|

काठमाडौं : नेपाली कांग्रेसको प्रस्तावित विधानमा सभापतिलाई शक्तिशाली नबनाउन सुझाव आएका छन्। तर अर्धसामूहिक नेतृत्वमा चल्दै आएको पार्टीमा सभापतिलाई शक्तिशाली बनाउँदै एकल नेतृत्वमा लैजानुपर्ने प्रस्तावलाई प्राथमिकतामा राखिएको छ। सभापतिको काम, कर्तव्य र अधिकारमा सभापतिलाई निकै शक्तिशाली बनाउने प्रयास गरिएको छ।

सुझावका लागि उक्त प्रस्तावित विधानलाई सातै प्रदेशमा लैजाँदा पार्टीका तल्लो स्तरका नेताहरूले सभापतिलाई सबै अधिकार दिन नहुने धारणा राखेका छन्। पार्टीभित्रकै कतिपय नेताहरूले विधानमा राखिएको प्रस्तावमा असन्तुष्टि राखिरहेका बेला प्रदेशमा भएको विधानमाथिको सुझाव संकलनमा पनि नेताहरूले यसरी सभापतिलाई सबै अधिकार दिन नहुने धारणा राखेका हुन्।

जिल्ला सभापति, सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, सांसदलगायतको उपस्थितिमा भएको सुझाव संकलनमा सहभागीले सभापतिलाई निरंकुश बनाउने गरी विधान ल्याउन नहुने बताएका थिए।

सभापति शेरबहादुर देउवा समूह सभापतिलाई शक्तिशाली बनाउन चाहन्छ। विधान मस्यौदा समितिका एक सदस्यका अनुसार संस्थापन पक्षको बलजफ्तीमा विधानमा सभापतिलाई शक्तिशाली बनाउन खोजिएको थियो। विधानअनुसार सभापतिले केही पदाधिकारी मनोनीत गर्न पाउने उल्लेख गरिएको छ। यस्तै, वैकल्पिक प्रस्तावमा १० जना पदाधिकारी राख्ने र सबै पदाधिकारी सभापतिले मनोनीत गर्न पाउने उल्लेख छ। सभापति प्रतिनिधिसभा सदस्य भएको खण्डमा स्वतः संसदीय दलको नेता हुने पाउने प्रस्ताव विधानमा छ।

उक्त प्रस्ताव सभापति देउवाले आफू निकटका नेताबाट मस्यौदामा राख्न दबाब दिएको मस्यौदा समितिका एक सदस्यले थाहाखबरलाई जानकारी दिए। सभापतिलाई यसरी शक्तिशाली बनाउने प्रस्ताव संरचना उपसमितिले ल्याएको हो। उक्त समितिका संयोजक फरमुल्लाह मन्सुर हुन्। उनी सभापति देउवा निकटका मानिन्छन्। उनले सभापतिको निर्देशनमा उक्त प्रस्ताव ल्याएको आरोप संस्थापनइतर समूहको आरोप छ। ‘उहाँ (मन\सुर) सभापतिको मान्छे। उहाँ नै संरचना उपसमितिको संयोजक पनि’, सभापतिइतरका एक नेताले भने, ‘यो सभापतिको निर्देशनमा आएको प्रस्ताव हो।’

त्यसबेला छलफलमा लैजाने ड्राफ्ट मात्र भएका कारण पनि खासै छलफल नभएको भन्दै अब यी विषयमा गम्भीर रूपमा छलफल हुने उनले बताए।

‘अहिलेसम्म त खदासै गम्भीर छलफल भएका छैन। हामीले सुझाव संकलनको काम सकेका छौँ’, उनले भने, ‘सुझाव पनि सबैको एकै प्रकारको छ। सभापतिलाई अहिलेको अवस्थामा शक्तिशाली बनाउनुहुँदैन भन्ने सुझाव आएको छ। अबचाहिँ विधान मस्यौदा समितिमा साँच्चिकै गुट देखिन्छ। अब हुने छलफल नेताको निर्देशन लिएर आउँछन्।’

सातै प्रदेशमा भएको छलफलमा नेताहरूले केन्द्रीय पदाधिकारी निर्वाचित गर्नुपर्ने धारणा राखेका थिए। सबै पदाधिकारी मनोनीत गर्दा सभापति निरंकुश हुने भएकाले निर्वाचित नै हुनुपर्ने सुझाव आएको विधान मस्यौदा समिति सदस्य दिलेन्द्रप्रसाद बडूले बताए।

‘सबैथरिका सुझाव आएका छन्। विशेष गरेर सबै पदाधिकारी निर्वाचित गर्नुपर्ने वा अहिलेको जस्तै केही मनोनीत र केही निर्वाचित गर्नुपर्ने सुझाव आएको छ’, उनले भने, ‘तर मनोनीत गर्दा अहिलेको जस्तो अप्ठ्यारो परिस्थितिचाहिँ राख्न नहुने विचार आएको छ। सभापतिले केही पदाधिकारी मनोनीत गर्दा दुई महिनामा गर्नुपर्ने दुई वर्षमा पनि भएको अवस्था छैन। यसलाई हटाउन सभापतिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लानु नपर्ने व्यवस्था गर्न सुझाव आएको छ।’

यस्तै, सदस्यता पनि सहज रूपमा पाउनुपर्ने र त्यसको अभिलेख प्रष्ट रूपमा राख्नुपर्ने धारणा आएको उनी बताउँछन्। ‘विशेष गरेर क्रियाशील सदस्यतालाई सहज बनाइनुपर्ने धारणा पनि आएको छ। सबैभन्दा तल्लो तहको सिफारिसमा क्रियाशील सदस्यता वितरण गर्नुपर्ने सुझाव आएको छ’, उनले भने, ‘यसरी क्रियाशील सदस्य वितरण गर्दा नेताको भोटको स्वार्थ मात्र हेर्नुहुँदैन। निर्वाचनमा त्यो क्रियाशील सदस्यले कांग्रेसमा भोट हाल्छ कि हाल्दैन भन्ने अभिलेख पनि राख्नुपर्ने धारणा आएको छ।’

यस्तै, पार्टीलाई बलियो बनाउन निर्वाचनमा तल्लो तहकालाई पनि उम्मेदवार सिफारिस गर्ने अधिकार दिनुपर्ने सुझाव आएको विधान मस्यौदा समिति सदस्य प्रदीप पौडेलले जानकारी दिए। ‘सबै तहलाई अधिकार सम्पन्न बनाइनुपर्छ भन्ने सुझाव आएको छ’, उनले भने, ‘विशेष गरेर तल्लो तहले नै उम्मेदवार पनि सिफारिस गर्न पाउनुपर्छ भन्ने धारणाहरू पनि आएका छन्। यसले गर्दा तल्लो तहमा कार्यकर्तासँग भिजेको उम्मेदवार आउने सम्भावना रहन्छ।’

यसरी आएका सुझावहरूलाई अब मस्यौदा समितिले तयार पारेर केन्द्रीय कार्यसमितिलाई बुझाउने सदस्य बडूले जानकारी दिए। ‘हामी अब आएका सुझावलाई सकेसम्म फाइनल गरेर केन्द्रीय कार्यसमितिमा बुझाउँछौँ। नसके पनि विकल्पसहित सर्वसम्मत रूपमा हामी यो मस्यौदालाई केन्द्रीय कार्यसमितिमा बठाउँछौँ’, उनले भने, ‘त्यसपछि केन्द्रीय कार्यसमितिमा छलफल हुन्छ र महासमितिमा प्रस्तुत गर्नका लागि फाइनल गरिन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.