|

मनाङ : विश्वमा नेपालको नयाँ परिचय थप्ने अर्को नेपालको सम्पदाको रूपमा मनाङको ताम्राङ झोलुंगे पुल बनेको छ। वि.सं. २०७२ मा निर्माण भएको ड्रोना खोलामा पर्ने यो पुल विश्वकै पाँचौँ अग्लो पुलमा पर्छ भने दक्षिण एसियाको पहिलो नम्बरमा। 

यस पुलको उचाइ खोलाको पानीको सतहदेखि ४१२ मिटर रहेको र लम्बाइ १३५ मिटर रहेको एक सर्वेक्षणले देखाएको छ। भदौ १७ गते मनाङका पत्रकारको नेतृत्वमा नासों गाउँपालिकाका इन्जिनियर सुभास पान्डेयलगायतका प्राविधिक टोली र धारापानी प्रहरी चौकीका प्रहरी टोलीको सहयोगमा गरिएको सर्वेक्षणले यस पुलको वास्तविक उचाइ पत्ता लगाएकोे हो। यस टोलीको मापनले निकालेको उचाइले यस पुललाई विश्वको पाँचौँ अग्लो पुलमा पर्ने देखाएको हो।

२०७२ सालमा निर्माण भए तापनि यस पुलको वास्तविक उचाइ सार्वजनिक भएको थिएन। हालसम्मको जानकारीलाई हेर्ने हो भने सबैभन्दा अग्लो चीनको डुंगे व्रिज ५६५ मिटर अग्लो छ।  दोस्रो सिदु रिभर व्रिज, तेस्रो पुल्ली व्रिज र चौथो एची रिभरको व्रिज क्रमशः ४९६, ४८५ र ४३४ मिटर उचाइ रहेको छ। अहिलेसम्म विश्व रेकर्डमा रहेको पाँचौँ नम्बरमा पर्ने सुपेनेसन कुङसी रिभरको पुलको उचाइ जम्मा ४०६ मिटर मात्र रहेको छ। 

यी सबै पुलहरू चीनमा पर्ने भएकाले नेपालको मनाङ जिल्लामा रहेको यो ताम्राङ पुल दक्षिण एसियाकै पहिलो नम्बरमा पर्छ। यस तथ्यलाई आधार मान्दा यो पुल दक्षिण एसियाको पहिलो स्थानमा र विश्वको पाँचौँ स्थानमा पर्छ।

हालसम्म नेपालको अग्लो झोलुंगे पुल भनेर चिनिएको पर्वत कुश्माको पुलको उचाइ जम्मा १६६ मिटर रहेको छ। आजसम्ममा थाहा नभएको यस ताम्राङ पुलको उचाइ ४१२ मिटर रहेको नासों गाउँपालिकाका इन्जिनियर सुभास पाण्डेयले जानकारी दिए।

उक्त पुलले नासों गाउँपालिका- २ नाचे गाउँ र वडा नं.- ८ थोचे गाउँ  जोड्छ। ड्रोना खोलामा बनेको यो पुल हालसम्म कति उचाइमा छ र यसको वास्तविक उचाइ कति हो? कसैलाई जानकारी नभएको नासों गाउँपालिका- २ का वडा अध्यक्ष भीमबहादुर गुरुङले बताए। विकट जिल्ला, त्यसमा पनि कसैले चासो नदिएको हुनाले इतिहासमा पछाडि परेको उनको भनाइ छ।

मोटर बाटो निर्माण नहुँदा दुई गाउँ जोड्नका लागि निर्माण गरिएको यो पुल नेपालकै महत्त्वपूर्ण सम्पदा भएको स्थानीय बताउँछन्। मनास्लु पदमार्गमा पर्ने यो झोलुंगे पुल लार्के पास र भोटामा नुन लिन जाने पुरानो मार्ग पनि हो।

खोलामा पुल नहुँदा धेरै सास्ती भएको हुनाले यस पुलको निर्माण गरिएको नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए। । आफ्नै ठाउँमा भएको महत्त्वपूर्ण सम्पदाको पहिचान नखुलेकामा गुनासो गर्दै उनले मनाङको यस पुललाई विश्वको रेकर्डमा  राख्न सम्बन्धित पक्षसँग अपिल गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.