|

काठमाडौं : काठमाडौंका निजी स्कुलमा बम राख्ने घटनाका मुख्य योजनाकार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। दोलखा खोपाचागुका प्रकाश भनिने केशव दाहाल र काभ्रे देउपुरका मीन देवकोटालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी प्रतापसिंह थापाका अनुसार उनीहरुको उद्देश्य नै नै चन्दा उठाउने भएकोले आंतकित बनाउन स्कुलमा बम राखेको बताए। ‘विद्यालय जस्तो संवेदनशील क्षेत्रमा आंतक मच्चाउदा धेरै प्रभाव पर्ने भएकाले विद्यालयमा बम राख्ने काम गरेका रहेछन्’, उनले भने।

पक्राउ परेका दाहाल माओवादी कम्युनिष्ट केन्द्र नेपाल पार्टीका महासचिव हुन् भने थापा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रका संयोजक हुन्। 

उनीहरुकै बयानको आधारमा प्रहरीले दुई वटा ग्यास सिलिण्डर, विस्फोटक पदार्थ, पार्टीका कागजपत्रहरु बरामद गरेको छ। बम विस्फोटका मुख्य योजनाकार देवेन्द्र सिंह महता भने फरार रहेको प्रहरीले जनाएको छ। 

दाहाल पटके अपराधी?

पक्राउ परेका प्रकाश भनिने केशव दाहाल र मिन देवकोटा भनिने विनोद थापा पटक पटक अपराध गरेर जेल सजाय पाएका पटके अपराधी रहेको प्रहरीले जनाएको छ। 

दाहाल यसअघि २०७० कार्तिकमा कलंकीबाट यार्सागुम्बा लुट्ने काममा पक्राउ परेका थिए। उनीसहित चार जनाले मानबहादुर चमारको यार्सागुम्बा लुटेपछि उनीहरुलाई जवरजस्ती चोरी मुद्दा चलाइएको थियो। 

दाहाललाई २०६६ सालमा सुरेन्द्र लम्साललाई अपहरण गरी तीन करोड रुपैयाँ फिरौती माग गरेको, २०६६ सालमै नयाँ पाटी सुन्दरीजलमा बस विस्फोट गराएको, २०७० सालमा चितुवाको छाला र गैंडाको खाग तस्करीको अभियोगमा र सात पटक विभिन्न सार्वजनिक अपराधमा प्रहरीले पक्राउ गरेको थियो।

विद्यालयमा अनियमितता हुने गरेको आरोप लगाएर चन्दा माग्दा सजिलै पैसा आउने देखेपछि उनीहरुले माओवादी कम्युनिष्ट केन्द्र नेपाल नामको पार्टी गठन गरेका थिए।

देवेन्द्र सिंह महताको अध्यक्षतामा पार्टी गठन भएपछि उनीहरुले प्याब्सनको नाममा विभिन्न नौ वटा माग राखेर विद्यालयहरुलाई ज्ञापनपत्र बुझाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। 

विद्यालयहरुले वास्ता नगरेपछि दबाबका लागि २०७३ साउन ६ गते डल्लुमा आइडल मोडल स्कुलको बा २ ख ४६९ नम्बरको बसमा आगजनी गरेको अपराध महाशाखाका डिएसपी रमेश थापाले बताए। 

‘उनीहरुले दबाबकै लागि गाडीमा आगजनी गरेका थिए’, थापाले भने– ‘तर विद्यालयहरुले वास्ता नगरेपछि बम विस्फोटको योजना बनेको रहेछ।’

गत भदौं २५ गते टोखामा रहेको देवेन्द्र सिंह महताको कोठामा बसेर उनीहरुले छलफल गरेका थिए। छलफलमा बम विस्फोटको योजना बनेको थियो। नौ जनाको समूहमा छलफल गरेर उनीहरुले जिम्मेवारी बाँडफाँड गरेर व्यवस्थापनको जिम्मेवारी समेत खुलाएका थिए।

योजना अनुरुप नै असोज ४ गते विहान दुई बजेको समयमा विद्यालयमा विस्फोटक पदार्थ राखेर पार्टीका केन्द्रीय स्तरका नेताहरु काठमाडौं बाहिर लागेका थिए।

कसरी पक्राउ परे?

घटना भएकै दिन प्रहरीले भाग्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको थियो। शंकर लाखे र चन्द्रबहादुर तामाङलाई विस्फोटकै दिन पक्राउ गरेको हो। 
उनीहरुकै बयानका आधारमा सर्लाही मंलगवाका मुस्तकिम अन्सारी र सप्तरी फत्तेपुरका विष्णु पौडेललाई पक्राउ गरेको थियो। यीनै चार जनाको बयान र प्रहरीले पाएको सुराकको आधारमा बिहिबार योजनाकार दुई जना पक्राउ परेका हुन्। 

विस्फोटका मुख्य योजनाकार महता, चन्द्रिका श्रेष्ठ र सुजन श्रेष्ठ भने अझै फरार रहेको प्रहरीले जनाएको छ। उनीहरुको खोजी भइरहेको काठमाडौं प्रहरी प्रमुख विक्रमसिंह थापाले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.