|

कपिलवस्तु : विजया दशमी अर्थात् आफन्त वा मान्यजनवाट टीका तथा जमरा ग्रहण गर्ने दिन पक्कै पनि हर कोहीलाई बडादशैंंमा आफन्तको साथ र मान्यजनको हातबाट टीका आशीर्वाद ग्रहण गर्ने इच्छाले भतभती पोलिरहेको हुन्छ।

शुक्रबार बन्दी जीवन बिताइरहेका आफ्ना श्रीमान भेट्न पुगेकी बाँके जिल्ला कोहलपुर नगरपालिका १४ हवल्दारपुरकी सुनिता थापा निकै खुसी देखिन्थिन्। श्रीमान कारागारमा कैद भुक्तान गरिरहँदा समेत दशैंंमा सधैजसो टीका जमरा र आशीर्वाद लिन उनी कारागार धाउने गर्दछिन्। दैलेख, सुर्खेत कारागारमा उनका श्रीमानले कैदी जीवन बिताइरहँदा प्रत्येक वर्ष दशैंंमा दुई छोरीका साथमा उनी पुग्ने गरेकी छन्।

यसपटकको दशैंं मा समेत कोहलपुरबाट तौलिहवा दशैंं मनाउन पुगेकी सुनिताले मनमा जेजस्तो भए पनि बाहिर हाँसीखुसी दशैंं मनाएको बताइन्। उनले भनिन्, 'पोहोर सुर्खेतमा गएर टीका लगाएकी थिएँ। अरु सबै परिवार आफन्त उतै गाउँतिर रमझममा हुन्छन्', यसपटक कपिलवस्तु आएँ।

घरपरिवार वा सार्वजनिक जीवनमा मात्र नभई बन्दी जीवनमा समेत चाडपर्वको उल्लासमा कमी भएको पाइँदैन। कारागारमा उच्च सुरक्षा सर्तकताका साथ टीका ग्रहणको व्यवस्था मिलाइएको चौकीदार सन्तोषकुमार अग्रहरी बताए।

कारागार कार्यालय कपिलवस्तुमा हाल ३०९ जना कैदीबन्दी रहेको चौकीदार अग्रहरीले जानकारी दिए। तीनजना महिला सहित कारागार रहेका कैदीबन्दी मध्ये यसपाली २५० भन्दा बढीले टीका ग्रहण गर्न गरेको बताइएको छ। बी ब्लकमा १ जना महिलासहित १३१ जनाले टीका लगाएको चौकीदार अग्रहरीले जानकारी दिए।

कतिपय कैदीबन्दीका कोही पनि भेटघाट गर्न नआउने हुनाले उनीहरूलाई पनि आन्तरिक प्रशासनले टीका तथा जमरा ग्रहण गर्ने व्यवस्था गरेको छ। विभिन्न अपराध गरेको अभियोगमा दोषी पाइएपछि बन्दी जीवन भोगिरहेका र अदालतमा मुद्दा विचाराधीन रहेका थुनुवाका आफन्तलाई छोटो समयका लागि भेटघाट गर्न दिने चलन छ। नजिक घर भएकाहरूका परिवारका सदस्य दशैंको दिन टीका थाप्न र लगाउन कारागारमा आउने गर्छन् भने मीठो मसिनो समेत पुर्‍याइदिन्छन्। तर टाढा घर भएकाहरू भने समाज र परिवारलाई सम्झँदै दशैं मानिरहेका छन्।

यसवर्षको दशैंमा कैदीवन्दीले कैद मिनाह नहुने भएकोले खिन्नता प्रकट गरेका छन्। नयाँ मुलुकी संहिता अनुसारको कैद मिनाहसम्वन्धी कार्यविधि नबनेकाले उनीहरूले कैद मिनाह नपाउने कारागार प्रसासनले जनाएको छ। नयाँ कानुनअनुसार ७५ प्रतिशत कैद भुक्तान गरिसकेका, असल चालचलन भएका र आममाफी दिन मिल्ने अपराध गरेका कैदीको कैद मिनाहा गर्न सकिनेछ। यस्तै सोही ऐनमा रोगी, असल चालचलन भएका, ज्येष्ठ नागरिक, महिला, सामान्य केसमा जेल सजाय भोग्दै आएका र ७५ प्रतिशत कैद भुक्तान गरेकाको कैद मिनाहा हुनसक्ने व्यवस्था छ।

मुस्लिम समुदायका जनप्रतिनिधिले दशैंंको टीका लगाइदिए अनाथ बाल वालिकालाई

पश्चिम नेपालको एक मात्र बालगृहका रुपमा रहेको कपिलवस्तु बालगृहमा समेत दशैंंको रौनकता छाएको छ। बालगृहका आश्रित वालवालिकाहरूले आफू भन्दा ठूलाबाट आशिष थाप्दै दशैं मनाएका छन्। दशैंको नयाँ कपडा लगाएर रातो टीका र पहेँलो जमरासँगै दक्षिणा पाएपछि उनीहरू दंग देखिन्थेँ।

शुक्रबार बडादशैंंको शुभसाइतमा सदरमुकामस्थित बालगृहमा रहेका १८ अनाथ बालकलाई टीका लगाइदिन जनप्रतिनिधिको समेत उपस्थिति रह्यो। मुस्लिम धर्मावलम्बीका जनप्रतिनिधि जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष निशार अहमद खाँले उक्त असहाय बालकलाई हिन्दू परम्परा अनुसार टीकाप्रसाद अर्पण गरे। अनाथ, असहाय बालबच्चालाई देख्दा आफ्नो मनै भावबिह्वल हुने बताउँदै अध्यक्ष खाँ भने, 'उनीहरूलाई हामीले साथ र सहयोग गर्नुपर्छ, उनीहरू पनि आफ्नै बालबच्चा जस्तै हुन्।'

आफन्त गुमाएका र घर भन्दा टाढा बस्दै आएका बालमन्दिरका वाल वालिकाहरू मान्यजनबाट टीका थाप्न पाएकोमा अभिभावकको अभाव भुलेको उनीहरूको भनाई थियो। नेपाल बाल संगठन कपिलवस्तु शाखाको अगुवाइमा बालमन्दिरका बाल वालिकाहरूका लागि दशैंको टीकाको व्यवस्था गरिएको थियो।

वालगृह परिसरमा आयोजित कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष निशार अहमद खाँ, मधेस मानव अधिकार गृहका रबि ठाकुर, संगठनका सन्तराम अग्रहरी, ज्येष्ठ नागरिक बनारसी बर्मा लगायतले दशैंको शुभकामना ब्यक्त गर्दै सांस्कृतिक पर्व दशैंलाई जीवन्त राख्न संगठनले सहयोग गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.