कालिकोट : रामारोशन गाउँपालिका–६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ। बाह्र बण्ड भनेको यहाँका १२ वटा ताललाई जनाउँछ भने अठार खण्ड भनेको यहाँ रहेका १८ वटा चौरलाई जनाउँछ।
प्राकृतिक रुपमा रमणीय रामारोशन ताल क्षेत्रमा १२ प्रकारका लालीगुराँस र डाँफे पाइन्छ। रामारोशन क्षेत्रमा रहेका १२ वटा तालमध्ये जिगाले ताल सबैभन्दा ठूलो ताल हो । जसको आकार अंग्रेजी अक्षर ‘सि’ जस्तो रहेको छ। यस ताल बाटुले तालभन्दा माथि छ। यहाँ सबैभन्दा सानो तालमा ताउने ताल हो। यो हाल पुरिँदै गएकाले संकटमा छ।
पर्यटकीय क्षेत्रका रुपमा सम्भावना बोकेको रामारोशन ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। त्यसैले प्रकृतिले सिँगारेको रामारोसन तालमा नगन्य पर्यटक आउने गरेको स्थानीयहरु बताउँछन्।
पछिल्लो समय ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाले काम सुरु गरेको रामासोसन गाउँपालिका–६ का वडाध्यक्ष लक्ष्मण परियारले बताए। ‘तालबारे धेरैलाई जानकारी नै भएन,’ उनले भने, ‘हामीले प्रचारप्रसार थालेका छौं। केही पर्यटक आउन थालेका छन्।’
कालिकोटको नजिकै पर्ने भएकाले रामारोशन क्षेत्रको विकास लागि कालिकोटको नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका र अछामको रामारोसन गाउँपालिकाले संयुक्त रुपमा रामारोसन क्षेत्रको विकास गुरुयोजना तयार पार्न लागेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।