|

सोलुखुम्बुको आठ स्थानीय तहमध्येको नेचा सल्यान गाउँपालिकाले जनप्रतिनिधि पाएको पहिलो वर्षको कार्यक्रम कसरी सम्पादन गर्‍यो र आगामी वर्षका लागि कस्तो कार्यक्रम ल्याएको छ? पाँचवटा वडा रहेको यस गाउँपालिकाले गत आर्थिक वर्षमा गरेका काम र आगामी वर्ष गर्ने प्रमुख कामलगायतका विषयमा थाहाखबरकर्मी भोजराज कार्कीले गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलासँग गरेको कुराकानी प्रस्तुत छ। 

तपाईंको गाउँपालिकामा गत आर्थिक वर्षको कार्यक्रम कस्तो रह्यो?

हामी निर्वाचित भएर आएको पहिलो कार्यक्रम कम अनुभव, कम दक्षताको बीचबाट सम्पादन गर्‍यौँ। यसले धेरै क्षेत्रमा अब अगाडि बढ्नका लागि नयाँ खुड्किलाहरू सिर्जना गरेको छ। कम अनुभव हुँदाहुँदै पनि धेरै क्षेत्रमा उल्लेखनीय काम सम्पन्न गरेका छौँ। सडक स्तरोन्नतिको चरणलाई हेर्दा ८० किलोमिटर काम सकिएको छ भने २० किलोमिटर सडकको ट्र्याक खन्ने काम सकिएको छ। सडकको क्षेत्र निर्धारण गरेर त्यसको चौडालाई ध्यान दिएका छौँ। नयाँ ढंगको सडकको क्षेत्राधिकार निर्धारण गरेका छौँ। यो एउटा सडकको क्षेत्रमा उल्लेखनीय काम गरेका छौँ। यस्तै, खानेपानी तथा सरसफाइको क्षेत्र, खानेपानी, सिँचाइ, स्वास्थ्यको क्षेत्रमा पनि थोरैथोरै रकमबाट जनश्रमदान जुटाएर उल्लेखनीय काम गरेका छौँ।

शिक्षाको क्षेत्रमा पूर्वाधार निर्माणको एउटा पाटो थियो भने युग सुहाउँदो शिक्षालाई कसरी गुणस्तरीयता दिने भन्ने विषयमा सरोकारवाला व्यक्तिबीच छलफल गरेर हिजो आवश्यकतालाई ध्यान नदिई जहाँ पायो त्यहीँ विद्यालय स्थापना गर्ने परिपाटी एउटा समस्या थियो, यसले शिक्षामा गुणस्तरभन्दा पनि पछि धकेल्ने काम भयो। यद्यपि, जबसम्म एउटा कक्षा कोठामा एउटा शिक्षक दिन सकिँदैन, तबसम्म शैक्षिक गुणस्तर हुँदैन भन्ने तहको विश्लेषण गरेर विद्यालयलाई व्यवस्थापन गर्ने कुरामा छलफल गरेका छौँ। 

यस्तै, परीक्षा पनि गाउँपालिकाको तहबाट लिएका छौँ। अब गाउँपालिकाले नजिकबाट हेर्ने रहेछ भन्ने प्रकारले शिक्षक, विद्यालय व्यवस्थापन समितिमा जागरुकता आएको पाएका छौँ।

गत भदौ ३० गते हामीले गाउँसभा सक्यौँ। दशैँ, तिहारलगतै राजनीतिक कार्यकर्ताका लागि राष्ट्रिय पर्व परेका, त्यसपछि प्रदेश र संघको चुनावतिर लाग्नुपर्ने हुँदा त्यहाँ पनि समय गयो। हामीसँग समस्या थिए, अहिले पनि छन्। कर्मचारी, प्राविधिक, सल्लाहकारको अभाव हुँदाहुँदै पनि उल्लेखनीय काम गरेको हाम्रो दाबी छ।

भनेपछि समस्या र अलमलको कारणले सोचेजति काम गर्न सकिएन?

हो, समस्याको चाङमाथि टेकेर पनि काम गर्‍यौँ। काम नभएको भने होइन, तर हामीले जे सोचेका थियौँ, त्योचाहिँ पूरा गर्न सकेनौँ। यसमा केही नीतिगत कुरा पनि रहे। कानुन निर्माण नगरी काम गर्न नसक्ने अवस्था थियो। यद्यपि, त्यो सबै चंगुलबाट अगाडि बढिसकेका छौँ। 

अब आगामी वर्षका लागि क्यालेन्डर निर्माण गरेर यो समयभित्र गाउँसभाबाट विनियोजन भएको योजनाको उपभोक्ता समिति बनाइसक्ने, सम्झौता गर्ने, अनुगमन गर्नेलगायतका योजना छन्। काम एक रफ्तारमा अगाडि बढाउँछौं र आउने साल हामीले बैशाखभित्र सबै योजनाको काम फछ्र्यौट गर्छौं। नेचा सल्यान गाउँपालिकाको योजना सम्पादनको वर्षको रूपमा यस वर्षलाई मनाउने भनेर गाउँसभामा हामीले कार्यक्रम पनि प्रस्तुत गरेका छौँ। 

बोलेजस्तै तरिकाले व्यवहारले पनि पूरा होला र? पूरा हुने आधार के छ? 

