|

कञ्चनपुर : भारतको बरेलीमा फैलिएको मलेरियाको महामारीका कारण ५८ जनाको मृत्यु भएपछि पश्चिमी सीमा नाका गडड्चौकीमा सतर्कता अपनाइएको छ। मलेरियाका शंकास्पद रोगीमाथि निगरानी राख्न थालिएको छ।

सीमा नाकामा 'हेल्थ डेस्क' स्थापना गरी स्वास्थ्यकर्मीको छ जनाको टोलीलाई खटाई शंकास्पद ज्वरोका रोगीहरूमाथि निगरानी राख्न थालिएको हो।  कञ्चनपुरसँगै कैलालीको त्रिनगर भन्सार र खक्रौला नाकामा हेल्थडेस्क स्थापना किटको माध्यमले रोगीको रगत जाँच गर्ने व्यवस्था मिलाएको जनस्वास्थ्य कार्यालयका किटजन्य रोग अधिकृत हेमराज जोशीले बताए। 

मलेरियाका बिरामी फेला परे डेस्कबाटै रगत जाँच पश्चात औषधी उपलब्ध गराउने व्यवस्था गरिएको छ। 

भीमदत्तनगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टको अध्यक्षतामा सरोकारवालाहरुको बसेको आकस्मिक बैठकले सीमा नाका गड्डचौकीमा हेल्थ डेस्क स्थापना गरी महामारी रोकथामका लागि शंकास्पद ज्वरोका बिरामीहरुको रगत परीक्षण गर्न आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको थियो।

जनस्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार हालसम्म सीमा क्षेत्रमा बिरामी फेला नपरे पनि भारतको बरेली घरभै इँटाभट्टामा कार्य गर्ने चार जनामा मलेरिया भएको पुष्टि भएको छ।

इँटाभट्टामा कार्य गर्दै आएका मध्ये बेलौरीमा दुई जना र भीमदत्तनगरमा दुई जनामा गरी चार जनामा भारतीय नागरिकमा मलेरिया भएको पाईएको हो। चारै जना भारतबाटै मलेरियाको संक्रमण भई यहाँ अाएका हुन्। चारै जनाको उपचार नजिकका स्वास्थ्य संस्थामा भइरहेको छ।

भारतको बरेलीमा प्लाज्मोडियम फाल्सिफाराम मलेरियाको संक्रमणमा परेका ५८ जना बढीको मृत्यु भइसकेको छ। 

कञ्चनपुरमा चालु आवको दुई महिनामा मलेरियाका २२  बिरामी फेला परेका छन्। ०७४\७५ को असार मसान्तसम्म मलेरियाका १३५ जना बिरामी फेला परेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.