|

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा भानुभक्त ढकाल थपिने भएका छन्। बंगलादेशमा एमबिबिएस पढ्न गएका महिलाहरूको विषयमा दिएको अभिव्यक्ति विवादमा परेर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि रिक्त रहेको पदमा ढकाललाई ल्याउने सरकारको तयारी रहेको छ। 

मोरङ ३ बाट निर्वाचित नेकपा सांसद ढकाललाई अबको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनाउने कुरा तय भएको नेता ढकालले पुष्टि गरे। 'त्यस्तै कुरा आएको छ तर औपचारिक निर्णय भने आएको छैन। ठ्याक्कै भन्दा पनि कुराचाहिँ पोजिटिभ छ। समय बाँकी नै छ', नेता ढकालले भने। विद्यार्थी राजनीतिबाट आएका नेता ढकाल कानुनका विद्यार्थी हुन्। 

वि.सं. २०१८ मा तेह्रथुमको ओख्रेमा जन्मिएका ढकाल दोस्रो संविधानसभा निर्वाचन, २०७० मा समानुपातिकतर्फबाट सभासद भएका थिए। संसदमा एमालेका प्रमुख सचेतकसमेत भएका नेता ढकाल एमालेमा पोलिटब्युरो सदस्यसमेत भइसकेका नेता हुन्।

वर्तमान स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई भूमि व्यवस्था, सहकारी तथा गरिबीमन्त्री नियुक्त गरिने बताइएको छ।

यसैबीच संघीय समाजवादी फोरम नेपालको भागमा परेको स्वास्थ्य मन्त्रालयमा पनि राज्यमन्त्री थप हुने भएको छ। फोरमका डा. सुरेन्द्र यादवलाई राज्यमन्त्री बनाउने तयारी रहेको छ। उनी महोत्तरी ४ बाट निर्वाचित सांसद हुन्।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले आज साढे ४ बजे शपथ ग्रहण गर्ने स्रोतले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.