अहिलेदेखि नै त्यसको योजना बनाएर अगाडि बढ्दा सकिँदैन भन्ने लाग्दैन। असार मसान्तभित्रै बजेट पास गरिसक्छौँ। निर्वाचनको अवस्था पनि छैन अहिले। साउनको पहिलो साता र दोस्रो साताभित्रै सबै योजना बनाउँछौँ– यो सालभित्र यो यो काम यो यो समयमा गरिसक्छौँ भनेर। हामीले अपेक्षा गरेका छौँ, विगतको जस्तो कर्मचारीको अभाव नहोला, मन्त्रालयको तहबाट कर्मचारी पठाउला पनि। यदि साउनभित्र कर्मचारी पठाएनन् भने यो शून्यताको अवस्थामा भने हामी रहँदैनौँ। कर्मचारी छैनन् भनेर बस्नेछैनौँ। हाम्रो तहबाट ऐनले व्यवस्था गरेअनुसारले अगाडि बढ्नेछौँ। 

गाउँपालिका अध्यक्षले समन्वय नगरेर एकाढंगले काम गरेको भन्दै कांग्रेसले गाउँपालिकामा ताला लागउनेसम्मको चेतावानी दिएको छ नि?

चेतावनी आउनु स्वाभाविक छ। विपक्षीले उठाएका विषयहरू हाम्रा लागि मार्गदर्शन हुन्, यदि सही कुरा आएका छन् भने। तर विरोधका लागि विरोध आएमा भने हामी महत्त्व दिँदैनौँ। नेपाली कांग्रेस गाउँ कार्यपालिका, गाउँभासमा, गाउँपालिकामा पनि हामीसँगै छ। कांग्रेसले दिने विषयहरू वार्षिक नीति तथा कार्यक्रम होस् या अन्य गाउँको विकास निर्माणसँग सम्बन्धित कुराहरू, जे भए पनि आफ्ना निर्वाचित प्रतिनिधिमार्फत् आउनुपर्छ। उहाँहरूले केही विषयहरू ल्याउनुभएको छ, त्यसको सम्बोधन भएकै छ। कुन पार्टीबाट कुन योजना आयो, त्यो हामीलाई थाहा हुँदैन। गाउँपालिकाको मुहार कसरी फेर्न सकिन्छ भनेर हामी लागिपरेका छौँ।

हिजो निर्वाचन नभएको बेला सर्वदलीय संयन्त्रका आधारमा चल्ने कुरा थियो, अहिले पनि त्यही हुनुपर्छ भन्ने कुरा आयो। निर्वाचित जनप्रतिनिधिको अधिकारमाथि हस्तक्षेप गर्ने कुरा कुनै पनि हालतमा स्वीकार्य हुँदैन। त्यसैले आफ्नो जनप्रतिनिधिमार्फत् आउनुहोस् भनें। दोस्रो कुरा तुइनटार लघुजलविद्युत आयोजनाको कुरा आयो, त्योचाहिँ हामी निर्वाचित भएर आएपछि पनि गर्न नसकेको काम हो। त्यसको सफाइको काम गर्दै हाम्रो समय बित्यो। हामी निर्वाचित हुनुपूर्व दुई दुईवटा समिति बनेका थिए। ऋण छ भनेको छ, कसरी ऋण पर्‍यो? हामी अप्राविधिक मान्छे, प्राविधिक मान्छे खोजी गर्दा अनुसन्धान गर्दै समय बित्यो। 

त्रिवेणी लघुजलविद्युत आयोजना, जो कांग्रेसका जिल्ला सचिव नै अध्यक्ष रहेको आयोजना हो। त्यसमा पनि गत वर्ष हामीले ४० लाख रुपैयाँ विनियोजन गरेका थियौँ तर सम्झौता हुन सकेन। उहाँहरू सम्झौता गर्न आउँदा हामीले गएको दुई तीन सालको अडिट रिपोर्ट ल्याउनुहोस्, अहिले भइरहेका कामहरूको ऋण छ भने ऋण, नाफामा छ भने नाफा र अब काम गर्नुपर्ने कामको आम भेलासहितको निर्णयले योजनासहित कार्यक्रम ल्याउनुहोस् अनि सम्झौता गरौँला भनेको हो। त्यो उहाँहरूले ल्याउन सक्नुभएन अनि हामीलाई धम्क्याएर, तर्साएर सम्झौता गरौँ भन्ने उहाँहरूको मानसकिता हो। मैले नेपालको राष्ट्रिय सम्पत्तिलाई अनावश्यक रूपमा दुरूपयोग गर्न दिनु हुँदैन। त्यसको नियन्त्रणका लागि मलाई अध्यक्षको रूपमा त्यहाँका जनताले जिताएका हुन्।

