एक सातापछि बाहिर निस्कने

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक कार्यक्रममा हुने सहभागिता घट्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयले स्वास्थ्यका कारण औपचारिक कार्यक्रमहरूमा हुने सहभागिता घटाउने तयारी गरेको हो।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा देखिएको समस्याका कारण पाँच दिने अस्पताल बसाइपछि गत कार्तिक १६ गते डिस्चार्ज भएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आराम गरिरहेका छन्। बाहिरी कार्यक्रममा सहभागी नभए पनि प्रधानमन्त्रीले कागजी कार्य भने गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

उनको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै सचिवालयले बाहिर हुने औपचारिक कार्यक्रमहरूमा सहभागिता घटाउन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए। उनका अनुसार अब प्रधानमन्त्री ओली नगई नहुने कार्यक्रममा मात्र सहभागी हुनेछन्।

औपचारिक कार्यक्रमहरूमा पहिलेभन्दा निकै कम मात्र सहभागी हुने डा.अर्यालले जानकारी दिए। 'सधैँभरि बाहिर धेरै कार्यक्रम गर्दा प्रधानमन्त्रीले गर्ने अरू कार्यक्रमहरूमा समय कम हुन्छ भनेर जनताले र मिडियाले पनि भनिरहेका छन्', सल्लाहकार डा. अर्यालले भने, 'त्यो कुरालाई पनि ख्याल गरिएको छ। मुख्य कुरा उहाँको स्वास्थ्यलाई ख्याल गरिएकाले अब कम कार्यक्रममा सहभागी हुनुहुनेछ।' प्रधानमन्त्रीले 'अफिसियल' कामहरू भने गर्नेछन्। 

यसअघि पनि प्रधानमन्त्रीको सचिवालयले औपचारिक कार्यक्रमहरू सहभागिता घटाउने प्रयत्न गरेको भए पनि सकेको थिएन तर अब कार्यक्रम घटाउनै पर्ने भएकाले घटाउन लागिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। 

प्राथमिकताका आधारमा जाने

प्रधानमन्त्री ओली अब प्राथमिकताका आधारमा मात्र कार्यक्रमहरूमा सहभागी हुनेछन्। बाँकी कार्यक्रमहरूमा विषयगत मन्त्रीहरूलाई पठाउने प्रधानमन्त्री कार्यालयको योजना छ। प्रधानमन्त्री जानैपर्ने कार्यक्रममा मात्र सहभागी हुने सचिवालयले जानकारी दिएको छ।  

एक सातापछि बाहिर निस्कने!

अस्पतालबाट डिस्चार्ज भएर चिकित्सकको निगरानीमा आराम गरिरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य पूर्ण रूपमा ठीक भए पनि लामो समय कडा खालको एन्टिबायोटिक सेवन गरेका कारण सामान्य अवस्थाभन्दा धेरै आराम चाहिने र थप संक्रमण हुनबाट जोगाउन चिकित्सकहरूले उनलाई सार्वजनिक कार्यक्रममा जान रोक लगाउँदै आएका छन्। तर अब एक सातापछि बाहिर निस्कन सक्ने बताइएको छ।

एक सातामा पहिलेको जस्तै सार्वजनिक कार्यक्रममा जानसक्ने उनका निजी चिकित्सक डा. दिलीप शर्माले बताए। 'उहाँको स्वास्थ्य अवस्था अहिले पूर्ण रूपमा ठीक छ। हामीले उहाँलाई आराम र थप संक्रमण नहोस् भन्नाका लागि केही समय सार्वजनिक कार्यक्रममा जान रोक लगाएका हौँ', उनले भने, 'अब एक साताजतिमा उहाँ पहिलेको जस्तै नियमित रूपमा सार्वजनिक कार्यक्रममा जान सक्नुहुनेछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.