‘काबुलमा भएका कोही सुरक्षित छैनन्’

|

काठमाडौं : सोमबार काबुलमा भएको आक्रमणपछि मृत्यु भएका १२ नेपालीको शवसँगै काबुलमा कार्यरत २४ जना नेपाली स्वदेश फर्किएका छन्। परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने नेपालीका लागि विमानमा आउन सुविधा दिएपछि बुधबार बिहान पठाएको नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत उनीहरु स्वदेश फर्किएका हुन्।

स्वेदश फर्किनेमा नुवाकोटका पूर्णबहादुर गुरुङ, रौत तामाङ, सुवास तामाङ, रत्नबहादुर तामाङ, विक्रमप्रसाद तामाङ, प्रेम तामाङ, ईन्द्र तामाङ, लालबहादुर तामाङ, आइतसिंह तामाङ रहेमा छन्। त्यसैगरी कास्कीका बेलप्रसाद गुरुङ, मणिराम खनाल, पूर्णबहादुर गुरुङ, खेमबहादुर गुरुङ, भगवान बञ्जारा, प्युठानका विक्रम विष्ट, मोरङका खुसीलाल धिमाल, सुनसरीका वीरबहादुर खत्री, तनहुँका केयरसिंह राना, काभ्रेका श्यामबहादुर तामाङ, काठमाडौंका नवराज खड्गी, चमकसिंह राई, चितवनका सत्यनारायण श्रेष्ठ, पाल्पाका मानबहादुर थापा, गोरखाका दुर्गा लामा रहेका छन्।

अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणपछि पारिवारिक चिन्ता र दबाबका साथै असुरक्षाका कारण स्वदेश फर्किएका नुवाकोटका सुवास तामाङले काबुल कसैका लागि सुरक्षित नभएको बताए। ‘ड्युटीका बेला सबै हतियारसहित बस्छन्, सुरक्षित नै छन् तर बाटोमा हिड्दा सार्वजनिक बसमा हिड्नुपर्छ, त्यसैले त्यहाँ कोही सुरक्षित छैनन्’, थाहा खबरसँग उनले भने।

रोजगारीका सिलसिलामा एक वर्षअघि तामाङसँगै काबुल पुगेका उनका भिनाजु डम्बर तामाङको भने आक्रमणको क्रममा मृत्यु भएको छ। ‘असुरक्षित ठाउँमा पैसाका लागि ज्यानको बाजी थापेर धेरै समय बस्नुहुन्न, हामी दशैँमा घर फर्किनुपर्छ’ आइतबार बेलुकी मृतक डम्बरले सुवाससँग भनेका थिए।

त्यसैगरी काभ्रेका श्यामबहादुर तामाङले ज्यानको बाजी थापेर विदेशी मुलुकमा पसिना बगाउनुका सट्टा स्वदेशमा व्यापार व्यवसाय गर्नुपर्नेमा जोड दिए। उनले पनि काबुलमा कोही सुरक्षित नभएको प्रतिक्रिया दिँदै त्यहाँ भएका झण्डै ५ सय नेपालीलाई स्वदेश फर्काउन सरकारले पहल थाल्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.