|

खलनायकका रूपमा एक दशकदेखि फिल्म क्षेत्रमा काम गर्दै आएका तेजा ऐरले अभिनय गरेको फिल्मको संख्या धेरै छ। फिल्म 'विजय पथ'मा चारवटा फाइटमा सहभागी भएर नेपाली फिल्ममा प्रवेश गरेका उनले 'विरासत', 'हिम्मतवाली', 'रामजाने', 'अफिसर', 'धुम ३' लगायत फिल्ममा काम गरिसकेका छन्।

उनले नेपाली फिल्म मात्र होइन, भोजपुरी र थारू फिल्म, कमेडी सिरियल तथा म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन्। उनले अभिनय गरेको फिल्म 'हिरासत', 'सम्राट', 'आइएम क्रेजी', 'नसिव'लगायत प्रदर्शन हुन बाँकी छन्।

फिल्ममा अभिनय गर्ने अवसर आए जुनसुकै भूमिकामा पनि अभिनय गर्न नाइँनास्ती गर्दैनन् उनी। उनले पारिश्रमिक पाएर थोरै र नपाएर उनले धेरै फिल्ममा अभिनय गरेका छन्। ‘धेरै फिल्ममा गाडी भाडा आफैँ तिरेर निर्माताको खाना र नास्तामा मात्रै अभिनय गरेको छु', ऐर भन्छन्, ‘बलिउड फिल्म हेर्दाहेर्दै नेपाली फिल्ममा छिर्ने मौका पाएर अभिनय गर्न पाएँ, यो नै मेरा लागि धेरै हो।’

केही निर्माताले मात्र उनलाई गाडी भाडावापतको रकम दिएका छन्। यसैमा खुसी छन् ऐर। भन्छन्, 'अभिनयले देश र विदेशमा चिनिने मौका पाएको छु, यो नै मेरा लागि ठूलो आम्दानी हो।'

अभिनय गरेवापत फिल्मबाट उनले ३५ हजार देखि ४० हजार रुपैयाँसम्म पारिश्रमिक पाएका छन्।

रोजगारीका लागि मुम्ब, बलिउड फिल्ममा काम नपाउँदा थारू फिल्ममा प्रवेश

भारतको मुम्बईमा रोजगारीका लागि गएका बेला तेजाले भारतीय फिल्मको सुटिङको कार्य नजिकबाट नियाल्ने मौका पाएका थिए। सुटिङ हेर्दै गर्दा उनलाई फिल्ममा काम गर्न पाए पनि हुन्थ्यो भन्ने लाग्थ्यो। भारतीय फिल्ममा काम गर्न निकै प्रयत्न गरे पनि उनले पाएनन्। चिनजान र पैसा नभएपछि फिल्ममा छिर्न त्यति बेला सहज थिएन।

भारतमा १६ वर्ष रोजगारी गरेपछि वि. सं. २०६६ मा उनी घर फिर्ता भए। स्थानीय युवाहरूको लगानीमा बन्न लागेको थारू भाषाको फिल्म ‘मोर बस्ती’का लागि कलाकार छान्ने कार्य भइरहेको थियो। फिल्म खेल्न उत्साहित उनले शरीरिक बनावटका आधारमा खलनायकको भूमिका पाए।

थारू भाषाको 'मोर बस्ती'मा उनले पहिलो पटक क्यामेरा फेस गरेका थिए। मोर बस्तीमा राम्रो अभिनय गरेपछि थारू भाषाका अन्य फिल्मबाट पनि धेरै अफर आउन थाले। उनले एक दशकको अवधिमै थारू भाषाका चार दर्जन बढी फिल्ममा अभिनय गरेका छन्।

नेपाली फिल्ममा डेव्यु गर्ने मौका

थारू भाषाका फिल्ममा खलनायकको रूपमा अभिनय गरेर चर्चा बटुलेका ऐरको अभिनयलाई हेरेर नेपाली फिल्ममा अभिनय गर्ने अवसर जुरेको हो। थारू भाषाको फिल्म 'मोर बस्ती'को काठमाडौंमा सम्पादनको कार्य चल्दै थियो। ल्यावमा भेटिएका द्वन्द्व निर्देशक अष्ट महर्जनसँग ऐरको चिनजान भयो।

पहिलो भेटमा नै महर्जनले ऐरलाई फिल्मको प्रस्ताव गरे। ऐर भन्छन्, ‘चिनजानमै उहाँले तिम्रो लुक्स राम्रो छ। नेपाली फिल्ममा खलनायकको भूमिका पाए खेल्छौ? भन्नुभयो, मैलै हुन्छ भनेँ।'

उनी फिल्म 'विजय पथ'मा अभिनय गर्ने भए। चारवटा फाइटमा सहभागी भएका उनले सात हजार रुपैयाँ पारिश्रमिक पाएका थिए। उक्त फिल्मको प्रदर्शनपछि धेरै निर्माता तथा निर्देशकले उनलाई फिल्मको अफर गरेको ऐर बताउँछन्।

'हिम्मतवाली'मा काम गरेपछि आफूले झनै चर्चा पाएको ऐर बताउँछन्। भन्छन्, 'हिम्मतवालीमा सानै भूमिकामा भए पनि चर्चा बढी पाएँ। त्यसकै कारणले अहिलेसम्म नेपाली फिल्म नगरीमा टिक्न सकेको छु।'

होटल व्यवसायी पनि हुन् ऐर

ऐर होटल व्यावसायी पनि हुन्। कंचनपुरको शुक्लाफाँटा नगरपालिका- १० झलारी बजारमा ऐरको होटल छ। फिल्मको सुटिङ सकिएपछि ऐर होटलमा ग्राहकको सेवा सत्कारमा लाग्ने गर्छन्।

होटलमा भाँडा माझ्नेदेखि ग्राहकका रोजाइका खाना पस्किनसमेत उनी हिच्किचाउँदैनन्। काम सानो ठूलो नभएको भन्दै जुन भूमिकामा खटियो, त्यो कार्यलाई टुंगोमा पुर्‍याउने आफ्नो बानी भएको ऐरको भनाइ छ। सुटिङका लागि कंचनपुर पुग्ने अभिनेता, अभिनेत्रीहरू उनको होटलमा छिर्ने गर्छन्।

तिहासिक फिल्ममा अभिनय गर्ने चाहना

दर्शकले लभ स्टोरी, एक्सन र पारिवारिक कथामा आधारित फिल्महरू धेरै मनपराउने गरेको पाइन्छ। ऐतिहासिक कथामा निर्माण भएका फिल्म हेर्ने दर्शकको संख्या थोरै छ। ऐतिहासिक फिल्म निर्माण गर्नका लागि ठूलो लगानी लगाउनुपर्ने हुन्छ। लगानी उठाउन निर्माताले निकै मिहिनेत गर्नुपर्ने भएकाले यस्ता फिल्म कम निर्माण हुने गर्छन्।

युवा र आउँदो पिढीँलाई इतिहासका बारे जानकारी दिनका लागि पनि यस्ता फिल्म बन्नुपर्ने खलनायक ऐर बताउँछन्। भन्छन्, ‘राम्रो कथामा बन्ने ऐतिहासिक फिल्ममा अभिनय गर्ने इच्छा छ तर अहिलेसम्म अफर आएको छैन। अफर आए जुनसुकै भूमिकाका लागि तयार छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.