ऋषि भन्छन्, प्रेम गर्ने जोडीले हेर्नैपर्ने फिल्म

|

काठमाडौं : शुक्रबार नजिकिँदै छ, रिलिजको लागि फिल्म पनि तम्तयार छन्। सातामा दुई फिल्म लाग्नु त सामान्य भइसकेको छ। सोलो रिलिजको मौका पाउनु त भाग्यको कुरा।

यो साताको शुक्रबारबाट तीन नेपाली फिल्म प्रदर्शनमा आउँदै छन्। 'अनुराग', 'कथा काठमाडौं' र 'छिरिङ्ग'। तीनवटै फिल्मले प्रचार प्रसारलाई तीव्र पारिरहेका छन्। मिडियामा आएर फिल्मको बारेमा बोल्न भ्याई-नभ्याई छ, कलाकार तथा फिल्म मेकरहरूलाई।

यस्तैमा प्रचारमा जोडसँग लागिपरिहेको फिल्म हो 'अनुराग'। पत्रकार ऋषि धमला प्रस्तुतकर्ता रहेको यस फिल्मबाट दुई कलाकार एलिजा गौतम र समुन्द्र पण्डितले डेब्यु गर्दै छन्। म्युजिकल लभ स्टोरी फिल्म 'अनुराग'लाई सत्यराज चौलागाईंले निर्देशन गरेका छन्।

अत्यन्तै व्यस्त देखिने पत्रकार ऋषि धमला पनि फिल्मको प्रचारमा जोड दिएर हिँडिरहेका छन्। मिडियमामा अन्तर्वार्ता दिनेदेखि आफ्ना-आफन्त तथा साथीहरूसँग पनि आफ्नो फिल्मको प्रचार गरिरहेका हुन्छन्। फिल्मका मुख्य कलाकार नयाँ भएका कारण पनि फिल्मले प्रचारलाई व्यापक बनाइरहेको छ। नायिका एलिजा गौतम ऋषि धमलाकी पत्नि हुन्। एलिजालाई ऋषि धमलाकै कारण पनि धेरै दर्शकले चिनिरहेका छन्।

नायिकाहरू विवाह गरेपश्चात् फिल्म क्षेत्रबाट टाढा रहन्छन्। तर, ऋषि धमलाले भने दुई सन्तानकी आमा बनिसकेकी आफ्नी श्रीमतीलाई फिल्ममा डेब्यु गराएका छन् त्यो पनि आफैँ फिल्म निर्माण गरिदिएर। पत्रकार तथा फिल्मका प्रस्तुतकर्ता ऋषि धमला भन्छन्, 'एलिजाको सुरुदेखिकै रुचिको विषय फिल्म भएका कारण उनलाई समर्थन गर्दै आफैले फिल्म निर्माण गरेर यस क्षेत्रमा प्रवेश गराएको हुँ।'

एलिजाले पनि आफ्नो सानैदेखि फिल्ममा आउने सोच भए पनि विवाह भइसकेपछि सेटल भएर मात्र फिल्म क्षेत्रमा आउने निर्णय लिएको बताइन्। 'फिल्म क्षेत्रमा आउने त सानैदेखिको सोच थियो', उनले भनिन्, 'तर मेरो छिट्टै विवाह भएका कारण परिवारलाई सेटल गरेर मात्र यस क्षेत्रमा आउने सल्लाह भएपछि बल्ल यस क्षेत्रमा आएकी हुँ।' एलिजा अब निरन्तर यस क्षेत्रमा रहेर काम गर्ने बताउँछिन्।

के श्रीमतीको रहर पूरा गरिदिन फिल्म बनाउनु भएको हो? पत्रकारको यो पश्नमा ऋषि भन्छन्, 'हैन, उहाँलाई अन्य फिल्मबाट पनि अफरहरू आएका थिए। तर, डेब्यु फिल्म राम्रो हुनुपर्‍यो भनेर नगरेको थियो। पछि यस फिल्मको कथा एकदमै मन पर्‍यो त्यसैले आफैँले निर्माण गरेको हुँ।'

फिल्मको छायांकनमा आफूले धेरै दु;ख खेप्नुपरेको नायिका एलिजा बताउँछिन्। 'फिल्मको सुरुवाती काम गर्दा मेरो छोरा दुई महिनाको थियो', भावुक हुँदै उनी भन्छिन्, 'सुटिङमा जाँदा छोरा ६ महिनाको थियो। छेउमा छोरा रोइरहेको हुन्थ्यो। म उता टेक दिइरहेकी हुन्थेँ। त्यो बेला मेरो मन के हुन्थ्यो होला सोच्न पनि सक्दिनँ!' एलिजाको आँखा रसाउँछन्।

सानैदेखि फिल्ममा अभिनय गर्ने सोच भएकी एलिजा आफ्नो सपना पूरा भएको बताउँछिन्। 'मेरो सपना बल्ल पूरा भएको छ। परिवार पनि सेटल भइसकेको छ। अब भने लगातार फिल्म क्षेत्रमा नै काम गर्नेछु।' उनी अब बाहिरी व्यानारबाट आएको अफरहरु पनि स्कृप्ट हेरेर काम गर्ने तर्क राख्छिन्।

फिल्म निर्माण पहिलोपटक हात हालेका धमलाले फिल्मको निर्माण खर्च झन्डै दुई करोड पुगेको दाबी गरे। उनी भन्छन्, 'मैले यति खर्च होला भनेर सोचेको पनि थिइनँ।'

फिल्मको गीत र ट्रेलरलाई दर्शकले रुचाएका पनि छन्। त्यहाँ धेरै सकरात्मक प्रतिकृया पनि पाइरहेको छ। जसले गर्दा फिल्मलाई लिएर नायिका एलिजा तथा प्रस्तुतकर्ता धमला एकदमै उत्साहित छन्। दर्शकले गीत र ट्रेलरलाई राम्रो भन्नुभएको छ', एलिजा भन्छिन्, 'फिल्म पनि राम्रो बनेको छ त्यसैले सफल हुनेमा विश्वस्त छु।' ऋषि धमला प्रेम गर्ने जोडीले यो फिल्म हेर्नै पर्ने फिल्म भएको बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.