|

कपिलवस्तु : बजारमा पाइने अधिकांश मिष्ठान्न पसलहरूमा बनाइने मिठाइमा लुगा धुन प्रयोग गरिने हाइड्रा नामक केमिकल मिश्रण गरिइएको पाइएको छ। तिहारका लागि बनाइएका मिठाइको परिकारमा व्यापारीहरूले स्वास्थ्यलाई गम्भीर असर पर्ने हाइड्रा नामक केमिकलसहित बिभिन्न केमिकल मिश्रण गरेको पाइएको हो।

जिल्ला सदरमुकाम तौलिहवामा चाडपर्व लक्षित गरी मिठाइ पसलहरूमा गरिएको अनुगमनका क्रममा त्यस्ता केमिकल फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताए। जिल्ला प्रशासन कार्यालय सहितको संयुक्त अनुगमन टोलीले बिहीबार १० वटा मिठाइ पसलमा अनुगमन गरेको थियो। सो क्रममा तौलिहवाको बहादुरगंज जाने चौराहामा रहेको गणेश जलपान भण्डारमा हाइड्रा नामक ५०० ग्रामका २ वटा हाइड्रा नामक केमिकलका डब्बा फेला परको थियो।

हाइड्रा कपडा धुनका लागि प्रयोग गरिने केमिकल रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ। हाइड्रालाई सेतो खाले रसवरी मिठाइको चासनीलाई सफा देखाउनका लागि प्रयोग गर्ने गरिएको छ। ‘कपडा धुन र औधोगिक प्रयोजनका लागि प्रयोग गर्ने हाइड्रा नामक केमिकलले मानव स्वास्थ्यमा गम्भीर असर गर्छ।' जिल्ला अस्पताल तौलिहवाका डाक्टर किशोर बन्जाडेले बताए।

मिठाइ बनाउन सबैभन्दा बढी प्रयोगमा आउने चिनीको मूल्य बढी भएकाले मिठाइ व्यापारीहरू अहिले चिनीको साटो गुलियो केमिकलको अत्यधिक प्रयोग गरिरहेको पाइएको छ। चिनी भन्दा ५०० गुण गुलियो स्याक्रिन नामक केमिकलको प्रयोग गरी बनाइएका मिठाइहरू अहिले बजारमा धमाधम बिक्री भइरहेका छन्। ५० रुपैयाँमा पाइने ५० ग्राम स्याक्रिनले ३० किलो बढी चिनीको काम गर्ने हुँदा यसबाट आफूहरूलाई निकै फाइदा हुने गरेका व्यापारीको भनाई छ।

सरकारले मिठाइ बनाउन ११ वटा रङलाई स्वीकृति प्रदान गरे पनि मिठाइ व्यापारीले भने जथाभावी रूपमा सजिलै पाइने र कम मूल्य पर्ने रङको प्रयोग गर्ने गरेको पाइन्छ। दुषित र उक्त रङ हालेको मिठाइ सेवनबाट विभिन्न खाले रोगहरू उत्पन्न हुने गरेको स्वास्थ्यकर्मी बताउँछन्।

व्यपारीहरूले बढी मुनाफा आर्जन गर्न बढी प्रयोग हुने खुवाको साटो म्याद नाघेको मैदा, आरारोट, उसिनेको आलु, पिठो र सुजीको प्रयोग गर्ने गरेका छन्। जसले पेटमा प्रत्यक्ष असर पार्दछ। व्यापारीहरूले निम्न गुणस्तरको घ्यू र हप्तौ पुरानो तेलको प्रयोग गर्दछन् जसबाट घाटीसम्बन्धी विभिन्न रोग देखा पर्दछ। विश्व खाद्य संघले गरेको सिफारिस बाहेकका अन्य बस्तु खाद्य पदार्थमा मिसावट गर्न नपाइने खाद्य ऐन २०२३ मा उल्लेखित छ। तर, सम्बन्धित निकायले हालसम्म त्यसतर्फ ध्यान नदिएको उपभोक्ताहरूको गुनासो छ। टोलीले एउटा किराना पसल आधा दर्जन मासु पसलमा समेत अनुगमन गरेको थियो।

अनुगमनका क्रममा अधिकांश मिठाइ पसल फोहोर रहेको, मूल्यसूची समेत नहरेको, केही मिठाइ पसल दर्ता बिना संचालन गरेको भेटिएको र मिठाइ पसलेलाई प्रशासन कार्यालयमा हाजिर हुने गरी कागज गराइएको छ। साथै एक पटकका लागि सुध्रिने मौका दिने र त्यसो नगरे ऐन अनुसार कारबाही गर्ने सहायक प्रजिअ अर्यालले बताए। यहाँका प्रायःसबै मिठाइ पसलहरूमा अखाद्य वस्तु मिसाएको, उत्पादन, बिक्री र भण्डारण एउटै कोठामा राखिने गरिएको उपभोक्ताहरूको आरोप छ।

अखाद्य वस्तुको मिश्रण र झन त्यसमा पनि एक साता बढीका बासी मिठाइको प्रयोगले उपभोक्ता ठगिनुको साथै स्वास्थ्यमा समेत नराम्रो असर पर्ने गरेको खाद्यय प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक स्वर्णकुमार ढुंगानाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.