उहाँहरूले अन्तिममा सबै माग पूरा भयो, लेनदेन हुन्छ, एउटा त माग पूरा गरिदिनुहोस् भन्नुभयो। मैले म जनताबाट निर्वाचित मान्छे, तपाईंसँग सम्झौता गर्दिनँ, बिहीबारे बजारको प्रांगणमा गएर सार्वजनिक स्थलमा सबै जनताको बीचमा मेरो पनि कुरा राख्छु, तपाईंको पनि कुरा राख्नुहोस् अनि जनताले जे निर्णय गर्छन्, त्यही कार्यान्वयन गर्छु भने। त्यो ताला लगाउने कुरा सम्भव र सजिलो थिएन। 

आउने दिनमा हामी यी र यस्ता प्रश्न कुनै पनि हालतमा आउन नदिने गरी काम गर्छौं। अब हामी टेण्डरको प्रक्रियामा जान्छौँ। आवश्यक बजेट विनियोजन गरेर यो पार्टी, ऊ पार्टी नभनीकन सालैपिच्छे नयाँ समिति बनाउँछौँ। 

तपाईंको पनि केही न केही कमजोरी त होला नि? 

मेरो कमजोरी छ भने देखाइदिनुहोस् न। म तपाईंको मिडियामार्फत् भन्छु– नेचा सल्यान गाउँपालिकाभित्रका आमजनता र यो मिडियाको पहुँचमा भएका आमनागरिकसँग म के आग्रह गर्छु भने मैले व्यक्तिगत लाभ लिनका लागि जानीजानी कुनै पनि काम गर्दिनँ। भूलवस केही कमजोरी भएछ भने क्षम्य हुन्छ। माफ माग्न तयार छु। देखाउनुपर्‍यो नि यहाँ यहाँ यो यो कमजोरी भयो, पक्षपात भयो भनेर। भ्रष्टाचार भयो भने कहाँ कहाँ भयो? देखाउनुहोस्। कारबाही भोग्नका लागि गाउँपालिका टिम जनअदालतमा उभिन तयार छौँ। मात्रै आरोपका लागि लगाइएको आरोप हामी स्वीकार्दैनौँ।

राष्ट्रिय प्रसारण लाइनका लागि पनि विशेष बजेट व्यवस्था गरेका छौँ। यस वर्ष हामीले समपूरक कोष र विशेष कोष भनेर राखेका छौँ। प्रदेशले कति बजेट दिने, कुन योजनाका लागि कति सहयोग गर्ने? त्यसमा हाम्रो सोहीअनुसारको लगानी गर्ने अनि केन्द्रीय सरकारसँग पनि सोहीअनुसार लविङ गर्ने क्रममा छौँ। यसले गर्दा बजेट निर्माण गर्दा छुटेका क्षेत्रको समेत यसले समेट्न सहयोग गर्नेछ।

तपाईंले भन्नुभयो, तिङ्लादेखि नेचासम्मको सडकलाई कालोपत्रे गर्नुपर्‍यो भनेर माग राखे, त्यो सम्भव छैन, अब कसले पहल गर्ने त? 

अघिल्लो गाउँसभाबाटै स्तरोन्नति र कालोपत्रेका लागि निरन्तर पहल गर्ने भनेर हामीले वार्षिक नीति तथा कार्यक्रममै राखेका थियौँ। सोहीअनुसार हामीले प्रदेश सरकारले आवश्यक बजेट व्यवस्था गरोस् भनेर पहल गरिरहेका छाै‌ं। प्रदेश सरकारले पनि केही बजेट विनियोजन गरेको छ। हामीले पनि केही बजेट व्यवस्था गरेका छौँ। योचाहिँ तत्काल हुने कुरा होइन, निरन्तर हुन्छ। यसमा हामी लागिपर्छौं र परिरहेका पनि छौँ। गाउँको विकासमा हाम्रो पनि चिन्ता छ। सदरमुकामदेखि गाउँपालिकासम्म हिउँद–वर्षा बाह्रै महिना सरर गाडी संचालन होस् भन्ने कसको मन छैन र? हामी यस विषयमा गम्भीर छौँ। 

आर्थिक वर्ष २०७४/०७५ का योजना कार्यान्वयनलाई हेर्दा कति सन्तुष्ट हुनुहुन्छ?

