|

कपिलवस्तु : बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलो पटक तीनदिने अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुने भएको छ। विश्व शान्ति र भाइचाराको भावना जगाउँदै लुम्बिनीको पवित्रता र महिमा उजागर गर्ने उद्देश्यअनुरूप लुम्बिनीस्थित पवित्र बगैंचा रहेको मायादेवी मन्दिर छेउमा नोभेम्बर १४ देखि १६ (कार्तिक २८ देखि ३० गते) सम्म तीनदिनसम्म पाठ गरिने भएको हो। 

नेपाल भिक्षु महासंघ र रोयल थाइले संयुक्त रूपमा त्रिपिटक पाठ गरिने तय भएको छ। त्रिपिटक बौद्ध धर्मको मुलग्रन्थ हो। ‘बुद्धबारे धेरैलाई थाहा भएता पनि बौद्ध धर्मग्रन्थ त्रिपिटक देखेकै छैनन्’ भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री महाअस्थवीरले भने, ‘त्यसकाे महत्व बुझाउन पनि पाठ हुन आवश्यक थियो।’ उनी अझ थप्छन् ‘पवित्रग्रन्थ लुम्बिनी उद्यानमा पाठ हुनु नेपालीका लागि गौरव र खुसीको कुरा हो। अब त्यो गौरवलाई विश्वभर फैलाउन लागेका छौँ’ उनले भने।

यसअघि उक्त कार्यक्रम डेढ दशक अघिदेखि लाइट अफ बुद्धधर्म फाउन्डेसन इन्टरनेशनल नामक संस्थाले बोद्धगया र भारतका विभिन्न बौद्ध तीर्थस्थलमा गर्दै आइरहेको थियो। ‘यस्ताे कार्यक्रम नेपालमा पनि गर्नु पर्छ भन्ने लाग्यो’ अध्यक्ष मैत्री महाअस्थवीरले भने, ‘उनीहरूलाई अनुरोध गरेर कार्यक्रमको तालिका यहाँ पनि पारिएको हो।’ तर लाग्ने सबै खर्च र व्यवस्थापन हामीले आफैँ गर्नुपर्छ' उनले भने। 

पहिलो दिन कार्तिक २८ गते बिहान १० बजेदेखि सुरु हुने शत्रमा थाई भिक्षुहरूले त्रिपिटक पाठ गर्नेछन्। भोजनपछि नेपाली, म्यान्मार र श्रीलंकाका भिक्षुले एक/एक घण्टा पाठ गर्छन्। दोस्राे दिन ८ बजेदेखि पाठ शुरू हुन्छ। नेपालका बौद्धधर्मका महायनी संप्रदायले पाठ गर्छन्। १ बजेपछि हिमाली लामा भिक्षुले पाठ गर्छन्। त्यसपछि चीन, जापानी र भियतनामी भिक्षुले पाठ गर्छन्। तेस्राे दिनमा थाई भन्तेको नेतृत्वमा पाठ शुरू हुनेछ। त्यसपछि कम्बोडिया, नेपाली र क्यानेडियन भिक्षुले पाठ गर्छन्। प्रत्येक दिन ५ बजे पाठ सकिएपछि २ घण्टा धर्मदेशना दिइनेछ। 

बौद्ध विद्वान, संघनायक र रिम्पोछेबाट धर्मदेशना दिने कार्यक्रमसमेत तय गरिएको छ। त्रिपिटक बौद्ध धर्मावलम्बीका लागि निक्कै महत्वपूर्ण हुन्छ। त्यसमाथि लुम्बिनीमा पाठ गर्न लागेको पाठको विशेष महत्व छ। ‘यस्ले शान्ति र अध्यात्मिक चिन्तन बढाउँछ’ लुम्बिनी विकास कोषका कार्यवाहक सचिव सरोज भट्टराईले भने, ‘आध्यात्मिक पर्यटनको बढावा दिन्छ।’

यहाँ भगवान बुद्धले शुद्धोधन महाराजालाई देशना गरेको वसन्त जातक सूत्र पाठ पनि गरिने छ। त्यस्तै शाक्य र कोलीयाहरूबीच युद्ध हुन लाग्दा कपिलवस्तुमै देशना गरेको महासमय सूत्र पाठ गरिने छ। यहाँ पाठ गरिने सूत्र थाई र देवनागरी लिपिमा पुस्तकका रूपमा समेत प्रकाशित गरिसकिएको छ। महायानी संप्रदायले कुन ग्रन्थ सूत्र पाठ गर्ने हो भन्ने विषयमा निर्णय भएको छैन। 

कार्यक्रममा ४०० विदेशीसहित भिक्षु, भिक्षुणी, गुरुमा र अनागरिका गरेर ७०० सहभागी हुने बताइएको छ। कार्यक्रमका लागि करिब ३५ लाख लाग्ने रकम सबै स्थानीय सहयोग चन्दाबाट उठाइएको छ। फूल सजावटका सामग्री रोयल थाई विहारले सहयोग गरेको छ। त्यस्तै टेण्ट र साउण्ट सिस्टम र कुर्सी लुम्बिनी विकास कोषले सहयोग गरेको छ।

खाना र खाजा पनि लुम्बिनीका विभिन्न विहार र पर्यटन व्यवसायीले गरेका छन्। ‘यस्ता कार्यक्रमले बुद्धले मानव जातिलाई प्रदान गरेको सर्वोच्च आशा र आनन्दको उद्गम भूमि नेपाल हो’ सिद्धार्थ होटल एशोसिएसन अफ लुम्बिनीका महसचिव लीलामणि शर्माले भने, ‘त्यो आनन्दको स्रोत लुम्बिनीमा छ भन्ने फैलाउन सहयोग गर्छ।’ आपसी भाइचारा र धार्मिक सद्भावका लागि समेत यो पाठ महत्वपूर्ण रहेको लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवाली बताउछन्। लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य  ज्ञवाली ऐतिहासिक महत्व रहेको यस पाठले विश्वमा शान्ति छाउनेमा विश्वस्त छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.