'मलाई यो स्थान दिने अन्दाज नै हो’

|

काठमाडौं : फिल्म ‘अन्दाज’बाट फिल्म क्षेत्रमा इन्ट्री मारेका नायक हुन्, सविन श्रेष्ठ। करिअरको सुरुवाती दिनमा निकै सफल सविन पछिल्लो समय भने फिल्ममा सफलता भन्दा पनि असफलताको ट्याग बढी पाइरहेका छन्। पछिल्लो समय प्रदर्शनमा आएका उनका फिल्मले बक्स अफिसमा प्रभाव जमाउन सकेका छैनन्।

अभिनयमा एकदमै रुचि भएका सविन फिल्ममा काम गर्नुपूर्व सिरियल तथा म्युजिक भिडियोमा काम गर्थे। उनले ‘काठमाडौं’, ‘घरबेटी बा’लगायत सिरियलमा काम गरिसकेका थिए भने दर्जन बढी म्युजिक भिडियोमा पनि उनले आफ्नो अभिनय पस्किसकेका थिए।

निर्देशकको चिनजानमा फिल्म

अन्दाज फिल्मका निर्देशक उज्ज्वल घिमिरेसँग सविनको राम्रो चिनजान थियो। एक दिन उज्ज्वलले सविनलाई फोन गरेर भेट्न बोलाए। सविन पनि भेट्न गए। उज्ज्वलले सविनलाई ‘सिम्पल सिम्पल’ गीत सुनाए अनि सोधे, ‘गीत कस्तो लाग्यो?’ सविनले पनि गीत राम्रो भएको उत्तर दिए। उज्ज्वलले अर्को गीत पनि सुनाए। गीत राम्रो नै थियो।

त्यसबेलासम्म उज्ज्वलले किन गीत सुनाएका हुन् भन्ने कुरामा अनभिज्ञ थिए सविन। सविन भन्छन्, ‘गीत सुनाउनुभयो तर किन हो, थाहा थिएन।'

उज्ज्वलले सविनलाई छविराज ओझाको अफिसमा भेट्न बोलाएका थिए। सविन र उज्ज्वलको गफ सकिएपछि उज्ज्वलले सविनलाई छविराज ओझासँग भेट्न भित्र लिएर गए। छविको अगाडि पुगेर उज्ज्वलले भने, ‘मैले भनेको हाम्रो हिरो उही हो', सविन छक्क परे। ‘अरे! म पनि फिल्म खेल्ने?’, उनीमा खुसीको सीमा थिएन।

सविनले त्यही फिल्ममा साइन गरे। फिल्ममा त्यस बेलाको स्टार कलाकार रेखा थापा र जीवन लुइँटेल पनि मुख्य भूमिकामा अनुवन्धित थिए। त्यो कुराले सविनलाई झनै उत्साहित बनाइदियो। सविन भन्छन्, ‘म आफैँ उहाँहरूको फ्यान थिएँ। उहाँहरूसँग काम गर्न पाउँदा निकै खुसी भएको थिएँ।‘

पहिलो टेकमा नै ओके भएको पहिलो सिन

फिल्म सुटिङको पहिलो दिन अनि पहिलो टेक। फिल्मका मुख्य तीन कलाकार रेखा, जीवन र सविनको एक सिन खिच्नुपर्ने थियो। तीनै जनाले बोल्नुपर्ने डाइलग पनि थियो। सुरुमा सविन निकै नर्भस थिए। कताकता डर लागिरहेको थियो। ‘सुरुमा त एकदमै नर्भस थिएँ’, सविन भन्छन्, ‘पछि उज्ज्वल दाइले निकै हौसला दिनुभयो अनि सटको लागि तयार भएँ।‘

पहिलो सिन नै पहिलो टेकमा नै ओके भयो। सबैले सविनले राम्रो गरेको प्रतिक्रिया दिए। सविनलाई काम गर्न थप हौसला मिल्यो।

‘अन्दाज’ले दिएको यो स्थान

अन्दाज एकदमै हिट भयो। सविनको चर्चा पनि उत्तिकै भयो। उनले त्यस फिल्मबाट नवनायकको अवार्ड पनि थापे। उनी भन्छन्, ‘पहिलो फिल्मले नै मलाई सफलताको बाटो देखाइदियो।‘

त्यसपश्चात् उनले लगातार फिल्ममा काम गरे। करिअरको सुरुवाती दिनहरूमा धेरै फिल्महरू सफल पनि भए। उनी भन्छन्, ‘मलाई यो स्थान दिने वा सविन श्रेष्ठ भनेर चिनाउने अन्दाज नै हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.