विद्युतको क्षेत्रमा विनियोजित बजेटको प्रगति शून्य रह्यो। अन्यचाहिँ सम्झौता भएका योजनाहरूको भुक्तानी र प्रगतिलाई हेर्दा हामी शत प्रतिशत सन्तुष्ट छौँ। 

अघिल्लो वर्ष यो यो कारणले गर्दा नेचा सल्यान गाउँपालिका अन्य स्थानीय तहभन्दा फरक भयो र यो कारणले गर्दा हामी अरूभन्दा अगाडि छौँ भनेर कसरी भन्न सक्छौँ?

हामी शत्रुतापूर्ण तरिकाले होइन, मित्रतापूर्ण तरिकाले अनुभव बाँड्नुपर्छ भन्ने हिसाबले सोलुखुम्बुसहित ओखलढुंगा, खोटाङ, उदयपुरका केही स्थानीय तहका प्रमुखसँग पनि समन्वय गरिरहेका छौँ। यसरी हेर्दा हामी नीतिगत हिसाबमा अगाडि छौँ। हामीले अहिलेसम्म २५ वटा कानुन तयार पारिसकेका छौँ।

अर्को कुरा, हामीले कृषिसँग सम्बन्धित कार्यक्रम, साहित्य, शिक्षा, सिर्जना, खेलकुदलागयतलाई प्रोत्साहन गर्ने गरी विशेष कार्यक्रम नै संचालन गर्‍यौँ। हामीले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता संचालन गर्‍यौँ। अधिकतम विद्यालयलाई सहभागी गराउने उद्देश्यले नवनिर्मित खेल मैदानमा आयोजित उक्त प्रतियोगितामा सहभागी विद्यालयलाई २५ हजार रुपैयाँसम्म नगद सहयोग गर्‍यौँ। 

चालू आर्थिक वर्षका लागि विशेष कार्यक्रम के छन्?

यस वर्ष हामीले विशेष योजनाअन्तर्गत आउने असार मसान्तसम्म नेचा सल्यान गाउँपालिकाका प्रत्येक वडामा बिजुली बत्ती पुर्‍याउने हो। यो प्रतिबद्धता हाम्रो छ। हामी पूरा गर्छौं। विकासका लागि सबैभन्दा पहिला बिजुली पनि चाहिन्छ। हाम्रो गाउँपालिकाका जनता अँध्यारोमा बस्न बाध्य हुनुहुन्छ। उहाँहरूलाई उज्यालोमा राख्ने नै हाम्रो पहिलो विशेष कार्यक्रम हो।

कसरी सम्भवव छ यो?

तुइनटार लघुलविद्युत आयोजना संचालन गरेर वडा नम्बर ३ र ४ मा बत्ती पुर्‍याउनेछौँ। अर्को त्रिवेणी लघुजलविद्युत आयोजनामार्फत् वडा नम्बर १, २ र ५ मा पुर्‍याउनेछौँ। यस्तै, गाङ्क लघुजलविद्युत आयोजना पञ्चनसँग पनि बत्ती दिनुहोस् भनेर कुराकानी गरिरहेका छौँ। यसबाट हामीले अँध्यारोमा बसेकाहरूको घरघरमा बत्ती पुर्‍याउने योजना छ। यो सम्भव छ। 

फेरि राष्ट्रिय प्रसारण लाइनका लागि पनि विशेष बजेट व्यवस्था गरेका छौँ। यस वर्ष हामीले समपूरक कोष र विशेष कोष भनेर राखेका छौँ। प्रदेशले कति बजेट दिने, कुन योजनाका लागि कति सहयोग गर्ने? त्यसमा हाम्रो सोहीअनुसारको लगानी गर्ने अनि केन्द्रीय सरकारसँग पनि सोहीअनुसार लविङ गर्ने क्रममा छौँ। यसले गर्दा बजेट निर्माण गर्दा छुटेका क्षेत्रको समेत यसले समेट्न सहयोग गर्नेछ। अबका हाम्रा कार्यक्रमहरू रोजगारसँग केन्द्रित हुनेछन्। 

भनेपछि विगत जस्तो तालिम तथा कार्यक्रम नाममा सीमित हुँदैन?

विगत वर्षहरूमा पनि हामीले केही परिमार्जनचाहिँ गरेकै हो। अबचाहिँ हामी तालिममा सहभागीलाई भत्ताभन्दा पनि सहभागीलाई चाहिँ कुनै हतियार, यन्त्र, उपकरण दिएर पठाउने कि भन्ने सोचिरहेका छौँ। कृषिको तलिममा सहभागीलाई हँसिया दिने हो कि? सुन्तलाको हाँगा काट्ने उपकरण दिएर पठाउने हो कि? नीलोतुथो दिएर पठाउने हो कि? भनेर सोचिरहेका छौँ। अनि पटक पटक तालिममा बस्ने तर व्यवहारमा प्रयोग नगर्नेलाई निरुत्साहित गर्नेछौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.