|

काठमाडौं : दीपाश्री निरौला नेपाली फिल्म क्षेत्रकी सर्वाधिक सफल निर्देशकमा पर्छिन्। उनको निर्देशनमा तयार भएको फिल्म छक्का पञ्जा नेपाली फिल्म इतिहासकै सर्वाधिक कमाइ गर्ने फिल्ममा पर्छ। उनको निर्देशनमा तयार भएको फिल्म छक्का पञ्जा २ पनि सफल फिल्ममा पर्छ।

असोज २४ गते घटस्थापनाको दिनबाट दीपाश्री निरौला निर्देशित तेस्रो फिल्म छक्का पञ्जा ३ रिलिज हुँदै छ। निर्माण युनिट जोड तोडले प्रचारमा लागिरहेको छ। फिल्मको प्रचार साम्रागीमा आएको प्रतिक्रिया र दर्शकले फिल्मलाई गरेको प्रतिक्षाबाट निर्माण युनिट एकदमै उत्साहित देखिन्छ।

दीपाले यस फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तमाङ, दीपिका प्रसाईं लगायतलाई एक्सन काट गरेकी छिन्। उनै निर्देशक दीपाश्री निरौलासँग फिल्मका यी मुख्य कलाकारको बारेमा हामीले कुराकानी गरेका छौं। दीपाश्रीको नजरमा कस्ता छन् त यी पाँच कलाकार?

दीपकराज गिरी

दीपकराज गिरी बहुप्रतिभावान व्यक्ती भएको दीपाश्रीले बताइन्। दीपको अभिनय र लेखन एकदमै राम्रो भएको दीपाश्रीको भनाइ छ। 'दीपकराज एउटा यस्तो हिरो हो, जसले उमेरलाई मध्यनजर नगरी क्यारेक्टरलाई न्याय गर्नतिर लागेको छ। ऊ अभिनयको राजा हो', उनी भन्छिन्, 'लेखन त उसको सबैभन्दा बलियो पक्ष हो।' पछिल्लो समय दीपको नृत्य पनि राम्रो हुदै गएकोले दीपा खुसी छिन्।

दीपकराजको एउटा खराब बनी भनेको समयमा पक्का छैनन् रे। 'दीपकराजको खराब बानी भनेको नै सुटिङमा ढिला आइपुग्ने हो', दीपा भन्छिन्, 'ढिला आउने भएकै कारण उसले धेरैपटक मेरो गाली खाएको छ।'

केदार घिमिरे 'माग्ने बुढा'

दीपाश्री केदार घिमिरेलाई नेपाली फिल्म क्षेत्रले पाएको जीवन्त कलाकार भन्न रूचाउँछिन्। केदार आफ्नो काममा एकदमै ध्यान दिन्छन् रे। आफ्नो भूमिकालाई के र कसरी गर्दा राम्रो हुन्छ भन्ने कुरालाई सधैँ दिमागमा राख्छन्। 'यसो गर्दा राम्रो हुन्छ कि, उसो गर्दा पो राम्रो हुन्छ कि। धेरै विकल्प उसको दिमागमा हुन्छ', दीपाश्री भन्छिन्, 'कहिले काही त मलाई अलमल्ल पारिदिन्छ।' माग्ने आफ्नो भूमिकालाई एकदमै न्याय गर्ने मान्छे भएको दीपाश्रीको भनाइ छ।

कुनै कुरा सोच्दै गर्दा भने उनी आफ्नो काम बिर्सिन्छन्। 'कुनै पनि कुरा सोचेर बस्यो भने उसले सबै कुरा बिर्सिन्छ', दीपा भन्छिन्, 'घोरिएपछि त उसलाई क्यारेक्टरमा ल्याउँन असाध्यै गाह्रो हुन्छ।'

जितु नेपाल

जितु हरेक किसिमको भूमिकालाई निर्वाह गर्न सक्ने कलाकार भएको दीपाले बताइन्। उनले भनिन्, 'जितु मुन्द्रोको क्यारेक्टरबाट माथि आएको मान्छे। तर उसले मुन्द्रेको जस्तो क्यारेक्टर मात्र हैन् धेरैवटा भूमिका निर्वाह गर्न सक्छ।' जीतुमा हसाउने मात्र हैन गम्भीरदेखि डरलाग्दो भूमिकालाई पनि न्याय गर्ने क्षमता छ।

दीपाश्रीका अनुसार जितु हडबडैया छन्। जितु हरेक कुरा छिट्टो गर्न चाहन्छन्। 'जितु एकदमै हडबडे छ। हरेक कुरालाई टाकटुक पारेर सकौँ न भन्छ', दीपा भन्छिन्, 'त्यो कुरमा उसले धेरै गाली खाएको छ मेरो।'

बुद्धि तमाङ

बुद्धि एकदमै राम्रो अभिनय गर्न सक्ने कलाकार भएको दीपाको तर्क छ। दीपका अनुसार बुद्धिले पनि उनको भूमिकालाई एकदमै न्याय गर्न सक्छन्। दीपा भन्छिन्, 'हैट एकदमै राम्रो कलाकार हो। उसले आफ्नो भूमिकालाई मज्जाले न्याय गर्न सक्छ।' उसको नराम्रो पक्ष त खासै नभएको दीपा बताउछिन्। 'लिड हिरो पनि बनिसकेको मान्छे नृत्यमा चाहिँ सुधार ल्याउनुपर्ला।'

दीपिका प्रसाईं

दीपिका एकदमै सुन्दरी नायिका भएको दीपाश्री निरौलाले बताइन्। 'दीपिका एकदमै क्युट, सुन्दरी नायिका हुन्। उनको उचाई पनि एकदमै राम्रो छ', दीपा थप्छिन्, 'हामीसँग गर्ने व्यवहार तथा उनको बोली बचन एकदमै राम्रो छ।' दीपका अनुसार दीपिका नेपाली फिल्म क्षेत्रले पाएको एक सुन्दर उपहार हो।

दीपिका नृत्यमा कमजोर भएको दीपाश्रीले बताइन्। 'उनको सबै कुराहरु राम्रो छ। अभिनय पनि एकदमै राम्रो छ। तर, नृत्यमा उनले केही मिहिनेत गर्ने हो भने सुनमा सुगन्ध थपिने थियो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.