|

जनकपुरधाम : त्रेताकालीन युगमा राम र सीताको विवाह भएको सम्झनामा धुमधामसँग मनाइने सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत साेमबार चौथो दिन तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ। तिलकोत्सवको अवसरमा जानकी मन्दिरबाट २५१ पाहुर (भार) लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव राम मन्दिर पुगेका थिए। 

महावीर युवा कमिटीले आयोजना गरेको तिलकोत्सव कार्यक्रममा भगवान रामका अभिभावकलाई जानकीका अभिभावकले कोसेलीसहित वस्त्र, गहना दिएर (टीका टालो) तिलक लाएका थिए। सोही अवसरमा मिथिलानीले वैवाहिक लोकगीतहरू गाएर सीताका अभिभावक जानकी मन्दिरका महन्तसहित तिलकोत्सव समारोहमा सहभागी हुन आएका साधुसन्त, महिला श्रद्धालु गीतमार्फत गाली दिदै जिस्काएका थिए।

लोक गीतमार्फत गालीगलौज गरी जानकी पक्षका अभिभावकलाई गरिएको स्वागतले तिलकोत्सव समारोहमा थप रौनक थपिएको थियो। सीताको अभिभावकका भूमिकामा रहेका जानकी मन्दिरका महन्त रामतपेश्वर दास भगवान रामका अभिभावक राम मन्दिरका महन्त राम गिरीलाई २५१ भरिया (कोसेली) सहित नयाँ वस्त्र, गहना लगायतका सामग्री दिई तिलकोत्सव मनाइएको छ। तिलकोत्सवमा राममन्दिरका महन्त राम गिरी राजा दशरथ र जानकी मन्दिरका महन्त दास राजा जनकका रुपमा अंकमाल गरेका थिए। अंकमाल कार्यलाई यहाँ ‘समधि मिलन’ भनिन्छ।

जानकी मन्दिर परिसरबाट गाजाबाजाका साथ निकलेको कोसेली नगर परिक्रमा गर्दै राम मन्दिर परिसरमा प्रवेश गरेको थियो। कोसेलीमा फलफूल, मिठाई, पुरी, ठकुवा, गाँजा, बादशाही, खिर, दही च्युरा लगायतका सामग्रीहरू रामपक्षमा पठाइएको छ। जनकनन्दिनी सीताको विवाह भएको दिनका स्मरणमा मिथिलावासीले गोस्वामी तुलसीद्वारा रचित ‘रामायण’मा गरिएको वर्णनानुसार तिलकोत्सवलाई विशेष महोत्सवका रुपमा मनाउने गरेका छन्। 

मिथिलाको परम्पराअनुसार भगवान राम र जनक जननी सीताको बुधबार विवाह पंचमी महोत्सव मनाउने कार्यक्रम रहेको छ। वैवाहिक कार्यक्रमको पूर्व सन्ध्यामा जानकी पक्षबाट राम पक्षमा कोसेली पठाउने चलन छ। रामजानकी विवाह महोत्सवको पांचौ दिन मंगलबार सीताको मटकोर गरिने भएको छ। पवित्र गंगासागरको माटो ल्याई मंगलबार साँझ सीताको मटकोर कार्यक्रम गरिने भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.