी सक्रिय हुने हो तपाईं?

होइन, फिल्म पाएसम्म र फिल्मको कथा चित्त बुझेसम्म फिल्ममा काम गर्छु। रंगकर्म त मेरो मुख्य पेसा नै भइगयो। त्यो त छोड्ने कुरै भएन नि!

सन्तुष्टि कता मिल्दोरहेछ, नाटक या फिल्ममा?

मनलाई नाटकमा सन्तुष्टि र पेटलाई फिल्ममा।

लगभग एक दर्जन फिल्म खेल्नुभयो। नाटक लेखन तथा निर्देशन पनि गरिरहनुभएको छ। अब फिल्म निर्देशनतिर रुचि छ कि छैन?

रुचि छ। म इमान्दारीपूर्वक के भन्छु भने मैले फिल्म निर्देशन गरेँ भने पहिला एक दुई फिल्ममा साहायक भएर काम गर्छु अनि मात्र आफू मुख्य निर्देशक भएर काम गर्छु। फिल्ममा निर्देशक त बनौँला फेरि मैले दिन खोजेको कुरा दिन सकिनँ भने त झुर हुन्छ त!

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.