कञ्चनपुर : कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापनका लागि लाखौं रुपैयाँ खर्चे पनि व्यवस्थापने कार्य प्रभावकारी हुन सकेको छैन। बजार क्षेत्र र पूर्व–पश्चिम राजमार्गमा छाडा चौपाया सडक नै कब्जा गरी बसेका हुन्छन्।
भीमदत्त, वेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका कार्यालयले छाडा चौपाया व्यवस्थापनका लागि करिब डेढ करोड रुपैयाँ खर्चे पनि व्यवस्थापन प्रभावकारी भएको छैन। चौपायाको मलमुत्रले बजार क्षेत्र दुर्गन्धित हुँदा पैदलयात्री यात्रुहरुले नाक थुनेर हिँडनु परेको छ। पशुबाट मानिसमा सर्ने जुनोटिक रोगको समस्या समेत बढेको छ।
सडक चौपायाले कब्जा जमाएर बस्दा ट्राफिक समस्यासँगै सडक दुर्घटना समेत बढेको छ। किसानले लगाएका अन्नबाली छाडा चौपायाले खाइदिने भएकाले रातभर जाग्राम बस्नु परेको किसानको गुनासो छ।
केही नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरेको दाबी गरे पनि गौशालामा चौपाया छैनन्। छाडा चौपाया व्यवस्थापनका लागि विनियोजन गरिएको बजेट छलफल, गोष्ठी र अनुगमनमै सकिएको स्थानीयको गनासो छ। केही नगरपालिकाले दाना, पानी र घाँसकै लागि ठूलो रकम सिद्धयाएका छन्। भारतले गाई गोरु खरिद बिक्रीमा लगाएको रोक र चरिचरनको अभावले छाडा चौपायाको समस्या सिर्जना भएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।